Logo

Student Corner

अनलाइन कक्षा :  मेरो अनुभव 

Written by: Kriti Nepal - 2023016, Grade IX

Posted on: 01 October, 2020

अनलाइन कक्षा  शिक्षण सिकाइको वैकल्पिक  माध्यम हो । वर्तमान समय सङ्कट र महामारीको समय हो । अहिले हामी सबैलाई थाहा नै छ कि कोभिड -१९ ले विश्वमा  आतङ्क फैलाएको  छ भने १० लाख जति मानिसले यही रोगका कारण ज्यान पनि गुमाइ सकेका छन् ।  कोरोना महामारीकै कारण अहिले विद्यालय बन्द छन् । व्यापार व्यवसाय बिस्तारै  पुरानै गतिमा फर्कँदै छन् । यस्तो अवस्थामा  हामी  घरमै बसेर अनलाइन कक्षा लिइरहेका छौँ । हाम्रो विद्यालयले  पनि अनलाइन  कक्षाको सुरूवात वैशाख महिनादेखि नै गरेको थियो र अहिलेसम्म पनि चलिरहेको छ ।   

वैशाख १५ गतेबाट सुरू भएको अनलाइन कक्षा निकै व्यवस्थित छ । अनलाइन कक्षा व्यवस्थित  भएकाले हामीलाई कक्षा लिन गाह्रो भएन । अनलाइन कक्षामा पढ्दा मैले निकै  राम्रा अनुभव र यसका  फाइदाहरू  पनि सिकें । नियमित विद्यालय जान जस्तो हतार पनि नहुने, धुलो धुँवाबाट पनि बचिने र घर नै विद्यालय हुने । हुनत पहिलो विद्यालय भनेको घर नै हो । घरबाट नै धेरै कुरा सिकेका हुन्छौँ ।  तर सधैँभरि घरबाट सिकेका कुराले नपुग्दो रहेछ । विद्यालय जान  नपाए पनि अहिले घर नै विद्यालय भएको छ ।  विद्यालय, शिक्षक र परिवारले घरलाई नै विद्यालय बनाइदिनु भएको छ ।  यो म जस्ता सबै विद्यार्थीका   लागि खुसीको कुरा हो ।  अनलाइन कक्षा पढ्दा मैले कहिले नचलाएका  र पढ्नको लागि सजिला विभिन्न  वेबसाइटहरूबारे थाह  पाएँ । यिनीहरूको प्रयोगले मेरो ज्ञानको  क्षेत्रलाई अझ फराकिलो बनाएका छन् । अहिले त घरमै बसेर पढ्ने  बानी परिसकेकको छ । अनलाइन कक्षामा रमाएर पढेका छौँ। तर विद्यालयका साथीहरूसँग प्रत्यक्ष रूपमा  भेट हुने अवसर  भने  पाइएको छैन । एकछिन पनि घरबाट  बाहिर निस्कन नपाउँदा  पनि चित्त बुझाउनु  पर्ने भएको छ । 

अनलाइन कक्षा विद्यालयमा जस्तो प्रत्यक्ष रूपमा विद्यार्थीहरू सार्वजनिक रूपमा कुराकानी गर्न  सहज छैन । यसका साथसाथै मैले यो अनलाइन कक्षामा भोगेको बेफाइदा भनेको कक्षा समयमा बत्ती जानु र इन्टरनेटले समय समयमा काम नगर्दा चाहेर पनि कक्षामा उपस्थित हुन नसक्नु हो । कति कति बेला विभिन्न  प्राविधिक समस्याले गर्दा पनि कक्षामा सहभागी हुन सकिँदैन। इन्टरनेट राम्ररी चलेको छैन भने शिक्षकले बोलेको आवाज पनि राम्ररी सुन्न सकिँदैन । अनलाइन कक्षामा भन्दा विद्यालयमा नै गएर पढ्न पाए अझै राम्रो र सजिलो अनि फाइदाजनक  हुन्थ्यो होला ।