Logo

Student Corner

फूलबारी 

Written by: Estella Shrestha - 2023013, Grade IX

Posted on: 04 October, 2020

फूलहरूको बगैँचालाई फूलबारी  भनिन्छ। फूलबारी लाई उद्यान पनि भनिन्छ। फूलबारी एउटा घर जग्गाको योजनाबद्ध विकास हो जुन नयाँ बोटबिरुवा, फलफूल र अन्य प्रकृतिको खेतीको लागि प्रयोग गरिन्छ।  फूलबारी प्राकृतिक र मानव निर्मित हुन्छन् । फूलबारी  भनेको मन र आत्मालाई विश्राम दिने ठाउँ हो । साथै यसले व्यक्तिलाई धीरता, कडा परिश्रम अनि  प्रेम र स्नेहको महत्त्व सिकाउँछ। यसले व्यक्तिलाई  शान्ति पनि दिन्छ। 

 फूलबारी  मानिसको अभिन्न साथी पनि हो । प्रकृतिविना मानिसको अस्तित्त्व  खल्लो हुन्छ। मानिसले आफ्नो जीवनलाई रसमय बनाउन र आनन्द लिन फूलबारीमा टहल्लछ ,रमाउँछ अनि सुस्ताउँछ। प्रकृतिमा उसले केही न केही आराम पाउँछ। फूलबारीमा मानिस हिँडडुल गर्दै अनेक फूलको आनन्द लिइरहेका हुन्छन् । फूलबारी ज्ञानको खानी पनि हो। हाम्रा महाकवि लक्ष्मीप्रसाद देवकोटाले - “उद्यानमा बस गई सब तत्त्व खुल्छन्” भनेर त्यसै भनेका होइनन्। फूलबारीमा अनेक किसिमका फूलहरू हुन्छन्। सयपत्री ,मखमली ,चमेली, गुहेंली ,गुलाब जस्ता फूलहरूले फूलबारीलाई शोभायमान बनाएर सुगन्धी बास्ना छर्ने काम गरेका हुन्छन् । फूलबारीको सुगन्धी हावाले मानिसको मस्तिष्कलाई पनि फूल जस्तै सुन्दर बनाउँछ। उसको सोच्ने शक्ति र मनका भावना पनि फूल जस्तै सुन्दर हुन्छन् । प्रकृतिसँगै हुर्के बढेको मानिसले लाखौँ  खर्च गरेर पनि नपाउने आनन्द फूलबारीमा पाउन सक्छ। आजकाल  बढ्दो सहरीकरणसँगै मानिसका लागि फूलबारी घर भित्रको एउटा गमलामा सीमित हुन पुगेको छ। मानिसले प्रकृतिको  वास्तै नगरी दुई कोठे घर भए  त्यो नै उसका लागि सबै थोक बन्दै गइरहेको  छ । फूलबारीमा रमाउने, प्रकृतिसँगै खेल्ने मानिस आजभोलि ल्यापटपमा र मोबाइलमा भुलेको छ। त्यसमै रमेको छ। ल्यापटपमा र मोबाइलमा लामो समयसम्म बस्दा हुने बेफाइदाबारे जानकार भए पनि त्यसको लत उसले छोड्न सकेको छैन । 

फूलबारी फूलबारी मात्र नभएर हृदयको खुला बगैँचा पनि हो। यसको सम्बन्ध मानिससँग हुने हुनाले मानिस नै फूलबारीको जन्मदाता र कर्मदाता हो। फूलबारीबाट नै  कर्मी मौरीले अमृतरूपी मह बनाउँछन् । मानिसले मौरीबाट पनि परिश्रमको ज्ञान पाउन सक्छ। फूलबारीले हामी सबैलाई शान्ति,नरम र कोमलताको भाव भरिदिन्छ।