Written by: Anushka Basnet - 2023002, Grade IX
Posted on: 05 October, 2020
मेरो बाल्यकाल
म नेपालको सोलुखुम्बु जिल्लाको चौलखर्क भन्ने ठाउँमा जन्मेकी थिएँ । म जन्मेको एक वर्षमा नै काठमाडौँ आएकी थिएँ । म जन्मिँदा मेरी दिदी १९ महिनाकी थिइन् । म काठमाडौँ आएपछि हामी कालोपुलमा बस्न थाल्यौँ । हामी भर्खर मात्रै काठमाडौँ आएका थियौँ । घरको आर्थिक अवस्था पनि त्यति राम्रो थिएन । २ वर्षपछि हामी नयाँबस्तीमा डेरा गरेर बस्न थाल्यौँ । मेरी दिदी नजिकैको विद्यालयमा पढ्न थालिन् । म भने विद्यालय गएकी थिइनँ। समय बित्दै गयो म पनि अलि ठूली भएँ । अलि ठूली भएपछि मेरो पनि विद्यालय जाने उमेर भयो । विद्यालय जाने उमेर भएपछि म र दिदी सिफलमा युनिक नामको विद्यालयमा पढ्न थाल्यौँ ।
केही वर्ष त्यही विद्यालय पढ्यौं । केही समयपछि विद्यालयको नाम अपाल भयो । हामी बसबाट विद्यालय आउने जाने गर्थ्यौं । समय बिस्तारै बित्दै गयो । म कक्षा २ मा पुगिसकेकी थिएँ । यसै बीचमा हाम्रो परिवारमा खुसीयाली छायो । हामी तीन जनाबाट चार भयौँ । हामी दुई दिदी बहिनी मात्र थियौँ। भाइ जन्मिएपछि आमाबाबाका हामी तीन सन्तान भयौँ । भाइको आगमनले हाम्रो परिवार अझ पूर्ण भए जस्तो लाग्यो । भाइ जन्मेको १ हप्तामा नै हामी सिफलमा डेरा लिएर बस्न थाल्यौँ । परिवारमा सबै कुरा पुगी सरी जस्तै थियो । भनौँ सबै कुरा राम्रै चलिरहेको थियो ।
जीवन सधैँ एकनासले कसैको पनि चल्दैन । सुख र दु:ख , हाँसो र रोदन जीवनका अभिन्न साथी हुन् । सायद हाम्रो खुसी र हाँसो दैवलाई राम्रो लागेन । दैवको वज्रपात हाम्रो परिवारमाथि आइपर्यो । हामीबाट दैवले सदाका लागि बाबालाई खोसेर लग्यो । त्यतिबेला म ७ वर्षकी थिएँ भने भाइ एक महिनाको । सडक दुर्घटनामा हामीले बाबालाई गुमायौँ । प्रत्येक सन्तानको कर्तव्य भनेको बाबाआमाको आदर्श सपना पूरा गर्नु नै उहाँप्रतिको सच्चा सम्मान हुने छ । यस्तो पीडादायी समयलाई बिस्तारै पर धकेल्दै गयौँ । जीवनमा जे जस्तो दु:ख, पीर, व्यथा भए पनि भुल्दै जानुपर्दो रहेछ ।
समय आफ्नै गतिमा अगि बढ्दै गयो । हामी पनि ठूला हुँदै गयौँ । तीन वर्षको भएपछि भाइ पनि विद्यालय जान थाल्यो । मा त्यतिबेला कक्षा ५ मा पढ्थें । हामीले पढ्दै गरेको विद्यालयको नाम डियरवाक सिफल स्कुलमा परिवर्तन भयो । अहिले म १४ वर्षकी भएँ। म नौ कक्षामा ,भाइ दुई र दिदी दश कक्षामा पढ्दै छौँ ।