Logo

Student Corner

चलचित्र समीक्षाः ‘आदिकवि भानुभक्त'

Written by: Muskan Singh - 2023005, Grade IX

Posted on: 17 September, 2020

नेपाली चलचित्र, ‘आदिकवि भानुभक्त’ एक ऐतिहासिक चलचित्र हो। यो चलचित्र नेपाली साहित्यका प्राथमिक कालका प्रतिनिधि कवि भानुभक्त आचार्यको जीवन गाथाको बारेमा रहेको छ । यस चलचित्रले भानुभक्तका जीवनमा घटेका हरेक घटनालाई प्रस्ट रूपमा देखाएको छ। यस चलचित्रमा भानुभक्तले कसरी आफ्ना कृतिहरूद्वारा आफ्नो नाम सदाका लागि  नेपाली साहित्यमा अमर राखेका थिए भन्ने कुरा देखाइएको छ । संस्कृत भाषामा लेखिएको अध्यात्म रामायणमा छन्दगत विविधता भेटिए पनि अनुष्टुप छन्दकाे बाहुल्य छ तर आदिकविले आफ्नो रामायणमा शिखरिणी, मन्दाक्रान्ता, वंशस्थ, मालिनी, स्रग्धरा जस्ता १३ वटा शास्त्रीय छन्दको अनुपम उदाहरण प्रस्तुत गर्ने यात्रामा कसरी उनी सफल भए भन्ने कुराकाे पनि विवरण प्रस्तुत गरिएको छ ।

कथाको सुरुवात भानुभक्त्तको घर रम्घाबाट भएको थियो । यो दिन श्रीपञ्चमी थियो । भानुभक्त र उनका हजुरबुवा र आमा सरस्वती माताको पूजा गर्दै थिए । सानै उमेरदेखि भानुभक्तका लागि उनका हजुरबुवाले उनलाई लेखाइ र पढाइतर्फ आकर्षित गरेका थिए । उनका हजुरबुवाले उनलाई धेरै किताबहरू पढ्नका लागि दिएका थिए । उनले अक्षर र विभिन्न शब्दहरूको ज्ञान आफ्ना हजुरबुवाबाट नै प्राप्त गरेका थिए । भानुभक्तका बुवा धनञ्जय आचार्य खरिदार थिए । उनी राजाकहाँ काम गर्थे । भानुभक्तले पढेको पहिलो पुस्तक अमरकोश थियो, जसबाट उनले श्लोकको ज्ञान आर्जन गरे । भानुभक्तको यस्तो लगनशीलता र मेहेनत ज्ञान आर्जन गर्नेतर्फ देखेर सरस्वती माताले उनलाई  दर्शन दिएकी थिइन् । भानुभक्तले सानै उमेरमा कविता रचना र श्लोक रचनाको ज्ञान पनि प्राप्त गरिसकेका थिए । उनीसँग आफ्नो वरिपरि रहेका हरेक वस्तुबाट श्लोक बनाउन सक्ने क्षमता थियो । किशोर अवस्थामा नै उनी ठुलाहरूभन्दा राम्ररी श्लोक रचना गर्न सक्ने भएका थिए । भानुभक्तले आफ्नो पहिलो कविताको रचना गणेश चतुर्थी र गणेश पूजासँग सम्बन्धित विषयमा गरेका थिए । उनको व्रतबन्धपछि उनले कालिदासद्वारा लिखित रघुवंश किताब पढेर कविता लेखनको बारेमा अझै ज्ञान प्राप्त गरे। भानुभक्त ज्योतिषशास्त्र पढ्नका लागि कास्कीको गुरुकुलमा गएका थिए । त्यहाँ उनले ज्योतिषशास्त्रको बारेमा प्रशस्त ज्ञान आर्जन गरे। 

भानुभक्त युवा अवस्थामा हुदाँ उनी विभिन्न गुरुकुलहरूमा गएर वेदहरूको र पुराणहरूको बारेमा ज्ञान आर्जन गर्थे । उनले थोरै समयमा ज्ञान आर्जन गरेर मन्दिरहरूमा गएर अरू व्यक्तिहरूलाई पनि वेद र पुराण सुनाउने गर्थे । उनी कवितामार्फत् आफ्ना भावनाहरूलाई व्यक्त गर्ने गर्थे । एक दिन उनी एउटा घाँस काट्ने व्यक्तिकाे फेला परेका थिए । त्यो व्यक्तिले उनलाई ज्ञान दियो कि कुनै पनि मानिसले आफ्नो जीवनमा सफलता पाउनका लागि यस्तो कुनै काम गर्नुपर्छ जसले गर्दा ‍‍‌ऊ सदाका लागि अमर होस् ।  उसले उनलाई भन्यो कि उनले पढेका विभिन्न वेदहरू र पुराणहरूलाई आफ्नै भाषामा लेख्यो भने संस्कृत नजानेका व्यक्तिहरूले पनि वेद र पुराणबाट ज्ञान प्राप्त गर्न सक्छन् । त्यसले गर्दा उनको  कृति सबैतिर प्रख्यात हुन्छ । त्यो मान्छेको कुरा सुनेर उनी रामायणलाई नेपाली भाषामा लेख्नका लागि प्रेरित भएका थिए । उनले रामायणको बालकाण्ड नेपाली भाषामा लेखेर सिध्याए, तर त्यसपछि उनलाई अरू लेख्नमा असाध्यै गाह्रो भइरहेको थियो । केही दिनपछि उनले थाहा पाए उनका बुवाको पैसासँग सम्बन्धित केही समस्या रहेका छन् । त्यसैले उनलाई छिट्टै अड्डामा गएर हाजिरी दिनुपर्छ । तर त्यहाँ जानुभन्दा पहिला उनले जर्साब कृष्णबहादुरकहाँ गएर सहयोग मागे । जर्साब कृष्णबहादुरले उनलाई कुमारी चाेक गएर आफ्ना बुवाको पैसासँग सम्बन्धित सबै कुरालाई सुल्झाउनका लागि उपदेश दिए । उनले त्यस्तै गरे तर दुर्भाग्यवश उनले आफ्ना बुबाको खातासँग सम्बन्धित केही गल्ती गरे । त्यसैकारणले गर्दा उनलाई बन्दी बनाइयो । तर उनले आफ्नो हिम्मत हारेनन् । धर्मदत्तले  उनलाई आएर किताब र कलम दिए र रामायणका अरू भागहरूलाई पनि लेख्नका लागि उत्प्रेरित गरे । त्यसपछि उनले रामायणको आर्यकाण्ड लेख्न सुरु गरे । 

त्यहाँ रहेका सिपाहीहरूले पनि उनले लेखेका रामायणको सार सुन्थे । बिस्तारै बिस्तारै केही महिनाको अन्तरालमा उनले अरण्याकाण्ड, किष्किन्धाकाण्ड, सुन्दरकाण्ड लेखेर समाप्त गरे। केही दिनपछि उनको छोराको व्रतबन्ध गर्ने बेला आएको थियो, त्यसैले उनले जर्साब कृष्णबहादुरसँग बिन्ती गरेर कैदबाट बाहिर निस्किए । आफ्नो छोराको व्रतबन्ध भइसकेपछि, कुमारी चाेक आएर त्यही बसेर युद्धकाण्ड र अरू भागहरू लेख्दै गए । उनले रामायण लेखेर सिध्याएपछि र धेरै मेहेनत र परिश्रमपछि कैदबाट निस्के । उनलाई केही कारणवश पैसा चाहियाे, त्यसैले धर्मदत्तले उनलाई सुझाव दिए कि उनले एउटा नयाँ पुस्तक लेख्नुपर्यो । उनी रम्घा फिर्ता गएर नेपालीमा गीता लेख्न थाले, तर दुर्भाग्यवश उनी सारै बिरामी परे । केही दिनमा उनले आफ्नो रचना त सिध्याए तर उनको स्वास्थ्यको खराबीले गर्दा उनकाे स्वर्गवास भयाे । उनले अवश्य नै हामीलाई छोडेर गए तर उनका कृतिले गर्दा अहिले पनि उनी जीवित छन् ।

१९५ वर्ष पहिला उदाएका नेपाली वाङ्मयका ज्योति भानुभक्त आचार्य राणाकालीन सङ्कटपूर्ण अवस्थामा रामको आदर्शलाई आफ्नो मातृभाषामा लेखेर सबैको मार्गदर्शक बनेका थिए । यस चलचित्रमा देखाइएको रामायणको बालकाण्डको कवितांश मलाई असाध्यै मन परेको थियो । भानुभक्तको कविता तल प्रस्तुत गरिएको छः

एक् दिन् नारद सत्य लोक् पुगिगया लोक्को गरूँहित् भनी । 

ब्रम्ह्ना ताहिँ थिया पर्या चरणमा खुसी गराया पनी।। 

क्या सोध्छौ तिमी सोध भन्छु म भनी मर्जी भयेथ्यो जसै । 

ब्रम्ह्नाको करुणा बुझेर ऋषिले बिन्ती गर्या यो तसै ।। 

हे ब्रम्ह्ना ! जति हुन्  शुभाशुभ सबै सुनी रह्याछु कछु ।

बाँकी  छैन तथापि सुन्न अहिले  इच्छा म यो गर्दछु ।।