Logo

Student Corner

गितार 

Written by: Sashwat Paudel - 2022019, Grade X

Posted on: 11 October, 2020

गितार फ्रेट्बोर्ड भएको आधुनिक साङ्गीतिक बाजा हो । गितारलाई यसमा भएको तारलाई पल्क गरेर बजाइन्छ ।  गितारलाई खुला हातले वा प्लेक्ट्रमको सहायताले बजाइन्छ ।  प्लेक्ट्रम भनेको गितारको तारलाई हल्लाउनका लागि प्रयोग गरिने साधन हो । गितार विश्वमै  लोकप्रिय बाजा हो ।  फ्रेट्बोर्डले गितारका तारलाई केही  हदसम्म माथि उचाल्ने काम गर्छ । यसैको सहयोगले गितारबाट निस्केको साङ्गीतिक नोटहरू ठिकसँग  निस्किएको आभास हुन्छ । 

गितारलाई अरू साङ्गीतिक बाजाबाट भिन्न बनाउने कारक भनेको गितारलाई विभिन्न प्रकारका सङ्गीतका विधामा बजाउन सकिन्छ सकिन्छ । गितारलाई रक सङ्गीतदेखि शास्त्रीय सङ्गीतसम्मका अनेकौँ  विधामा प्रयोग गर्न सकिन्छ । गितारको धेरैजसो साङ्गीतिक विधामा प्रमुख भूमिका हुन्छ । गितारलाई हामीले आफ्नो चाहनानुसार ट्युन गरेर बजाउन सक्छौँ । यसले हामीलाई जुनसुकै विधामा बजाउने स्वन्त्रता दिन्छ ।   उदाहरणका लागि, ड्रम शास्त्रीयसङ्गीतमा बाजाउन मिल्दैन तर गितार भने शास्त्रीयसङ्गीतमा पनि बजाउन सकिन्छ ।  गितारलाई गायनको सुर, तालअनुसार  बजाउन मिल्ने अनि यसलाई सङ्गीतको धुन र एकल भाग पूरा गर्न पनि मिल्ने भनेको गितारको  सबल पक्ष हो ।  


गितार सर्वत्र लोकप्रिय छ; किनकि यो पोर्टेबल छ । गितारलाई सजिलैसँग जता मन लाग्यो, त्यतै आवश्यकताअनुसार सजिलै लैजान सकिन्छ । अरू साङ्गीतिक बाजालाई हेर्ने हो भने धेरैजसो बाजालाई एक ठाउँबाट अर्को ठाउँमा लैजान अफ्ठ्यारो हुन्छ । पियानो, ड्रमसेट, जस्ता साङ्गीतिक बाजाहरूलाई ओसारपसार गर्न गारो हुन्छ । तर गितारमा यी सबै कुरा लागु हुँदैन । गितारको अर्को विशेषता भनेको यसलाई बजाउन गारो छैन ।  गितार त्यस्तो  गीति उपकरण मध्ये एक हो; जुन सिक्न सजिलो हुन्छ तर दक्षता प्राप्त  गर्न धेरै गारो हुन्छ ।  अरू साङ्गीतिक बाजाहरूको तुलनामा गितार सिक्न सजिलो हुन्छ । गितार भ्वाइलिन जस्तो साङ्गीतिक बाजा होइन । जसलाई सही तरिकाले बजाउन नै गारो हुन्छ । गितारमा फ्रेट्बोर्ड भएको हुनाले यसमा आफूले चाहेको जस्तो ध्वनि निकाल्न गारो हुँदैन ।  


गितारको विकाश १६ औँ शताब्दीमा भएको पाइन्छ ।  गितार नेपालमा सङ्गीतज्ञ रामशरण दर्नालको पालामा भित्रिए पनि पश्चिमी देशको  यो  पुरानो बाजा हो।  गितारको निर्माण भने स्पेनमा भएको मानिन्छ ।  त्यति बेलाको गितारको  संरचना हालको भन्दा धेरै भिन्न थियो ।  भनिन्छ; त्यतिबेलाको गितार र भ्वाइलिनमा धेरै भिन्नता थिएन । अहिलेको गितार पहिलेभन्दा धेरै फरक थियो ।  अहिले गिता को सामान्य ट्युनिंग E-A-D-G-B-E हो ।  पहिलाको गितारको सामान्य ट्युनिंग नै C–F–A–D को थियो ।  पहिलाको गितारमा चार वटा मात्र तार हुन्थे ।  समय बित्दै जाँदा गितारमा  पनि परिवर्तन हुँदै गयो ।  गितार बदलिनुको प्रमुख कारण भनेको सङ्गीतमा आएको विविधता पनि हो । सङ्गीतसँगै साङ्गीतिक बाजा बदलिनु भनेको नौलो कुरा पनि होइन ।  

गितारको आफ्नै एक विशिष्ट धुन हुन्छ । गितारको प्रयोग धेरै विधामा हुने भएकाले आफूलाई मनपर्ने विधाको सङ्गीत यसबाट  सिक्न सकिन्छ ।  गितार बजाउन त सजिलो  छ तर यसमा दक्ष हुन त्यति सजिलो भने छैन । गितार विश्वभर नै बजाइने साङ्गीतिक बाजा हो ।  सङ्गीतका धेरैजसो विधामा गितारले नै सङ्गीतको धुन र सुर सम्हालेको हुन्छ । यसैले  गितार  साङ्गीतिक क्षेत्रको लोकप्रिय बाजा हो ।  

सन्दर्भ सामग्री :

 १.त्रिपाठी, सुधा र अन्य (सम्पा.) जीवनी सङ्गीतज्ञ रामशरण दर्नाल 

२. दर्नाल, रामशरण :सङ्गीतको विस्तृत अवलोकन