Written by: Pranish Khanal - 24080, Grade XII
Posted on: 15 February, 2024
काखमा नागबेली लहराएकी
छातीमा छहरा सजाएकी
अनि
शिरमा हिराकाे ताज पहिरेकी विश्व सुन्दरी हुन् मेरी आमा
तर अहिले
मेरी आमा झुत्री भइन्
गरिब भइन्
जिङ्ग्रिङ्ग भइन्
त्यसैले त म उनको पहिचान लुकाउँछु
साइनो बदल्छु,
उस्तै परे नयाँ आमा नै खडा गर्छु
तपाईंहरू छक्क पर्दै सोचिरहनु भएको होला
के आमा पनि फेर्न सकिन्छ र ?
वास्तविकतामा यस्तै भइरहेको छ यहाँ
यहाँ त
धमाधम आमा फेरिँदै छ
नेपाल आमालाई लत्याईँदै छ
अनि
अँगालिदै छ
अमेरिका, क्यानाडा अस्ट्रेलिया र यस्तै यस्तै अनगिन्ती नक्कली आमाहरू
नेपाल आमालाई लत्याइँदैछ
केही कुसन्तानका कुकर्मले पिरोलेको छ नेपाल आमालाई
ऐया ! ऐया ! भन्न बाध्य बनाएको छ
यद्यपि यस्तो घडीमा आमालाई अँगाल्न नसक्ने
धिक्कार छ आजको पिडीलाई
धिक्कार छ यस्तो आधुनिकतालाई
तर अब उठौँ, जागौँ
टल्किने हिराकाे झल्झलाकार घुम्टाेले
ढाकेर,
सञ्जीवनीकाे अत्तर छर्किदै
संस्कृतिकाे बिगुल फुक्दै
र यी हाम्रा परिश्रमी हात र कर्मठ मनले भनाैँ
जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी ।