Written by: Deelisha Maharjan - 2022006, Grade X
Posted on: 06 October, 2020
म सानी छँदा मलाई धेरै कुरा थाहा थिएन । मेरी आमा र परिवारका अन्य सदस्यहरूले मलाई धेरै कुरा सिकाउनुभयो । पहिले उहाँहरूले मलाई प्रेम गर्न, सम्मान गर्न, र खाँचोमा परेका मानिसहरूलाई सहयोग गर्न सिकाउनुभयो । उहाँहरूले मलाई विनम्रताका साथ बोल्न सिकाउनुभयो । मलाई इमानदार हुन सिकाउनुभयो । जब म ठुली हुँदै गएँ ; मैले आफूभन्दा ठुला र आफूभन्दा सानासँग कुराकानी गर्न सिकेँ । म सानी छँदा धेरै लजालु स्वभावकी थिएँ । म सानी छँदा नयाँ नयाँ चिजहरू गर्न , खेल्न र घुम्न रमाउँथे ।
म सानी छँदा मसँग धेरै सपनाहरू पनि थिए । भनिन्छ; सपना देख्ने मानिस नै जीवनमा सफल हुन्छ। सपना सपना मात्रै नभएर ; जीवन जिउने आधार पनि हुन् । सपनादेख्ने मानिस नै महान् बन्न सक्छ । जब म सानी थिएँ तब म अरू जस्तै डाक्टर, इन्जिनियर, नर्स जस्ता ठुला सपनाहरू देख्न चाहन्नथेँ । सपना साना हुन् या ठुला सबै महत्त्वपूर्ण हुन्छन् । अरूले जस्तै मैले पनि सपना देखेकी थिएँ । मेरा सपनाले मलाई कति साथ दिने हुन् थाह छैन। म सानी छँदा मेरो परिवारले मलाई राम्रो नृत्य गर्न सहयोग गर्नुभयो । मेरी आमा र ठुली दिदीले मेरो नृत्यको भिडियो सुट गर्नुहुन्थ्यो । कान्छी दिदीले गीत गाउनुहुन्थ्यो ।
म सानी हुँदा मसँग साथीहरू थिएनन् किनकि म मेरा हजुरबा र हजुरआमासँग हुर्के। हजुरबा र हजुरआमा नै मेरा साथीहरू हुनुहुन्थ्यो । सानैदेखि घरमा पालेको कुकुर पनि मेरो साथी नै थियो । उसले मेरा कुरा बुझ्न त के गर्थ्यो; तर म उसका कुरा बुझ्थेँ । ऊ र म खेल्थ्यौँ । म सानैदेखि नै मानिस हुन् या जनावर सबैलाई सहयोग गर्न पाउँदा रमाउथेँ । बाटोमा हिँड्दा होस् या गाडीमा यात्रा गर्दा आफूले सकेको सहयोग सबैलाई गर्न मन लाग्थ्यो र लाग्छ पनि । अहिले म ठुली भए पनि मलाई सानी हुँदाका हरेक क्षणले सताइ रहन्छन् ।