Written by: Sashwat Paudel - 2022019, Grade X
Posted on: 23 September, 2020
यो लेख पढ्नुभन्दा पहिले म तपाईंसामु एक प्रस्ताव राख्न चाहन्छु। केवल केही बेरसम्म माछाको बारेमा नसोच्नुस् । जे हुन्छ, जसो हुन्छ, माछाको बारेमा सोच्दै नसोच्नुस्। के तपाईं यो कार्य गर्न सक्नुहुन्छ ? कि तपाईंलाई अहिले मनमा माछाभन्दा अरू केही पनि आइरहेको छैन ? यदि तपाईंले माछाको बारेमा सोच्नुभयो भने तपाईं यो कसरी भयो , भनेर बसिरहेको हुनुहुन्छ होला । यो कुरा तपाईंलाई मात्र होइन, धेरै मानिसलाई हुने गर्दछ ।
एक परीक्षणमा सहभागीहरूलाई यही भनिएको थियो । उनीहरूलाई शिक्षकले केही बेरका लागि “सेतो भालु” को बारेमा नसोच्नुहोस् भनेर भनेका थिए | उनीहरूले पनि सेतो भालुलाई आफ्नो मस्तिष्कबाट निकाल्न सक्षम भएनन् । उनीहरूले जति प्रयास गरे पनि उनीहरूको दिमागमा सेतो भालुले ठाउँ पायो । उनीहरूले आफू विभिन्न ठाउँमा रमाएको दृश्य पनि सोच्ने प्रयास गरे तर त्यति गर्दा पनि उनीहरूले सेतो भालुलाई वरिपरि देखे ।
अर्को उदाहरण हो,बेलायतीको राजाहरूको । धेरै समय बेलायतीहरूले आलु मन पराउँदैनथे । बेलायत सरकारले आलुको क्षमता देखेका थिए र बेलायती नागरिकलाई आलु रोप्ने र खाने आदेश दिए । यो आदेश सुनेर बेलायती नागरिकले आफ्नो गुनासो जनाए र भने, “आलुको न त बास्ना नै छ ; न स्वाद नै छ । कुकुरहरूले पनि आलु खान मान्दैनन् । यस्तो तरकारीले हामीलाई के फाइदा हुन्छ ?” यो सुनेर राजा फ्रेड्रिक द ग्रेटले आलुको उपयुक्त तरिकाले खेतीपाती गर्ने ठाउँ बनाए । उनले यो ठाउँमा चौबिसै घण्टा तैनाथ गार्डहरू राखे । राजाको यस्तो स्वभाव देखेर त्यहाँका मानिसहरू सशङ्कित भएर सोचे कि यहाँ के कुरा यस्तो मुल्यवान् छ होला कि त्यसलाई यस्तो सुरक्षा चाहिन्छ ? यो घटनापछि केही दिनमै आलुको कालो बजारी सुरू भएको थियो । चोरहरूले आलु फार्मबाट चोरेर बजारमा धेरै मूल्यमा बेच्दै थिए । फ्रेड्रिक द ग्रेटको योजना आश्चर्यजनक रूपमा सफल भएको थियो । हिजोसम्म स्वाद नभएको तरकारी रातारात सबैको बारीमा फल्न थाल्यो र मानिसहरू आफैँले यसको खेती गर्न थाले । कालो बजारी पनि हरायो ।
यो भनेको रिभर्स साइकोलोजी अथवा उल्टो मनोविज्ञानको करतुत हो । हामी मानिसलाई जे नगर भन्यो, त्यही गर्न मन लाग्छ । उल्टो मनोविज्ञान भनेको कुनै व्यक्तिलाई चाहेको कुराको विपरीत भनेर कार्य गराउने प्रक्रिया हो । उल्टो मनोविज्ञान Reactants भन्ने सिद्धान्तको वरिपरि पर्छ । Reactants भनेको हाम्रो अधिकार छिनिने डर हो । जब हामीलाई अधिकार छिनिने डर हुन्छ, तब हामी त्यो परिदृश्यमा आफ्नो आधिकार फिर्ता ल्याउनका लागि मरिहत्ते गर्छौं । तपाईं अब सोच्दै हुनुहुन्छ होला, यस्तो कहाँ जीवनमा हुन्छ र ? धेरैजसो हाँस्य लेखमा रिभर्स साइकोलोजी भेट्ने गरिन्छ । उल्टो मनोविज्ञानले स-साना बच्चाहरूमा धेरै काम गरेको देखिन्छ । हामीले बच्चाहरूलाई जस्तो, तरकारी खान लगायौं भने बच्चाहरूले त्यो तरकारी छुँदा पनि छुँदैनन् । तर उनीहरूलाई त्यो तरकारी खान नदिने हो भने एक्कासी उनीहरूको मन परिवर्तन हुन्छ र उनीहरू खान थाल्छन् ।
अन्त्यमा, उल्टो मनोविज्ञानले हाम्रो जीवनमा धेरै सकारात्मक कुराहरू गर्न सहयोग गर्दछ । उल्टो मनोविज्ञानको बारेमा अचम्मको कुरा यो हो कि हामीले यो प्रक्रियालाई सोचेभन्दा बढी प्रयोग गर्दछौँ । यो हामी अज्ञात रूपमा प्रयोग गरिरहेको हुन्छौँ । हामीले हाम्रै वरिपरि भएका साथीहरूको सोच बदल्न यो सरल प्रक्रियालाई प्रयोग गर्न सक्छौँ । आज धेरैजसो विज्ञापनहरूले यस सिद्धान्तलाई प्रयोग गरेका छन् र सफल पनि भएका छन् ।