Logo

Student Corner

एक दशकको अनुभव

Written by: Amu Shakya - 27021, Grade X

Posted on: 17 May, 2024

मानिस आफ्ना अतीतका र पहिलेका समयमा घटेका गल्तीहरुबाट अनुभव बटुली नवयात्रामा प्रस्थान गर्छन् । उसको त्यो नवयात्रामा उसले प्राक्तन वा अतीतका गल्तीहरु नदोहो¥याउनुमा नै उसको नवजीवनको यात्रामा सार्थकता आप्लावित हुन्छ । तसर्थ आफ्नो अनुभवबाट नयाँ नयाँ कुरा सिकी र गल्तीलाई परिष्कृत गरी चरितार्थमा ल्याए जीवन र जीवनयात्रा अर्थपूर्ण हुने कुरामा द्विमत छैन । कक्षा १ देखि १० सम्मको अक्षुण्ण यात्रामा मैले भिन्नभिन्न विषयका अनुभव बटुलेको छु । १ देखि १० सम्मको लगभग एक दशकको यात्रामा मैले अनुभूत गरेका सारा विषयवस्तुहरु केलाउन मुस्किल नै हुन्छ किनकि आफ्नै जीवनमा घटेका घटनाहरु पनि विस्मरणीय हुन्छन् ।

 

मेरो स्मृतिमा खेलिरहेका छन् पूर्वप्राथमिक तहमा ४ वर्ष बिताएका ती पलहरु । विद्यालय जान हिच्किचाउने, रुने, कालान्तर पछि विद्यालय खोल्दा जीवन नै हारेको पीडासरह रुने, कराउने र पुनः विद्यालय गएपछि फेरी खुशी हुने, साथीहरुसित रमाउने इत्यादि अनेकौ कुराहरु स्मरणीय छन् । ती कुराहरु मनमस्तिष्कमा खेलाइरहँदा अनायासै अप्रत्याशित मुस्कान अधरमा आउँछ । ती तहमा बनेका साथीहरुमध्ये ओमजङ्ग बस्नेत, स्नेहा बज्राचार्य, कर्तव्य कार्की, प्रयुष मानन्धर, गुनगुन कार्की आदिले कहिल्यै नमेटिने गरी स्मृतिमा नाम छाडेर गएका छन् । अहिले त्यस समयका अधिकांश साथीहरुको नाम नै याद छैन । कोही कोही फेसबुकमा साथी छन्, कोहीकोहीको फेसबुक नै छैन, अझ मुख्य विडम्बना त धेरैको नाम नै स्मृतिमा छैन । पर्यावरणीय अवस्था थाहा नभएको ती पल नै सम्पन्न लाग्दो रहेछ, न ईष्या हुन्थ्यो न द्वेष, न स्तर हेरिन्थ्यो न त अनुहार नै ।

 

पूर्वप्राथमिक तहबाट १ कक्षामा जाँदाको अन्तिम दिनमा साथीहरुलाई छोड्नपरेको चिच्याहट् र पूर्वाग्रह स्वभाव प्रदर्शन गरेका कुराहरु सम्झँदा पनि अहिले हाँस्न मन लाग्छ । आखिर अतीतका अपरिपक्व व्यवहार भविष्यमा हाँस्नुकै लागि त बनेका रहेछन् ।

 

कक्षा १ मा भर्ना गर्न जाँदा वि.सं. २०७२ सालको समयावधि थियो । २०७२ साल वैशाख १२ गते १ कक्षाको लागि भर्ना गर्न जाँदै गर्दा आएको आकस्मिक भुकम्प मेरो एक दशकको भयानक अनुभूति मध्ये एक थियो । त्यस समय मानिसहरुको सुस्केरा, रोदन मैले श्रवण गरेका थिएँ तर बुभ्न सकेको थिइन किनभने त्यो बेला म अपरिपक्व नै थिएँ । मैले ‘भुकम्प’ पढेर हैन भोगेर थाहा पाएको थिएँ । त्यस समय भुकम्पले भत्काएका घरहरु र रोइरहेका मान्छेहरु देखेर मेरो मन खल्लो भएको थियो । तत्पश्चात् लामो समयसम्म विद्यालय बन्द भएको र विद्यालय खुलिसकेपछि पनि सुविधासम्पन्न कक्षा नभई माथि प्लास्टिकको पाल राखी १ कक्षा पढ्नु परेको थियो । म १ कक्षामा नै हुँदा मेरो हजुरबुवा सत्यरत्न शाक्यको मृत्युशोक व्यहोर्नुपरेको थियो । तत्पश्चात् नै मृत्युको परिभाषा पढेर हैन परेर जानेको थिएँ । 

 

कक्षा १ देखि कक्षा ७ सम्म मैले एउटै विद्यालयमा अध्ययन गरें । कक्षा २ देखि ७ सम्म मैले कक्षा १ मा जस्तो असुविधायुक्त कक्षा पाएको थिइनं । कक्षा २ देखि ५ सम्म आफैलाई अपरिपक्व भनेर नै भन्नेछु किनभने त्यस समय मैले शिक्षाको महत्त्व बुझेको थिइनं, हुन त त्यो समय को नै परिपक्व होला र ? कक्षा १ देखि ७ सम्मको सप्तवर्षीय अनुभव एक दशक जीवनको कठोर अनुभव थियो । कक्षा १ देखि ७ सम्ममा ‘अनिवार्य अङ्ग्रेजी’ मात्र अङ्ग्रेजी भाषाको विषय हुन्थ्यो, अरु सबै नेपाली माध्यममा पढेको थिएँ । कक्षा ५ र ६ मा अङ्ग्रेजी विषय भएतापनि शिक्षकको अनुपस्थितिको कारण पढाइ नै भएन र अन्य विषयमा पनि शिक्षक नआउने र आए पनि नपढाउने जस्ता प्रवृत्तिले राम्रोसित पढ्नै पाइनं । कक्षा ६ र ७ मा शिक्षाको महत्त्व अवगत भएको थियो । तत्पश्चात् पाठ्यक्रमको शिक्षासँगै नयाँनयाँ किताबहरु किनी पढ्न थालें । रामदेव पाण्डेले लेख्नुभएको बालमनोवैज्ञानिक कृति ‘हजुरआमाको लौरो’ मैले बच्चाबेलामा पढेको मात्र थिएँ, बालमनोवैज्ञानिक कृति भनेर पछि मात्र परिभाषित गर्न सक्षम भएको थिएँ । शिक्षाको महत्त्व धेरै छ भनेर पाठ्यक्रमका विषयहरु निकै घोट्टिन्थे र परीक्षामा उतारी मस्तिष्कलाई शान्त पार्थे अनि शैक्षिक महत्ता सार्थक पारेको प्रतीत हुन्थें जुन कुरा अहिले सम्झँदा पनि हाँस्न मन लाग्छ ।

 

विद्यालयीय पर्यावरण जस्तासुकै भए पनि मसित ज्ञानको असाधारण क्षुधा थियो । बुवाले खाजा खानुका लागि दिनुहुने पैसामा रु. १० पत्रिका किन्थे र बाँकी पैसा भोली अर्को पत्रिका किन्नका लागि राख्थें । मसँग खाद्यान्न क्षुधाभन्दा शैक्षिक क्षुधा ज्यादै थियो । दिउँसो भोकै रहेर सीधै राति खाँदा मलाई फरक पर्दैनथ्यो । 

 

कक्षा ७ बाट ८ कक्षामा म डियरवाक सिफल स्कुल आएँ । आरम्भमा त अङ्ग्रेजी माध्यमबाट पढ्नु पर्दा धेरै सङ्घर्ष गर्नुपरेको थियो । अङ्ग्रेजी, गणित, विज्ञान, कोडिङ जस्तो विषयमा धेरै रुनुपरेको थियो तर पारिवारिक आश्वासन र वैयक्तिक परिपक्वताले सकभर आफूलाई सम्हाले । ८ कक्षामा आधारभूत अङ्ग्रेजी सुधारमा धेरै प्रयत्न गरें । ९ कक्षामा निकै सहज र नैसर्गिक बने सबै विषयहरु । ८ कक्षाको तुलनामा ९ मा त्यत्ति रुनु परेन र १० कक्षामा हृदय कमजोर नबनाउने अङगीकार गरेको छु । चुनौतिका साथै थुप्रै अवसर पनि पाएँ । 

 

समग्रमा भन्नुपर्दा एक दशकको मेरो अनुभूति निकै सङ्घर्षमय रह्यो तर त्यही सङ्घर्षमा पनि रोदनानन्द थियो र अभावानुभूतिको मज्जा लुप्त थियो । यो एक दशकमा प्राप्त संविद् नै आउँदो दशकको मूलाधार बन्ने छ । मलाई सङ्घर्ष गर्न, प्रलयहरुको परिभाषा सिकाउन एवम् परिपक्व बनाउन यही एक दशकको महत्त्वपूर्ण भूमिका रहेको छ । यो मेरो अनुभव सङ्घर्ष, बोध र पीडाको समभुज त्रिकोणात्मक त्रिवेणी हो ।