Logo

Student Corner

साथीहरूसँगको मेरो पहिलो भ्रमण

Written by: Riti Niraula - 27029, Grade X

Posted on: 27 May, 2024


वि. सं  २०७९, माघ ७ गते म कक्षा ८ मा पढ्दै गर्दा विद्यालयले कक्षा ८ र ९ लाई शैक्षिक भ्रमणमा लागेको थियो । हाम्रो यो भ्रमण पहिला नै गर्ने भनेको थियो तर कक्षा ८ मा हाम्रो प्रि-बिएलई  भएकाले पछि सरेको थियो । हाम्रो विद्यालयले अरू बेलामा कक्षा १० लाई  मात्र भ्रमणमा लग्थ्यो तर त्यो वर्ष विद्यालयले कक्षा ८ र ९ दुवैलाई  लगेको थियो । हाम्रो भ्रमणको लागि स्थान चाहिँ विद्यालयले चित्लाङ रोजेको थियो ।  यो भ्रमण २ दिन र एक रातको थियो। हामीलाई भ्रमणमा लैजाने भनेर हाम्रो परीक्षाभन्दा पहिले नै भनेको थियो । भ्रमणमा जानुको अगिल्लो दिन शिक्षकहरूले भोलि के के हुन्छ, कति बजे आइपुग्ने भनेर सबै भन्नु भएको थियो । मेरा साथीहरूसँगको पहिलो भ्रमण भएर त्यो रात म धेरै उत्साही थिएँ । 


शिक्षकहरूले भनेअनुसार हामी विद्यालय ७ बजे पुग्नु थियो । हामीले अगिल्लो नै दिन के के ल्याउने भनेर सबै कुरा मिलाइसकेका थियौँ र कुरा अनुसार सबैले आफैँलाई चाहिने कुरा र मनोरञ्जनका लागि चाहिने समान पनि ल्याएका थियाैँ । हामी सबै साथीहरू विद्यालयमा भेटेपछि शिक्षकहरूले हामीलाई एउटा कक्षामा लैजानुभयो । हामीलाई यात्राको शुभकामना दिनु भयो । त्यसपछि हामी सबै जना गाडीमा गएर आफ्ना झोलाहरू मिलाएर बस्याैँ।  गाडीमा हामीले गीत बजाएर धेरै रमाइलो गरेका थियौँ । बिहानको समय भएर होला बाटो खाली नै थियो र हामीलाई चन्द्रागिरी पुग्न धेरै समय लागेन । हामीले गाडीमा धेरै समय बिताउन पनि परेन । 

 

चन्द्रागिरी पुगेपछि हामी गाडीबाट झर्यौँ अनि त्यहाँको रमाइलो दृश्य हेरेर २, ३ ओटा फोटा खिच्यौँ । माघ महिनाको समय थियो । त्यसकारण त्यहाँ चिसै थियो । मैले र मेरा साथीहरू सबैले पातलो लुगा लगाएका थियौँ  ।  तर त्यो रमाइलो ठाउँमा हामीले चिसोको त केही महसुस नै गरेनाैँ । त्यहाँ हाम्रा शिक्षकहरूले केबल कारको टिकेट काट्नुभयो अनि हामी केबलकार चढी चन्द्रागिरीको मन्दिरसम्म पुग्यौँ ।  केवलकारमा हामीसँग हाम्रो एउटा शिक्षक पनि हुनुन्थ्यो । त्यस कारण साथीहरूसँग खासै खुलेर कुरा गर्न भने पाएनौँ । हामीले केबल कारबाट झरेर चन्द्रागिरी मन्दिरको दर्शन गर्यौँ । फोटो खिच्यौँ र एकै छिन् रमाइलो गर्यौँ । 
हामीहरूलाई शिक्षकले हिड्नुपर्छ भनेर केहि भन्नुभएको थिएन तर हामी चन्द्रागिरीबाट चिलाङगमा भएको हाम्रो रिसोर्टसम्म हामी पैदल यात्रा गरेर गएका थियौँ । त्यो हामी हिँडेको बाटो धुलो नै धुलो थियो । त्यसैले त्यो पैदल यात्रामा खासै रमाइलो भएको थिएन तर तल आएपछि हामीले आफ्नो फोनमा गीत बजाउँदै नाच्दै आएका थियौँ । हाम्रो  पैदल यात्रा रिसोर्ट आएपछि मात्र सकिएको थियो । त्यो अर्गानिक रिसोर्ट थियो र हामी सबै जना टेन्टमा सुत्नु पर्ने थियो । हामीले जानेबित्तिकै आफ्नो झोला आफू सुत्ने टेन्टमा लगेर राख्यौँ  । अनि बिहानको नास्ता गर्न गयौँ । नास्ता गरिसकेपछि हामी एक्कै छिन बस्यौँ । माथिको जङ्गलमा हामी फोटो खिच्न गयौँ ।  फोटो खिचिसकेपछि हामीले त्यहाँ विभिन्न खेल पनि खेल्यौँ ।  त्यति बेलासम्म १२ बजेको थियो । हामीलाई खाना खान बाेलाउनुभएको थियो ।  खाना खाएर आराम गरेपछि हामीलाई चित्लाङमा गरिने खेतीबारे बुझाउन हामीलाई एउटा खेती गरेको ठाउँमा लैजानुभयो । त्यहाँ हामीले विभिन्न फलको जाम बनाउने र त्यहाँको बाख्राको चिजबारे पनि बुझ्याैँ ।  त्यहाँ हामीले पहिले राजाहरूले बनाएको किल्ला पनि देख्यौँ । त्यो किल्ला कसले बनाएको, किन बनाएको ती सबै प्रश्नको उत्तर पनि पायौँ। 

 

भ्रमण पछि हामी थकित भएका थियौँ अनि हामी हाम्रो टेन्टमा गएर आफ्ना फोनहरू चार्जमा हालेर कक्षा ९ सँग बसेर बेलुका के के गर्ने भनेर छलफल गर्यौँ ।  बेलुका भइसकेको थियो त्यसपछि हाम्रा शिक्षकले दाउराहरूले क्याम फायर गर्न तयार पार्नुभयो । हामीले क्याम फायर गर्नुभन्दा अगाडि हाम्रा शिक्षकहरूसँग बसेर भोलि कहाँ कहाँ जाने भनेर छलफल गर्यौँ । छलफलअनुसार भोलि हामी कुलेखानीमा बोटिङ गर्न जाने अनि घुम्न बाकी भएको ठाउँमा घुम्ने थियो ।  खाना खाएपछि हामीले क्याम फायर गर्यौँ ।  हामी सबै जना पालैपालो केही गर्नुपर्ने थियो ।  कसैले नाचे, कसैले गीत गाए , कसैले गितार बजाए, कसैले कथा भने । म र मेरो साथीले गीत गायौँ । बेलुका भए लगत्तै मान्छेहरू आफ्नो टेन्टमा गएर बस्न थालेका थिए ।  सबैजना गएपछि सबै केटाहरू टेन्टबाट निस्केँ ।  हामीले शिक्षकहरूसँग बसेर २:०० बजेसम्म गीत गायौ । त्यसपछि हामी सबै जना आफ्नो टेन्टमा गयौँ अनि हाम्रा झोलामा विभिन्न कुराहरू थिए । ती निकालेर हामीले खायौँ । अनि टेन्ट ठुलो भएकाले हामीले विभिन्न खेलहरू पनि खेल्यौँ । हाम्रा शिक्षकहरू सुत्नु भएको थिएन । हामीलाई बारम्बार सुत भनि राख्नुभएको थियो । त्यही पनि हामी सुतेका थिएनौँ । हामी बिहानको ४:०० बजेसम्म चलेर बसेका थियौँ । 

बिहान हामीलाई शिक्षकहरूले ७ बजे उठ्न लगाउनुभयो अनि हामी बिहान मुख धोएर लुगा फेरेर तयार भएर निस्क्यौँ ।  हामीलाई त्यहाँकाे रहनसहनबारे जानकारी दिन पुजा गर्ने मन्दिर र नेवारी बस्ति देखाउनुभयो । त्यो दिन हामी धेरै खुसी थिएनौँ किनकि सबैलाई थाहा थियो आज घर जाने दिन हो भनेर । त्यही कारण यो सानो भ्रमणमा खासै रमाइलो भएन । हामी हाम्रो रिसोर्ट फर्क्याैँ । बिहानको नास्ता गरेर हामी शिक्षकले भनेअनुसार कुलेखानीमा बोटीङ गर्न गयौँ । हामीले त्यो बेला कुलेखानीमा धेरै समय बितायौँ । बोटिंग गर्यौँ । फोटो खिचेर त्यहाँ विभिन्न खाने कुराहरू हामीले किन्यौ अनि आफ्नो गाडीमा गएर बस्यौँ ।  एकैछिन त सबैले रमाइलो गरे तर राती नसुतेको कारणले हामी सबै जनापछि गाडीमा निदायौँ । हामीलाई गाडीले हाम्रो विद्यालयमा ल्याएर छोड्यो अनि त्यहाँ हामीले आआफ्नो सामान लियौँ । हाम्रो स्कुलको गाडीले हामीलाई घरसम्म छोड्यो ।