Logo

Student Corner

शारीरिक र मानसिक स्वास्थ्य 

Written by: Simone Shree Pathak - 2023012, Grade IX

Posted on: 20 October, 2020

भनिन्छ; स्वास्थ्य नै जीवनको पहिलो धन हो। एक व्यक्तिको दैनिक जीवनमा मानिसको  स्वास्थ्यले महत्त्वपूर्ण भूमिका खेल्छ। मानिसको स्वास्थ्य स्वस्थ भएमा मात्र उसले चाहेका काम सजिलै गर्न सक्छ । मानिसले गर्ने हरेक काम तथा क्रियाकलाप उसको स्वास्थ्यसँग जोडिएका हुन्छन्। स्वास्थ्यको सम्बन्ध शरीरसँग मात्र नभएर मनसँग पनि जोडिएको हुन्छ ।  जब मानसिक स्वास्थ्य बिग्रन्छ तब शारीरिक स्वास्थ्य अवस्था आफै बिग्रन्छ र त्यसको  परिणामस्वरूप मानिसको दैनिक जीवनमा समस्याहरू आइपर्छन्। 

शारीरिक स्वास्थ्य खानपिन र दैनिक क्रियाकलापसँग सम्बन्धित हुन्छ भने मानसिक स्वास्थ्य कुनै घटना,आचरण तथा महत्त्वाकाङ्क्षासँग  सम्बन्धित हुन्छ । कतिपय मानिस आफ्नो स्वास्थ्यको  ख्याल नगरी धन सम्पत्तिको पछाडि दौडिरहेका हुन्छन्। तर स्वास्थ्य राम्रो भएन भने धन सम्पत्तिको कुनै काम हुँदैन । स्वास्थ्य बिग्रिनु भनेको जीवन जिउन कठिन हुनु हो । मानिसले आफ्नो दैनिकी सहजै चलाउन पनि स्वास्थ्यको अहम् भूमिका हुन्छ। मानसिक र शारीरिक रूपमा अस्वस्थ भएका व्यक्तिहरूले आफूले जीवनमा केही गर्न नसक्ने ठानी आत्महत्यासमेत गरेका उदाहरण हाम्रै समाजमा प्रशस्त छन्। स्वस्थ र स्वच्छ मन,मष्तिस्कले मात्रै स्वस्थ र स्वच्छ विचार उत्पन्न हुन्छ। स्वस्थ र स्वच्छ विचारले नै मानिसले जीवनमा प्रगति गर्न सक्छ ।  स्वस्थ र स्वच्छ विचारले मात्र समाज र राष्ट्रको उन्नति हुन्छ। 

 शारीरिक स्वास्थ्य जुनसुकै उमेरका मानिसहरूमा देखिने  समस्या हो भने मानसिक स्वास्थ्य खासगरी युवा तथा किशोर / किशोरीहरूमा  देखिने  समस्या हो। शारीरिक अस्वस्थताभन्दा मानसिक अस्वस्थता झन् विकरालरूपमा देखा पर्दै गइरहेको छ। मानसिक अस्वस्थताका कारण  विश्वका धेरै मानिसहरूले आत्महत्या गरेका कुरा विभिन्न सञ्चार माध्यमबाट हामीले सुन्दै आइरहेका छौँ । कतिपय युवा तथा किशोर / किशोरीहरू साथीसँगको सरसङ्गतले पनि मानसिक रोगको शिकार भएका छन्। अरूको देखासिकी र अस्वस्थ प्रस्तिस्पर्धा र आफूले सोचेको कुरा प्राप्त गर्न नसक्दा पनि दिनप्रतिदिन मनोरोगीको सङ्ख्या वृद्धि हुँदै गइरहेको छ।  

शारीरिक र मानसिकरूपमा तन र मन स्वस्थ भयो भने मात्र मानिस स्वस्थ हुन्छ । मानिसका दैनिक क्रियाकलाप,आहार,विहार तथा योगको माध्यमबाट मानिसमा सकारात्मक चिन्तन पैदा हुन्छ । सकारात्मक चिन्तनले नै सबैको उन्नति हुन्छ भने  सकारात्मक चिन्तन नै स्वास्थ्यको मूल जड हो।