Logo

Student Corner

सुन्दरता

Written by: Sunabi Pokharel - 2024024, Grade VII

Posted on: 17 September, 2020

मानिसमा भएको आत्मविश्वासलाई सुन्दरता भनिन्छ । संसारका धेरै मानिसहरूले सुन्दरतालाई शारीरिक रूपमा हेर्छन् तर यो धारणा बिल्कुल गलत हो । सुन्दरता भन्ने कुरा व्यवहारमा निहित हुन्छ शरीरमा हाेइन । सुन्दरताको बारेमा एउटा भनाइ छ सुन्दरता हेराइमा भर पर्छ । यो भनाइले चित्रण गर्न खोजेको कुरा यो हो कि सुन्दरतामा कुनै नियम हुँदैन । एक व्यक्तिका लागि कोही ग्रहमा सबैभन्दा सुन्दर व्यक्ति हुन सक्छ भने अरू कसैका लागि त्यो व्यक्ति धेरै साधारण हुन सक्छ । त्यसैले सुन्दरतामा कुनै नियम हुँदैन र यो मान्छेको धारणामा फरक पर्छ । 

सुन्दरता व्यक्तिकाे साेँच र हेराइमा भर पर्ने कुरा हाे । उदाहरणका लागि अफ्रिकामा लामो घाँटीलाई एक आकर्षणकाे रूपमा लिइन्छ । चिनमा साँघुरो खुट्टालाई सुन्दरताको विशाल प्रतीकको रूपमा लिइन्छ । अमेरिकामा पुरुषहरूलाई प्रायः जसो पातलो र कम्मर सानो भएकी महिला मन पर्छ जबकि घाना मुलुकमा पुरुषहरूलाई प्रायः मोटो र भद्दा जिउ भएकी महिला मन पर्छ । यसले बाहिरी सुन्दरता व्यक्तिको धारणामा निर्भर गर्दछ भनेर प्रमाणित गर्छ । सुन्दरताका दुई प्रकारहरु छन्; भित्री सुन्दरता र बाहिरी सुन्दरता । एक व्यक्तिको बाहिरी सुन्दरता मूलतः शारीरिक उपस्थिति, शरीरको आकार, अनुहारको विशेषता र उचाइमा केन्द्रित हुन्छ । यी सबै सर्तहरू मूल रूपमा एक व्यक्तिको बाहिरी सुन्दरताका कोटी अन्तर्गत पर्दछन् । एक व्यक्तिलाई बाहिरी सुन्दरताको आधारमा आँक्नुहुँदैन  तर बितेका वर्षहरूमा अमेरिकामा बाहिरी सुन्दरतामा विभेद धेरै थियो। अमेरिकामा काला मानिसहरू थिए र अमेरिकामा कालो रङ भएका मानिस कुरूप हुन् भन्ने धारणा थियो । तिनीहरूलाई भेदभाव गरिन्थ्यो र समान व्यवहार गरिँदैनथ्यो । अमेरिकाका गोराहरूले उनीहरुलाई निम्न स्तरको व्यवहार गर्थे । गोरालाई सम्मानजनक सङ्गठनमा काम गर्ने अधिकार दिइएको थियो भने कालाहरूलाई कतै पनि जागिर दिइँदैनथ्यो वा नोकरहरू बनाइन्थ्यो । गोरा मान्छेले तिनीहरूलाई निकृष्ट मान्थे किनकि उनीहरूले काला मानिसहरूलाई कुरूप भेट्टाए । अहिलेको समयमा मानिस बाहिरी सुन्दरतामा बढी सचेत हुन थालेको छ । बाहिरी सुन्दरतासँग सम्बन्धित प्रविधिकाे ठूलो प्रचारप्रसार र प्रयोग भएको छ । अमेरिका र अन्य धेरै देशका मानिसहरूले सुन्दरतासम्बन्धी विभिन्न शल्यक्रिया गर्न थालेका छन् । सबैभन्दा व्यापक रूपमा चिनिने सर्जरीहरूमध्ये एक प्लास्टिक सर्जरी हो ।   केवल सुन्दर  देखिन मानिसहरूले आफ्नो ओठ बढाउन वा नाक घटाउनका लागि अरबौं डलर खर्च गर्न सुरु गरेका छन् । यस प्रवृत्तिले यो देखाउँछ भने बितेको वर्षहरूसँगै देशविदेशमा भित्री सुन्दरताको सट्टा बाहिरी सुन्दरतालाई बढी महत्त्व दिइरहेको छ तर ती मानिसहरूलाई कसले सिकाउँछ सुन्दरता हृदयबाट आउछ मुहार र शरीरबाट हाेइन । बजारमा नयाँ प्रविधि आइरहेको छ जसले मानिसहरूको अनुहारलाई राम्रो बनाउँछ । यस्ता प्रविधिहरूमध्ये बोटक्स धेरै लोकप्रिय प्रविधि हो । बोटक्स एक यस्तो औषधि हो जुन अनुहारबाट चाउरी हटाउनको लागि एकदम थोरै मात्रामा प्रयोग गरिन्छ । हामीले त्यो औसधि प्रयोग गरेर चाउरी त हटाऔँला तर त्यसले छालामा गरेको असरलाई के गरी हटाउने ? मानिसहरू मेकअप प्रयोग गरेर जवान देखिन चाहन्छन् तर उनीहरू त्यस्ता उत्पादनहरू प्रयोग गरेर आफ्नो आयु कम गर्दैछन् । हरेक मान्छेले यो कुरा थाहा पाउनु पर्छ मेकअपले हाम्रो अनुहारलाई छिटो बुढो पार्छ ।  

अब भित्री सुन्दरताकाे कुरा गराैँ ? भित्री सुन्दरता मानिसको व्यक्तित्व हो । बाहिरी सुन्दरता भगवानद्वारा उपहार स्वरूप दिइएको हो त्यसैले बाहिरी सुन्दरताको कारण एक व्यक्तिलाई हेप्नु भनेको परमेश्वरको सृष्टिलाई हेप्नुजस्तै हो । हामीले मानिसको व्यक्तित्वको आधारमा मात्र आँक्नुपर्छ । एक व्यक्तिले आफैँ निर्णय गर्छ कि ऊ कस्तो बन्न चाहन्छ । ऊ मिलनसार, इमानदार, नम्र र राम्रो व्यवहार भएको मानिस बन्न चाहन्छ कि घमन्डी, असभ्य र दुर्व्यवहारयुक्त हुन चाहन्छ ? मानिसहरू कसरी आफूलाई परिवर्तन गर्न चाहन्छन् भन्ने कुरा उनीहरूमा निर्भर हुन्छ। भित्री सुन्दरता यस्तो चीज हो जुन आजको प्रविधि प्रयोग गरेर परिमार्जन गर्न सकिँदैन तर यो त्यस्तो चिज हो जुन सबैले देख्न सक्छ र त्यसकाे आधारमा आँक्न सक्छ । एक व्यक्तिको भित्री सुन्दरताले सोही व्यक्तिको आचरण र वास्तविकता देखाउँछ । जो बाहिरबाट अत्यन्त सुन्दर देखिन्छ त्यो व्यक्ति धेरै दयालु मनको छ र धेरै ज्ञानी छ भन्ने कुरा दर्साउँदैन । त्यस्तै, कुनै व्यक्तिको शरीर र अनुहार धेरै आकर्षक छैन भने त्यो व्यक्ति खराब आचरणको छ भन्ने कुरा पनि दर्साउँदैन । 

भित्री सुन्दरताले मानिस कति सुन्दर छ भन्ने कुरा प्रमाणित गर्छ न कि बाहिरी सुन्दरताले । राम्रो स्वभाव र दयालु हृदय भएका व्यक्ति सुन्दर व्यक्ति हुन् । यदि कुनै मानिसले कसैलाई उसको रङ वा शरीरको आधारमा हेप्छ भने त्यस व्यक्तिलाई सजाय दिनुपर्छ किनभने त्यो भेदभावको एक रूप हो ।