Logo

Student Corner

माधवप्रसाद घिमिरे

Written by: Anushka Basnet - 2023002, Grade IX

Posted on: 30 September, 2020

माधवप्रसाद घिमिरे नेपाली साहित्यका शास्त्रीय  कवि हुन् । उनलाई राष्ट्रकवि भनेर पनि चिनिन्छ । घिमिरेको जन्म वि.सं . १९७६ सालमा लमजुङ जिल्लाको पुस्तुनमा भएको थियो । उनले नेपाली साहित्यमा थुप्रै कविताकाव्य, गीत, निबन्ध र नाटकसमेत रचना गरेका छन् । उनका थुप्रै कृति नेपाली लोकलय, नेपाली जनजीवन र नेपाली प्रकृतिसँग सम्बन्धित छन् । उनका प्रमुख कृतिहरूमा गौरी, नव मञ्जरी, मालतीमङ्गले ,राजेश्वरी,राष्ट्रनिर्माता, किन्नर किन्नरी, चारु चर्चा आदि हुन्। 

 माधवप्रसाद घिमिरे तीन वर्षका हुँदा  आमाको निधन भएको थियो । आमाको निधनपछि  उनको हेरचाह र पालनपोषण पिता र हजुरआमाबाट भएको थियो । ११ वर्षको उमेरमा घर छाडेर दुराडाँडा (लमजुङ) गाउँको संस्कृत पाठशालामा पढ्न गए । त्यसपछि काठमाडौँको रानीपोखरीमा रहेको संस्कृत प्रधान पाठशाला र तीनधारा संस्कृत पाठशालासम्म आइपुग्दा उनले प्रथमा उत्तीर्ण गरे । त्यसपछिको अध्ययनका लागि उनी बनारस पुगे र घिमिरेले बनारसबाट सर्वदर्शनमा शास्त्री गरे । १९९० मा वर्षको उमेरमा हिन्दू साँस्कृतिक एवं धार्मिक परम्परा अनुसार लमजुङ खुदीवेनीको पोखरेल परिवारकी छोरी गौरीसँग उनको  विवाह भएको थियो । वि.सं. २००४ मा उनकी धर्मपत्नी गौरीको निधन भएको थियो । वि.सं. २००४ सालमा धर्मपत्नी गौरीको निधन र त्यसबाट उत्पन्न शोकपीडा माधव घिमिरेको  जीवनको सबभन्दा ठूलो दुर्घटना हो । त्यसै दुर्घटनाको सेरोफेरोमा रचित गौरी (२०१५) खण्डकाव्य उनको एक विशिष्ट कृति बनेको छ ।  पहिलो पत्नी को निधनको पत्नी वियोगको कठोर पीडाका बीचमै वि.सं. २००५ सालमा दुराडाँडाका अधिकारी थरकी महाकालीसित घिमिरेको दोस्रो विवाह भयो । जागीर र सेवाका सिलसिलामा पछिल्लो समयमा माधव घिमिरे शिक्षक शिक्षण केन्द्रमा शिक्षक, नेपाल भारत मैत्री संघका अध्यक्ष, कलेज अफ एजुकेशनका लेक्चर, काव्यप्रतिष्ठानको सदस्य, इन्द्रेणीका सम्पादक तत्कालीन नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानका सदस्य र उपकुलपति हुँदै कुलपति आदि समेत बनेका थिए ।  

नेपाली साहित्य लेखनमा माधवप्रसाद घिमिरेको योगदान उल्लेखनीय छ । सामाजिक एवं बौद्धिक व्यक्तिका रूपमा पनि उनको विशिष्ट सम्मान भएको देखिन्छ । एउटा कुशल साहित्यिक पत्रकार एवं सम्पादकको रूपमा उनले निर्वाह गरेको भूमिका पछिल्लो पुस्ताका लागि समेत प्रेरणादयी बनेको छ । त्यस्तै गरी नेपाली बालसाहित्यको समुन्नतिमा पनि उनले अग्रपङ्तिकै योगदान दिएका छन् । अत्यन्त स्तरीय र मर्मस्पर्शी राष्ट्रिय गीतका रचनाकारका रूपमा पनि उनको नाम अगाडि आउँछ । गीतिनाटक र निबन्धकारितामा पनि उनको योगदान अविस्मरणीय छ । यी सब तथ्यबाट के कुरो प्रष्ट हुन्छ भने माधव घिमिरे नेपाल साहित्यका बहुमुखी प्रतिभा हुन् । उनको लेखनको मूल केन्द्रविन्दु भने छन्दोबद्ध कविताकाव्य नै हो । 

माधवप्रसाद घिमिरेले आफ्नो जीवनकालमा थुप्रै मान सम्मान तथा पुरस्कार प्राप्त गरेका छन् । वि.सं. २०६० साल आश्विन ७ गतेका दिन प्रज्ञाहल काठमाडौँमा तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाबाट अभिनन्दित भएका थिए । सोही सामारोहमा उनी छन्द शिरोमणि घोषित भएका हुन् । त्यसको तेस्रो दिन अर्थात् आश्विन ९ गते उनी 'राष्ट्रकवि’ घोषित भएका थिए । त्यसका अतिरिक्त पोखरा चितवन, धनगढी लगायतका सहरहरूमा पनि उनी हजारौँ  जनसमूहका बीच अभिनन्दित र रथारोहित भए । नेपाली साहित्यमा निजीस्तरबाट स्थापित सबैभन्दा ठूलो राशि (हरेक ५ वर्षमा प्रदान गरिने ५ लाख रुपैँयाको) को भूपालमान सिंह कार्की प्रज्ञा पुरस्कारबाट सर्वप्रथम पुरस्कृत हुने स्रष्टा माधव घिमिरे नै हुन् । उनले सीताराम साहित्य पुरस्कार, साझा पुरस्कार, आदिकवि, भानुभक्त पुरस्कार, त्रिभुवन प्रज्ञा पुरस्कार लगायत करीब २ दर्जन पुरस्कार तथा सम्मान पाएका छन् । उनले पाएका प्रमाणपत्र, सम्मान पत्र, कदरपत्र, अभिनन्दन पत्र प्रशंसापत्र आदिको सङ्ख्या  ३०० भन्दा बढी भएको देखिन्छ । सुरूका दिनमा जीवनयापनका सिलसिलामा थुप्रै कठोर सङ्घर्ष  गरे पनि पछिल्लो चरणमा माधव घिमिरे अत्यन्त सुखप्रद, प्रशंसनीयर र व्यवस्थित जीवन बाँचको पाइन्छ । सामाजिक एवं बौद्धिक व्यक्तिका रूपमा पनि उनको विशिष्ट सम्मान भएको देखिन्छ । 

यस्ता नेपाली  साहित्यका अथक साधकको ऋतम्मभरा महाकाव्य लेखनकै क्रममा वि.सं. २०७७ भदौ २ मा १०१ वर्षको उमेरमा निधन भयो । उनको भौतिक शरीर आज हाम्रो सामु  नभए पनि उनका कालजयी रचनाले उनी नेपाली साहित्य आकाशका एक चम्किला नक्षत्र  बनी सदैव चम्की रहने छन् ।

 सन्दर्भ सामग्री: 

१.नेपाली विकिपिडिया

२.माधव वियोगी : माधव घिमिरेको जीवनीगत व्यक्तित्व