Logo

Student Corner

सगरमाथा

Written by: Bibechana Dangol - 30009, Grade VII

Posted on: 22 May, 2024

नेपालको उत्तरी भागमा धेरै हिमालहरू छन् ।  आठ हजार मिटरभन्दा अग्ला हिमालहरू संसारभरमा जम्मा चाैध वटा छन् । तीमध्ये आठ वटा नेपालमा छन् ।  संसारको सबैभन्दा अग्लो हिमाल सगरमाथा हो ।  सगरमाथाको उचाइ समुन्द्र सतहबाट ८८४८ मिटर छ । यो नेपालको सोलुखुम्बु जिल्लाको खुम्बु पासाड.ल्हामु गाउँपालिकामा पर्छ। सगरमाथा जाँदाखेरि नाम्चेबजार हुँदै जानुपर्छ । नाम्चे बजार अत्यन्तै रमणीय ठाउँ हो। 

 

सगरमाथाले विश्वका धेरै पर्वतारोहीहरूलाई आकर्षित गरेको छ। सगरमाथा नेपालको दक्षिण-पश्चिम र उत्तर  तिब्बत गरी दुई ठाउँबाट चढ्न सकिन्छ। हरेक वर्ष धेरै स्वदेशी तथा  विदेशी पर्यटकहरू सगरमाथा हेर्न, घुम्न र आरोहण गर्न आउँछन् । विदेशीहरूलाई सगरमाथा चढ्न नेपालीहरूले नै सिकाउँछन् ।  सगरमाथा आरोहण गर्नु त्यति सजिलो भने छैन । यसको उचाइ,चिसो मौसम र यहाँ चल्ने हावाले गर्दा यसको आरोहण गर्न धेरै गाह्रो हुन्छ। पर्वतारोहीहरूले विशेष किसिमको तालिम लिएर धेरै किसिमको कपडा र जुत्ता लगाएर मात्र हिमाल चढ्ने गर्छन्।  सबै पर्वतारोहीहरू यसको आरोहण गर्न सफल हुँदैनन् ।  धेरैले यसको आरोहण गर्दा ज्यान पनि गुमाएका छन्। 

सबैभन्दा पहिला सगरमाथाको सफलतापूर्वक आरोहण गर्ने व्यक्तिहरू नेपालका तेन्जिंग नोर्गे शेर्पा र न्युजिल्यान्डका एडमण्ड हिलारी हुन्। सन् १९५३ मे २९ मा बिहान ११. ३० मा उनीहरूले सगरमाथाको सफलतापूर्वक आरोहण गरेका हुन् । त्यसपछि धेरै स्वदेशी तथा  बिदेशी पर्बतोरोहीहरूले सगरमाथाको आरोहण गर्न सफल भए।  सगरमाथाको आरोहण गर्ने प्रथम नेपाली महिला पासाङ्ग ल्हामु शेर्पा हुन् । उनीले सन् १९९३ अप्रिल २२ मा सगरमाथाको सफलतापूर्वक आरोहण गरेका हुन्,तर फर्किने क्रममा उनको मृत्यु भएको थियो। 

सगरमाथा सम्पूर्ण नेपालीहरूको आस्थाको प्रतीक हो । यसलाई हामी सबैले माया र इज्जत गर्नुपर्छ ।  साथै  यसको संरक्षण गर्नु सम्पूर्ण नेपालीहरूको दायित्व हो।