Logo

Student Corner

व्यवसायमुखी कृषि

Written by: Anurag Pandey - 28031, Grade IX

Posted on: 15 July, 2024

व्यवसायमुखी कृषि भनेको कृषिलाई आर्थिक लाभ र व्यावसायिक उद्देश्यको लागि सञ्चालन गर्ने प्रणाली हो । यस प्रणालीले कृषकलाई साधारण खेतीको आधारमा भन्दा धेरै फाइदा दिन्छ । किनकि यसले बजारको मागलाई ध्यानमा राख्दै उत्पादन गर्ने, व्यवस्थापन गर्ने र वितरण गर्ने प्रक्रियालाई सुसङ्गठित बनाउँ छ। व्यवसायमुखी कृषिको महत्त्व नेपालजस्ता कृषिप्रधान देशमा अझ बढी हुन्छ, जहाँ कृषिमा निर्भर जनसङ्ख्याको ठुलो हिस्सा छ।

व्यवसायमुखी कृषि अपनाउनका लागि धेरै कुराहरूध्यान दिनुपर्छ । सर्वप्रथम, कृषकले बजारको मागको अध्ययन गर्नुपर्छ । कुन उत्पादनको माग बढी छ र त्यसबाट कति लाभ उठाउन सकिन्छ भन्ने विषयमा अनुसन्धान गर्नुपर्छ । त्यसपछि, उत्पादन प्रक्रिया सुरु गर्नको लागि आधुनिक प्रविधि, गुणस्तरीय बिउबिजन, र दक्षता प्रदान गर्ने उपकरणहरुको उपयोग गर्नुपर्छ। यसले उत्पादनमा वृद्धि ल्याउँछ र उत्पादनको गुणस्तर सुधार गर्छ।

व्यवसायमुखी कृषिको एक महत्त्वपूर्ण पक्ष भनेको बजारमा प्रतिस्पर्धा गर्न सक्ने क्षमता विकास गर्नु हो। यसका लागि कृषकले विभिन्न तालिमहरूलिई नयाँ प्रविधि र व्यवस्थापनका तरीकाहरूअपनाउनु पर्छ। साथै, कृषकहरुले सहकारी संस्था, किसान समूह आदि मार्फत सहकार्य गरी सामूहिक रूपमा उत्पादन र वितरण प्रणालीलाई सुदृढ बनाउन सक्छन्। यसले लागत कम गर्न र फाइदा बढाउन मद्दत पुर्याउँछ।

 

व्यवसायमुखी कृषिले कृषकको जीवनस्तरमा ठुलो परिवर्तन ल्याउन सक्छ । यसले कृषकलाई आत्मनिर्भर बनाउँछ र उनीहरुलाई उच्च आम्दानीको अवसर प्रदान गर्छ। यसका साथै, यो प्रणालीले ग्रामीण विकासमा महत्त्वपूर्ण भूमिका खेल्छ। कृषि उत्पादनमा वृद्धि हुँदा खाद्य सुरक्षा सुनिश्चित हुन्छ र गाउँघरमा रोजगारीका अवसरहरूसिर्जना हुन्छन्। यसले ग्रामीण अर्थतन्त्रलाई मजबुत बनाउँछ र देशको समग्र आर्थिक विकासमा योगदान पुर्याउँछ।

कृषि व्यवसायका लागि अनुकूलन वातावरणकाे आवश्यक पर्दछ । जलवायु परिवर्तनबाट उत्पन्न अनिश्चितता, पानीको अभाव, किरा र रोगको प्रकोप र सीमित खेतीयोग्य जमिनले किसान र कृषि व्यवसायका लागि निक्कै बाधाहरू उत्पन्न गरेको छ ।  यसका साथै साना किसानका लागि आजकाे  वित्त, प्रविधियुक्त बजारमा पहुँच वृद्धिका लागि निरन्तर चुनौती पनि बनेको छ । वस्तुको मूल्यको अस्थिरता, व्यापारिक अवरोधहरू र नीतिगत असमानताहरूले  व्यवसायमुखी कृषि सञ्चालन जटिल बनाउने भए तापनि उद्यमीहरूलाई व्यवसायमुखी कृषिमा समावेश गरी अघि बढाउनु आजकाे माग हाे ।  कृषि व्यवसाय एक जीवन्त र अपरिहार्य क्षेत्र हो जसले खाद्य उत्पादन र उपभोग बिचको खाडललाई कम गर्छ । चुनौतिहरूलाई सम्बोधन गरेर, प्राविधिक विकासको फाइदा उठाएर, र नयाँ नयाँ अवसरहरूको खोजी गरेर, उद्यमीहरूलाई खाद्य सुरक्षा, दिगो विकास र आर्थिक समृद्धिमा योगदान पुर्‍याउन सक्छन् ।