Logo

Student Corner

बुढीआमा  र कोरोना

Written by: Sonishma Basnet - 2022021, Grade X

Posted on: 13 October, 2020

दसैँ नजिकिदै थियो । विभिन्न ठाउँमा पेसा, व्यवसाय तथा उच्च शिक्षाका लागि गाउँ छोडेर टाढा टाढा गएका मानिसहरू पनि  दसैँको रौनकसँगै आआफ्नो गाउँघर फर्कदै थिए । बजारमा निकै भिडभाड देखिन्थ्यो । दसैँको निहुँमा  सरसमान किन्नेको पनि घुइचो थियो । लुगाफाटा, मरमसाला, फलफुलदेखि  खसिबोका किन्न सबै जना पसल पसल धाउँदै थिए । कोरोनाको कहरमा यस्तो दृश्य रहर र बाध्यता खै के थियो ?  केही मानिस डराए जस्ता पनि देखिन्थे । डराइ डराइ पनि किनमेल गर्दै थिए ।

व्यस्त सहरमा अन्दाजी ३०-३५  वर्षकी जस्ती देखिने एक महिला कस्मेक्टिक पसलमा  सामान खरिद गर्दै थिइन् । बढो ठाँटबाटमा देखिएकी उनी कुनै नेता जस्तै देखिन्थिन् । अरू उनको छेउँछाउँमा भएका सबै उनकै  कुरा कान थापेर सुनिरहेका थिए । उनी भने सामान छान्दै सबै आफ्नो शरीरभरि  पोतिएको सुन देखाउँदै थिइन् । उनले पसलबाट धेरै सामान किनिन् । लिपस्टिक, पाउडर, गाजल, चुरा पोते, सिन्दुर जस्ता सामानले उनलाई भारी पुग्यो । वरपर भएका मानिसहरू पनि पसल नै किन्न आएजस्तो भन्ठान्थे। अरू मानिसहरू पनि रमाइलो मानेर हेरिरहेका थिए । यस्तैमा एक बुढी महिला पसलभित्र छिरिन् । पुरानो धोती चोलो लगाएर कुप्री पर्दै आएकी बुढी आमालाई देखेर अरू महिलाहरूले उनलाई हेय दृष्टिले हेरे । पसलमा भएका अरू महिलाहरू सामान  छिटोछिटो छानेर निस्कन खोज्दै थिए। यत्तिकैमा बुढी आमालाई कसैले हुत्याएर ती महिलाको ढाडमा ठेसिन पुग्नुभयो । महिलालाई असह्य भयो । उनले आमालाई नराम्रोसँग  गाली गरिन् । उनी पसलबाट  बाहिर निस्कनुभन्दा अगाडि उनले बुढी आमालाई कसले घरबाट बाहिर निस्कन दिएको होला ? कसैलाई कोरोना सारिन् भने भन्ने खालको टिप्पणी गरिन् । ती आमा निरास अनुहार लिएर बाहिर निस्किन् । कसैलाई केही पनि भनिनन् । 

एक दुई हप्तापछि ती महिलासँग आएका अरू महिलाहरू बजार आएका थिए । पुरानै कस्मेटिक पसलको अगाडि आएपछि उनीहरू कोही हाँसे जस्ता देखिन्थे भने कोही चाहिँ चिन्तित जस्ता देखिन्थे । उनीहरूले ती महिलाका कुरा गर्दै थिए। अस्ति त ती  विचारी बुढी आमालाई “कोरोना बोक्दै कहाँ हिँडेको” ? भनेर  गाली गर्दै थिई।  आज आफैँ  अस्पतालमा कोरोनाले थला परेर बसेकी छे। हिँड्न त हामी पनि उनीसँगै  कति हिँड्यौ। कतै हामीलाई पनि लाग्यो कि ? उनीहरूका कुरा  सुनिरहेका अरू मानिसहरू उनीहरूबाट टाढा टाढा जान थाले ।