Logo

Student Corner

जनै पूर्णिमा

Written by: Kriti Nepal - 2023016, Grade IX

Posted on: 27 September, 2020

नेपाल धार्मिक,साँस्कृतिक विविधताले सम्पन्न मुलुक हो । यहाँ अनेक प्रकारका चाडपर्व मनाइन्छ । हरेक चाडवाडको आ-आफ्नै महत्त्व र सन्दर्भ हुन्छ । त्यस्तै मध्येको महत्त्वपूर्ण    चाड हो - जनै पूर्णिमा । जनै पूर्णिमा धागो र बन्धनको चाड हो । धागो अर्थात् बन्धन, पवित्रता र सुरक्षाको बन्धन । ब्राह्मण र क्षत्रिय पुरुषहरूले हिन्दु परम्पराअनुसार यज्ञोपवित अर्थात् जनै लगाउने चलन रही आएको छ । बाल्यकालपश्चात् विधिपूर्वक व्रतबन्ध कर्म सम्पन्न गरी गुरू-पुरोहितद्वारा अरूले नसुन्ने गरी कानमा गायत्री मन्त्रको उच्चारण गरेपछि एउटा निष्ठामय धर्म र सत्यको बाटो अवलम्बन गर्ने दृढ सङ्कल्प  लिएर देब्रे काँधमाथि पर्नेगरी दाहिने हातको मुन्तिर पारेर गुरू पुरोहितले मन्त्रेर तयार पारेको जनै ग्रहण गरिन्छ । नेवारी समुदायमा यस दिनलाई गुन्हु-पुन्ही भनी मनाइने परम्परा छ। 

जनै पूर्णिमा श्रावण शुक्ल पूर्णिमाका दिन मनाइन्छ । यो  चाड मान्ने तागाधारी जातिहरूले नयाँ यज्ञोपवित तथा रक्षाबन्धन धारण गरी यस पर्वलाई धुमधामका साथ मनाइन्छ । यस दिन वर्षभरिका लागि आवश्यक पर्ने जनै तयार गरी मन्त्रेर राख्ने गरिन्छ।  यस दिनमा ब्राह्मण तथा क्षेत्रीयहरूले पुरानो  जनै फेरेर नयाँ  जनै फेर्छन भने हिन्दुधर्मावलम्वीहरूले  हातमा रक्षा सूत्र बाँध्छन्।  धेरै जसो मानिहरूले यो दिनमा लगाएको डोरो लगभग ३ महिना  जति राखेर लक्ष्मी पूजाका  दिन गाईको पुच्छरमा बाँधिदिन्छन् । यो दिन  खासगरी  तराईमा दिदीबहिनीहरूले आफ्ना दाजुभाइलाई राखी बाँधिदिने र दाजुभाइहरूले  उनीहरूको रक्षा गर्ने वाचा गर्छन् । यसै दिन  सप्तऋषिलाई तर्पण दिने भएकाले यो दिनलाई ‘ऋषि तर्पणी’ पूर्णिमा पनि भन्ने गरिन्छ भने । जनै पूर्णिमाको अघिल्लो दिन जनै लगाएका मानिसहरूले कपाल दारी सबै खौरिन्छन्  र नुहाएर शुद्ध  हुन्छन् । यो चाड निकै उत्साह ,उमङ्ग र पवित्रताका साथ  मनाईन्छ । यो चाडले हामी नेपालीहरूको परम्परा र संस्कृति झल्काउँछ।  यो हामी सबैको लागि गर्वको कुरा हो।