Logo

Student Corner

गौरी  

Written by: Kriti Nepal - 2023016, Grade IX

Posted on: 08 October, 2020

राष्ट्रकवि माधवप्रसाद घिमिरे (वि.सं.१९७६ -२०७७) नेपाली साहित्य आकाशका एक चम्किला तारा हुन् ।  उनले नेपाली साहित्यका कविता, निबन्ध, गीत र नाटक जस्ता विधामा कलम चलाएका छन् । उनका रचनाहरूमध्ये गौरी चर्चित खण्डकाव्य / शोककाव्य हो । वि.सं. २००४ सालमा उनकी पत्नी गौरीको निधन भएपछि उनले यो शोककाव्य लेखेका थिए । जुन चाहिँ  वि.सं.२०१५ सालमा प्रकाशन भएको थियो । यसको शीर्षकसमेत उनले आफ्नी पत्नीको नामबाट राखेका छन् । 

माधवप्रसाद घिमिरेले गौरी शोककाव्य आफ्नी पत्नी गौरीको सम्झनामा रचना गरेका हुन् । गौरी काव्य टुहुरा छोरीहरू  कान्ति र शान्तिको छटपटी मात्रै होइन, गौरीको कल्पनामा आफू डुबेको कुरा काव्य पढेपछि थाहा हुन्छ ।  घिमिरेले लेखेको यो काव्य निकै गहिरो र मनछुने छ। पुस्तकको सुरूमै भनिएको छ कि मानिसको जीवनमा कति बेला कसलाई के हुन्छ भन्ने कुरा थाहा छैन । घिमिरेको जीवनमा पनि त्यस्तै भयो। आफूले नसोचेको घटना जीवनमा भोग्नु परेकाले गौरी काव्य लेख्दा आँसुमा कलम चिप्लिएको कुरा उल्लेख गरेका छन् ।  यो काव्य घिमिरेको आफ्नो व्यक्तिगत जीवनसँग सम्बन्धित भए पनि यो पढ्दा आँखा नरसाउने पाठक कमै होलान्। आफ्नी पत्नी गौरीको मृत्युपछि आफ्नो हृदयको सम्पूर्ण  पीडा यसमा पोखिएको छ । गौरी रसप्रधान काव्य हो। यो काव्य शान्त र करुण रसले भिजेको छ । प्रस्तुत काव्यमा मलाई सबैभन्दा मनपरेको श्लोक यसप्रकार रहेको छ -:

        "मेरीलाई म देख्छु झल्झल, त्यही टाँसिन्न यो पत्रमा

         मेरीको मनको किनार रँगिलो, गाँसिन्न यो पत्रमा

         यो बायाँ मुटु चस्कँदो छ कसरी, जान्दैन कोही पनि

         छाया एक मभित्र रुन्छ कसरी, सुन्दैन कोही पनि"

मलाई यो श्लोक निकै मन परेको छ; किनभने यसमा कविले आफ्नी श्रीमतीलाई सम्झेका छन। संसार छोडेकी मेरी उनीलाई मैले अब कहिल्यै पाउन सक्दिन। मेरो बायाँ मुटु भनेकै उनी हुन्। यस्तो मेरो पीडा जान्ने र बुझ्ने कोही पनि छैन भनेर विलौना गरेका छन् । 

प्रस्तुत काव्यको भाषाशैली सरल र सरस छ । शास्त्रीय छन्द शार्दूलवीक्रिडित र मन्दाक्रान्ता जस्ता छन्दको प्रयोगले यो काव्यको लय उत्कृष्ट बन्न पुगेको छ। सामान्य पाठकलेसमेत सजिलै बुझ्न सक्ने भएकाले यो काव्य सबैको प्रिय काव्य हो।