Written by: Bipana Shrestha - 2023003, Grade IX
Posted on: 21 September, 2020
मेरो बाल्यकाल
बालापनको उमेर नै बाल्यकाल हो। बाल्यकालकाे उमेर अति रमाइलाे हुन्छ । आफ्नो बाल्यकाल सम्झँदा मेरो मन खुसीले भरिएर आउँछ। सानैदेखि नै आमाको काखमा हुर्केकी थिऍ । बाबा म जन्मिने बित्तिकै विदेश जानु भएको थियो । मेरो परिवार पनि एकदमै ठूलो थियो ।
आमाले सक्दो माया दिँदा पनि कतै न कतै मलाई बाबाको याद आइरन्थ्यो । जहिले पनि आमाको काखमा बस्ने बानी परेकी म एकैचोटी ३ वर्षकी भएपछि विद्यालय जाँदा म धेरै आत्तिएकी थिऍ । पछि दिन बित्दै जाँदा विद्यालय जानु पनि कुनै ठूलो कुरा लागेन । विद्यालयमा मलाई दिन प्रतिदिन धेरै नयाँ कुराहरूको अनुभव भैरहेको थियो । नयाँ नयाँ साथीहरूको माझ सँगै खाजा खानु र सँगै पढ्नुको मज्जा छुटै थियो । शिक्षकहरूले कहिले काँही खेल्न लैजाँदा सबै को अनुहार मा छुट्टै खुसी छाउँथ्यो । घरमा पनि बिहान बिहान बिद्यालय जाने हतार हुन्थ्यो भने साँझ गृहकार्य सकाउनुको हतार । यो सब त चल्थ्यो नै तर मनभित्र बाबाको याद ले सताइहन्थ्यो। बाबासँग कहिले काँही फोनमा कुरा हुन्थ्यो । म जहिले पनि बाबा अब छिट्टै घर फर्कनुहुन्छ भन्ने आशा बोकेर बस्थेँ । म ५ वर्षकी हुँदा बाबा आफ्नो छुट्टीमा घर आउनु भयो । सबै जना परिवार खुसी थियौं । म अलि बुझ्ने भएपछि फोनमा मात्रै कुरा गर्ने बाबालाई पहिलो पटक आफ्नै अगाडि देख्दा निकै खुसी थिऍ ।
समय सधैँ एकनासको नहुँदो रहेछ। बाबाको बिदा पनि सकियो । फेरि बाबा हामीसँग टाढा हुने समय नजिक आउँदै थियो । म निराश थिऍ । सायद म पहिलाभन्दा अलि बुझ्ने भएर पनि होला। बाबाको बाध्यता मैलै बुझें । यसरी नै मेरो बाल्यकाल बित्दै गयो । अहिले त ठुली भइ सकेकी छु। बाल्यकाल सम्झँदा एकछिन टोलाउने गर्छु ।