Logo

Student Corner

सरस्वती उपन्यास समीक्षा

Written by: Dhiraj Chapagain - 2022007, Grade X

Posted on: 01 November, 2020

सरस्वती गङ्गा पौडेलद्वारा लिखित एक किशोर उपन्यास हो । यस उपन्यासले नेपालको ग्रामीण क्षेत्रका नारी तथा छाेरी मान्छेले बेहाेर्नु पर्ने अवस्थाको दुरुस्तै चित्रण गरेको छ । यस उपन्यासले महिनावारी हुँदा छाेरी तथा महिला दिदीबहिनीहरूले सधैँ भोग्नु परेको दुःख र पीडालाई दर्साएको छ।

यस उपन्यासकी मुख्य पात्र सरस्वती हुन् । गोविन्द, यशोदा, बुवा नारायण, हजुरबुवा, हजुरआमा सहायक पात्र हुन् भने सरस्वतीका साथीहरू, फुपू आदि गौण पात्र हुन् । यस उपन्यासकी मुख्य पात्र सरस्वती एउटा साधारण घरकी छाेरी हुन् । पूरा उपन्यास सरस्वतीको किशोर अवस्थाको सुरुवातदेखि अन्त्यसम्म केन्द्रित छ । लेखकले मुख्य पात्रको नाम सरस्वती राखेर महिलाहरूलाई भगवान् सरस्वतीको रूप भनेर देखाउन प्रयास गरेकी छिन्।                                                                     

उपन्यासको सुरुवात सरस्वतीको पहिलो महिनावारीबाट हुन्छ । त्यस महिनावारीपछि उसलाई घर छेउँको सानो अँध्यारो छाउगोठमा लगेर राखिन्छ। उपन्यास पढ्दै जाँदा मलाई लेखकका शब्दहरूले आफूलाई सरस्वतीसँगै त्यही अँध्यारो कोठामा थुनिए झैँ अनुभव भइरहेको थियो । महिनावारी भएको बेला घर परिवारका पुरुषलाई हेर्न नहुने, पहिलो दिनको सूर्यको किरणलाई पनि हेर्न नहुने जस्ता थुप्रै कुराहरूले सरस्वतीलाई त्यहाँ एक्लो गराएको थियो । सरस्वती अझै सानै छे अनि एक्लै डरलाग्न सक्छ भनेर आमा यशोदाले उसकी फुपूलाईसँगै बस्न पठाइदिएकी थिइन् । अब एक्काईस दिनसम्म सरस्वतीले आफ्नी फुपूसँग त्यही अँध्यारो चार कुने हिउँ परे झैँ चिसो कोठामा बस्नु पर्ने बाध्यता थियो । यस उपन्यासका पाना जति पढ्दै गयो त्यति नै सहरका दुखः साना लाग्दै जान्छन् । सरस्वतीलाई पढाइमा अत्यन्तै रुचि भए पनि महिनावारीको कारणले धेरै पटक पढाइ तथा जाँच पनि छोड्नु परेको थियो । लेखकले यस्ता अन्धविश्वासहरूका कारण महिलाहरूले साधारण हकबाट पनि वञ्चित हुनुपरेको देखाएका छन् । सरस्वती एकदमै चलाख केटी थिई। आफ्नाे घरमा धेरै आम्दानी नभएको देखेपछि उसले त्यही गाउँको महिला सहयोग संस्थाबाट ऋण लिएर आफ्नाे चतुराइँको प्रयोग गर्दै बाख्रा पालन गरेर पैसा जम्मा गर्दै आएकी थिई । घरमा पैसाको अभाव तीव्र गतिमा बढ्दै जाँदा बुवा नारायणले विदेश पलायन हुने विचार गर्छन् । अब घरमा सरस्वती, उसकी आमा, हजुरबुवा, भाइ अनि हजुरआमाबाहेक कोही छैनन् । सरस्वती गाउँका अरू केटीहरूभन्दा राम्री, ज्ञानी अनि सुशील थिई । त्यसैले उसलाई सारा गाउँका केटाहरूले आँखा लगाउँथे। उसका ठुला ठुला आँखा, सर्लक्क परेको कपाल र गुलाबी रङको ओठ देखेर सबै लट्ठ पर्थे । घरमा बिस्तारै भए पनि पैसा भित्र्याँउदै गर्दा उसले थप जिम्मेवारी लिई सिकिसकेकी थिई । त्यसैले उसको मुख्य प्राथमिकता पढाइ र त्यसपछि  आयआर्जन थियाे । नौ कक्षामा पुगेपछि किताब किन्ने बेलामा उसको भेट गाेविन्दसँग हुन्छ । गोविन्दको भलाद्मी अनि सरल व्यवहार सरस्वतीलाई मनपर्छ । मनमनै प्रशंशा गर्न थाल्छे । सरस्वतीले बाख्रा पालन सुरु गरेदेखि हजुरबुवासँग फेरि कहिले पैसा माग्नु परेको थिएन । नौ कक्षामा अकाउन्टकी एक मात्र छात्रा सरस्वती भएकाले उसलाई केटाहरूले जिस्काउने गर्थे । ती मध्ये अमनले उसलाई धेरै जिस्काउँथ्यो। ती सबै फटाहा केटाहरूको बिचमा भलाद्मी केटो गाेविन्दलाई देख्दा ऊ छक्क पर्थी । यही बेलामा सरस्वतीका हजुरबुवालाई रोगले च्याप्छ । हजुरबुवाको स्वास्थ्य नराम्रो हुँदै गएको देखेपछि सरस्वती विद्यालयमा पनि अत्यन्तै गम्भीर देखिन्थी । त्यो देखेर गोविन्दले  सहानुभूति देखाए। स्कुल छुट्टि भएपछि सरस्वती र गोविन्द दुवै घर गएर हजुरबुवाको स्यहार गर्थे । गोविन्द अब बुवाको स्याहार गर्न दिनदिनै जसाे आउने गर्थ्याे । केही दिनपछि बुवालाई झन् रोगले च्याप्याे र तुरुन्तै अस्पताल लग्नु पर्यो।अस्पताल लागेपछि गोविन्द र सरस्वती बुवालाई अस्पताल बाहिर पर्खेर बसेका थिए । गोविन्द र सरस्वती एक अर्कासँगसँगै कुरा गर्दै रात कटाए । झन्डै बिहानको ५ बजे हजुरबुवाको निधन हुन्छ । त्यसबेला सरस्वती डाँको छोडेर रुन थाल्छे । गोविन्दले सरस्वतीको हात समाएर नरोऊ भनेको सुनेर सरस्वतीको मनमा तरङ्ग पैदा भयाे । उसमा गोविन्दको लागि छुट्टै किसिमको भावना उत्पन्न भैरहेको थियो । सरस्वतीको विवाहको कुरा घरमा निस्किन्छ तर सरस्वती भने विवाह नगरी अझै पढ्न चाहन्छे।

नेपालमा किशोर अनि किशोरीहरूको लागि थोरै पुस्तक लेखिने गर्छ । ती मध्ये यो पनि एक हो ।  सरस्वती उपन्यासमा वर्तमान ग्रामीण सामाजिक जीवनको विविध पक्षको यथार्थ चित्रण गरिएकाे छ । टाढाबाट हेर्दा यो उपन्यासले नवकिशोरको आँखाबाट ठम्याउन सक्ने समाज अनि उसको मस्तिष्कमा उब्जिएका प्रश्नहरूलाई देखाउन खोजिएको छ । तर नजिकबाट नियाल्दा यो उपन्यास त्यतिमा मात्र सीमित छैन । त्यो नवकिशोरमा घरको आर्थिक अवस्था सम्हाल्न खोज्ने सोच आउनु, घरायसी कामकाजमा सहयोग गर्नु अनि त्यस्तो विपन्न अनि पिछडिएको सोच भएको परिवारबाट खुल्ला सोचभएको मानिस भएर निस्किनु अहिलेका हरेक विपन्न समाजका किशोरहरूले गर्नुपर्ने कर्तव्य हाे । त्यो सानो काँधमा यत्रो जिम्मेवारी थपिदा पनि खुसीसाथ घर सम्हाल्नु नै अहिलेका ग्रामीण क्षेत्रका किशोरहरूको खुबी हाे ।  ग्रामीण व्यस्त जीवनशैलीमा पढाइमा एकोहोरिएकी सरस्वतीलाई जब जीवनका जिम्मेवारीले काँधभारी बनाउँछ तब उसले सबै चिजको महत्त्व बुझ्छे ।