Logo

Student Corner

Articles

मेरो दसैँ
- Nivaan Aryal - 34029, Grade I ... 17 March, 2023

म, मेरो बाबा, मेरी आमा र मेरो सानो भाइ दसैँमा हाम्रो सौराहाको घरमा गयौँ । मलाई मेरो सौराहाको घर असाध्यै मन पर्छ । त्यहाँ  मेरो जिजुबुबा, हजुरबुबा र हजुरआमा बस्नुहुन्छ । मैले दसैँमा नयाँ लुगा लगाएँ । नयाँ लुगा लगाएर सबै ठुलाबडाहरूसँग टीका र जमरा लगाएँ । सबैजनाले मलाई धेरै आशीर्वाद दिनुभयो । मलाई मेरो हजुरबुबाले "ठुलो भएर प्रधानमन्त्री हुनु है बाबु" भन्नुभयो । मैले मेरो सानो भाइलाई पनि टीका अनि जमरा लगाइदिएँ । तर ऊ धेरै रोयो । मैले दसैँमा पिङ पनि खेलेँ । मैले हाम्रो हात्तीहरूको पूजा पनि गरेँ । हाम्रो हात्तीहरूको नाम गुलाफकली, सुनाकली र सेल्फिकली हो । तिनीहरूले कति धेरै केरा पनि खाए । मैले दसैँमा पौडी खेलेँ । चितुवा देखेँ । बिजुली घोडीको टाँगा चढेँ । दसैँमा धेरै पानी परेकाले झन्डै बाढी पनि आएको थियो । मैले गैँडा पनि देखेँ । हामी दसैँमा मामाघर पनि गयौँ अनि मिठा मिठा खानेकुरा खायौँ । यसरी दसैँमा मैले धेरै रमाइलो गरेँ । अब फेरि छिट्टै अर्को दसैँ पनि आइदिए हुन्थ्यो ।
 


Read More