Logo

Student Corner

खेलकुदमा सञ्चारको महत्त्व

Written by: Aryan Thagunna - 2022003, Grade X

Posted on: 14 October, 2020

आजको विश्व भनेको सूचना र सञ्चारको हो। सञ्चार राज्यको चौथो अङ्ग हो । सञ्चारविना आजको मानिस कुवाको भ्यागुतो जस्तै हुन्छ । सञ्चारविनाको जीवन कल्पना पनि गर्न सकिँदैन। खेलकुदको कुनै पनि गतिविधिलाई प्रोत्साहित गर्न सञ्चारकाे महत्त्वपूर्ण भूमिका हुन्छ । सञ्चार माध्यमले राजनीतिदेखि लिएर विश्वका सम्पूर्ण घटना, परिघटना ज्ञान,विज्ञान र दर्शनलगायतका कुरालाई  समेट्दै आइरहेको छ । यसैले खेल जगतमा पनि सञ्चारको  भूमिका महत्त्वपूर्ण रहेको छ। खेलकुद जगत्लाई प्रचार प्रसार गर्न सञ्चार माध्यमको भूमिका महत्त्वपूर्ण हुन्छ । अझ भनौँ   खेलकुदका प्रशंसकहरूसामु कुनै सूचना विस्तार गर्न सञ्चारको ठुलो भूमिका हुन्छ । सञ्चार माध्यमले नै खेल जगत्लाई उचाइमा पुराउन सक्छ  । 

 विश्वका नेता, अभिनेता, कलाकार, वैज्ञानिक,डाक्टरलगायत जो जसका  जे जे कार्य  जनमानसमा आइरहेका छन् ; ती सबैमा सञ्चार माध्यमको अग्रणी  भूमिका छ । विश्व समुदायमा फर्केर हेर्ने हो भने विभिन्न खेलका क्लबहरूको प्रत्यक्ष प्रसारण धेरै सञ्चार माध्यमले गर्दै आइरहेका छन् । फुटबलको विश्वकप होस् वा क्रिकेटको होस् । लिग चरणका खेल नै किन नहुन् सबै खेलमा सञ्चार माध्यमले निकै सहयोगी भूमिका खेलेको पाइन्छ । सञ्चारले खेलजगत्को मुहार नै फेरेको छ भने खेलाडीहरूबिच विवाद पनि उत्पन्न गराएको छ।  यसको एक उदाहरण हो- फुटबलका दुई हस्तीहरू लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोबिचको प्रतिस्पर्धा । आमजनमानसमा  सञ्चार माध्यमले केही भ्रम पनि छर्ने काम पनि गरेका छन् । मेसी र रोनाल्डोमध्ये  को चाहिँ लोकप्रिय र महान् खेलाडी हो भन्ने बारेमा सञ्चारमाध्यमहरूबिच फरक फरक समाचार बाहिर आउने गर्छन् । यो भनेको हामी जस्ता खेलप्रेमीहरूको लागि राम्रो कुरा होइन । हुनत सबै सञ्चार माध्यमले सत्य तथ्य समाचार बाहिर ल्याउँछन् भन्ने पनि छैन । यस्ता भ्रामक समाचारले खेलाडी र खेलको गरिमालाई बढाउने काम भने पक्कै पनि गर्दैन । यस्ता भ्रामक समाचारका कारण विश्वभर धेरै खेलप्रेमी र खेलाडीबिच  १० वर्षभन्दा बढी समयदेखि विवाद चल्दै आएको छ कि  विश्वको महान्  फुटबलर को हो ? महान्  फुटबलर जो भए पनि दुवै उत्कृष्ट खेलाडी हुन्। वास्तवमा दुवै  खेलाडी एक अर्काको सम्मान गर्दछन् ।  खेलाडी भनेका देशका गहना हुन्।  खेल भनेको देशको पहिचान हो । यसकारण सञ्चार माध्यमले खेल र खेलाडीलाई प्रोत्साहन गर्नुपर्छ। 

सञ्चार माध्यमले खेलकुद र त्यसका प्रसंशकहरूलाई नजिक राख्ने काम गर्छ । सञ्चार माध्यमकै कारण हामी आफूलाई मन पर्ने खेल हेर्न सक्छौँ । खेलाडी र क्लबलाई समर्थन गर्न सक्छौँ । खेल र खेलाडीसँग भावनात्मक सम्बन्ध गाँस्न सक्छौँ । खेल र खेलाडीसँग सम्बन्धित विभिन्न समाचार र सूचना थाहा पाउन सक्छौँ ।