Logo

Student Corner

रुख र मानवकाे सम्बन्ध

Written by: Barun Kadariya - 29053, Grade VIII

Posted on: 08 July, 2024

एक समयको कुरा हो । एक परिवारले ठूलो बगैँचाको बिचमा एक बिरुवा रोपे । बगैँचाले पहिलेदेखि नै त्यो ठाउँलाई एक सुन्दर वातावरण र प्राकृतिक स्वरूपको अनुभव गराउँदै आएको थियो । जहिले पनि मानिसहरू त्यहाँ आउँथे । त्यहाँ बस्थे र रमाइला रमाइला गफहरू गर्थे । बालबालिकाहरू त्यहाँ खेल्थे रमाउँथे । त्यो बिरुवा ठिक बिचमा लगाएको कारण पहिलो झलकमा नै बगैँचा राम्रो देखिन्थ्याे । त्याे बिरुवा सानो थियाे । लाग्थ्यो कि त्यसको जन्म बल्लबल्ल भएको थियो । समय बित्दै गयो । त्यसमा अलिअलि पातहरू आउन थाले । एक दुईवटा पातहरू पलाउन थाले । त्यो बिरुवा एक ठूलो रूख को बिरुवा थियो । सबै जनाकाे आशा यही थियो कि यो बिरुवा ठुलाे रुख भइसकेपछि सबैकाे प्रिय बन्ने छ । 

त्यो बिरुवाले आफ्नो वातावरणमा घुलमिल हुनका लागि प्रयास गरिरह्यो । अरू रूख साथीहरूसँग खेल्थ्यो । हावासँग खेल्थ्यो र पानी परेको बेलामा पानीसँगै रमाउँथ्यो । बिस्तारै बिस्तारै हुर्किरहेको बिरवा दुई फिट जति ठुलो भयो । तर पनि अरू रुखहरूभन्दा सानाे नै थियो । एकपटक उसको सुखी खुसी जीवनमा ठुलो प्रभाव त्यतिबेला पर्यो जतिबेला त्यो बगैँचामा एउटा बाेट काटियो । त्यतिबेला उसले यो विश्वको अर्को पाटो पनि देख्यो । उसले यो सिक्यो कि दुःख भएको ठाउँमा सुख पनि हुन्छ तर सुख भएको ठाउँमा पनि दुःख हुनु विश्वव्यापी सत्य हो । उसले आफूमा एक नयाँ परिवर्तन ल्यायो । त्यो जीवन बाँच्नका लागि आफूलाई धेरै चञ्चल पनि नबनाउने प्रयासमा थियो । वर्षहरू बिते, त्यो रुख ठुलो भयो । उसमा धेरै पातहरू थिए । उसको आकार पनि ठुलो थियो । उसको जराहरू पनि टाढा टाढासम्म फैलिसकेका थिए । ऊ त्यही जराहरूबाट बाँधियो । त्यस रुखमा नराम्रा लक्षणहरू देखियाे । केही समय रोगले ग्रस्त भयो । ऊ एक ठुलो बोट भइसकेको थियो । चाँडै नै उसको त्यो रोग सन्चो त भयो तर ऊ कमजोर पनि त भयो । उसको आकार विशाल थियो । उसले धेरै जनालाई छाया दिएको थियो । धेरै जनालाई फल दिएको थियो र धेरै जनालाई कामना पनि गरेकाे थियो । ऊ एक प्रेरणा थियो त कसैको लागि । ऊ सायदै नराम्रो थियो । ऊ आफ्नो समाजमा सबै जनासँग घुलमिल भयो । उसको वातावरण राम्रो थियो । त्यो रूख ६० वर्ष पुग्न लाग्यो, ऊ कमजोर भयो । उसको वरिपरिको त्यो बगैँचा अब बगैँचा रहेन । त्यहाँ धेरै रुखहरू थिएनन् । अरू सबै रुख सुकेका थिए । त्यहाँ कोही आउँदैनन् तर पनि ऊ त्यहाँ बाँचिरह्यो । अरू बोटको लागि प्रेरणा त बन्यो तर आयु पुगेपछि त के नै भन्ने र ! जन्मेपछि उसलाई ज्ञान थाहा भयो, ठुलो भएपछि गुण थाहा भयो, उसलाई कर्म थाहा भयो र आफ्नो धर्म थाहा भयो । बीचबीचमा उसलाई पीडा थाहा भयो र अन्त्यमा उसलाई मृत्यु थाहा भयो । उसको जराहरू कमजोर भए । उसको आयु घट्दै थियो । अन्त्यमा ऊ त्यो हावासँग खेल्न सकेन त्यो पानीसँग पनि रमाएन उसको पातहरूको त्यो मूल्य उसलाई अधुरो लाग्यो । अन्त्यमा उसको मृत्यु भयो ।

त्यो रुख र मनुष्यको जीवन उस्तै त हो । पहिला जन्म हुन्छ । जन्मेपछि उसमा शारीरिक विकास हुन थाल्छ । उसमा गुणहरू भरिँदै जान्छन् । कुनै सुक्छन् त कुनै राम्ररी चम्किन्छन् । उसले आफ्नो बाल्यकालमा रमाइलो गर्छ । आफ्नो साथीहरूसँग खेल्छ । आफ्नै लयमा बग्छ । त्यसपछि अलि ठुलो हुन्छ । उसलाई सबै गुणहरू थाहा हुन्छ । दुःख पनि थाहा हुन्छ । मेहनत पनि थाहा हुन्छ । उसले परिश्रम गर्छ र आफूलाई भविष्यको लागि तयार गर्छ । उसले समाजलाई बुझ्छ र त्यहाँको वातावरण मेलमिलापलाई पनि बुझ्छ । सामाजिकीकरणको पनि प्रयास गर्छ । त्यसपछि ऊ ठुलो हुन्छ । ठुलो भएपछि रुखको जराहरू जस्तै नै ऊ छिमेकी आफन्तहरूमा बाँधिँदै जान्छ । टाढाभन्दा टाढा फैलिँदै जान्छ । त्यसले विश्वको सच्चाई बुझ्छ । आफ्नो गल्तीहरूबाट सिक्छ र अरूको पनि भलो चिताउँछ । अरूको राम्रो नै गर्ने प्रयास गर्छ । अरूलाई राम्रो सङ्गतिमा बसाउने प्रयास गर्छ । आफ्नो विकास गर्छ । अन्त्यमा आफ्नो गुणहरूको बारेमा सोच्छ । आफ्नो जीवनको बारेमा सोच्छ आफ्नो प्रयासको बारेमा सोच्छ र अन्त्यमा आफ्नो कर्मको बारेमा अनुभूति गर्छ । पछि कमजोर हुन्छ, रोगग्रस्त हुन्छ र अन्तिममा मृत्यु नै हुन्छ ।