Logo

Student Corner

धार्मिक सहिष्णुता

Written by: Sajiya Tamang - 25065, Grade XI

Posted on: 20 March, 2024

धर्म भनेको यस्तो शक्तिशाली कुरा हो जसमा संसारका सबै प्राणी र वस्तुहरू अडिएका छन् । यो मनिसको जीवन पद्धति हो । यसैगरी धर्मका नाममा हुने मतभेदलाई नमानी सबै धर्मलाई समान रूपमा हेर्ने अथवा सबै धर्मको अस्तित्वलाई स्वीकार गरी धर्मधर्मका बीच हुने फाटो बन्द गर्नु नै धार्मिक सहिष्णुता हो । नेपालको सन्दर्भमा हेर्ने हो भने नेपालीहरू धर्म, संस्कृति र परम्परामा विश्वमै समृद्ध छन् । हाम्रो संस्कृति र परम्परा हाम्रा पुर्खाहरूले हामीलाई दिएर गएको सबैभन्दा ठुलो पहिचान हो । एक धर्म मान्ने व्यक्तिले अर्को धर्म मान्ने व्यक्तिलाई सम्मान गर्ने सभ्यता हामी नेपालीहरूमा रहेको छ । हरेकले आफ्नो धर्म, संस्कृतिलाई स्वतन्त्र रुपमा मान्ने, अर्काको चाडपर्व तथा सांस्कृतिक कार्यक्रममा सक्रिय रूपमा सहभागिता जनाएर एक सम्प्रदायले अर्को सम्प्रदायलाई सम्मान गर्ने नेपाली परम्परा हो । 

धार्मिक सहिष्णुताकै कारण यहाँ जात, सम्प्रदाय र धर्मका नाममा झगडा र जातीय साम्प्रदायिक, धार्मिक हिंसा हुँदैन । नेपालीको छुट्टै महत्त्वपूर्ण विशेषता भनेकै सहिष्णुतापूर्वक सम्पूर्ण पर्व तथा उत्सवमा हरेकले सहभागिता जनाएर आपसमा मेलमिलाप बढाउनु हो। नेपालमा बहुसंख्यक मानिसहरूले हिन्दु धर्म मान्ने गरे पनि यहाँ सबै धर्मलाई उत्तिकै महत्त्व दिने गरिएको छ । जजसले जेजे धर्म माने पनि कसैको धर्मप्रति नराम्रो दृष्टिकाेणले नहेर्नु नेपालीको संस्कृति जस्तै भएको छ। नेपाल बहुजातीय देश भएकोले पनि यहाँ आआफ्नो जातीय परम्परा अनुसारको धर्म मान्ने चलन रहेको र एक धर्मले अर्को धर्मलाई सम्मान गर्नु नै यहाँको विशेषता हो । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म अनि उत्तरको हिमालदेखि दक्षिणको तराईसम्म फैलिएको नेपालीको हरेक ठाउँमा विभिन्न जातका र विभिन्न संस्कृतिका मानिसहरूको बसोबास रहेको छ । एउटै गाउँमा वा एउटै ठाउँमा बसेका विभिन्न जातका मानिसले अनुसरण गरेको जुनसुकै धर्म भए पनि उनीहरू बीच लेनदेन, ऐँचोपैँचो आदि सबैमा उत्तिकै सहभागिता हुनु जरुरी छ । एउटा धर्म मान्ने मानिसको घरमा गई उसको सहयोग गर्नमा अर्को धर्म मान्ने मान्छे कति पनि पछि हटेको हुँदैन । नेपालमा अझ कति घरमा त एक परिवारिक सदस्य नै फरकफरक धर्म मान्ने पनि भएको र एक अर्कामा सहनशील र सहयोगी भएको पाइन्छ नै । वर्षभरिमा विविध प्रकारका चाडपर्व, धार्मिक उत्सव साथै धेरै किसिमको मेला हुन्छन् जसमा एकले अर्काको सम्मान गर्ने र शुभकामना दिने सद्भाव राखने गर्दछन् । हिन्दु धर्म मान्ने मानिसले बुद्ध पूर्णिमा, इद, क्रिसमस डे आदिमा शुभकामना आदनप्रदान गर्ने गर्छन् भने बौद्ध, इस्लाम तथा इसाई धर्म मान्ने मानिसले पनि एक अर्काको धार्मिक चाडपर्वहरूमा शुभकामना आदानप्रदान गर्ने तथा धार्मिक सांस्कृतिक कार्यमा सहभागी हुने गर्दछन्।   

त्यसै कारण हामीले संस्कृति र धर्म एक अर्काका पूरक भएको हुँदा धार्मिक रूपले सदभाव कायम गरी हाम्रो विशेष पहिचानलाई अझै उचाइमा पुराउनु पर्छ। त्यसैगरी समाजमा अपसमा धार्मिक सहिष्णुता र सदभावको विकास हुनुपर्छ भन्ने मान्यता सधैँ सधैँ रहिरहनु पर्छ। यो संसारमा धर्मलाई पेसा बनाउनेहरू अनेक भ्रम छरेर समाजमा अन्धविश्वासको जालो फिजाई रहने काम गर्दछन् तर हाम्रो विश्वाश सधैँ धर्मले मनहरू तोड्ने काम होइन सबैको मनहरूलाई एक आपसमा जोड्ने काम गर्दछ भन्ने कुरामा सीमित हुनुपर्दछ ।