Written by: Himani Bhattarai - 2023017, Grade IX
Posted on: 09 September, 2020
हिन्दू धार्मिक ग्रन्थ अनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान् विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरेपछि आफूले मन पराएको वर पाउन जङ्गल गएर शिवजीकाे तपस्या गर्न थालिन्। पार्वतीले तपस्या गरेको एक सय वर्ष पूरा भइसक्दा पनि आफूले गरेको तपस्याको फल नपाउँदा एक दिन उनले शिवलिङ्गको स्थापना गरी पानी पनि नपिईकन निराहार व्रत बसिन्। यसरी पार्वतीको कठोर व्रतको कारण शिवजी प्रकट भई 'चिताएको कुरा पुगोस्' भनी आशीर्वाद दिएपछि शिव पार्वतीको विवाह हुन पुग्यो। त्यो दिन भाद्र शुक्ल तृतीयाको दिन थियो। सोही तिथिदेखि हिन्दू नारीहरूले यस दिनलाई उत्सवका रूपमा मनाउन थाले र यो तीजको रूपमा मनाउने चलन पौराणिक कालदेखि चल्दै आएको मानिन्छ।
तीज नारीहरूले मनाउने एक महान् चाड हो । नेपाली हिन्दू नारीहरूको आदर्श र धर्मप्रतिको आस्था प्रस्तुत गर्ने तीज पर्वको निकै ठूलो महत्त्व छ । नेपाली नारीहरू आफ्नो श्रीमान्को सुस्वास्थ्य र लामो आयुको लागी व्रत बस्ने गर्छन्। तीजको व्रत बस्ने दिनभन्दा एक दिन अगाडि तीजको अगिल्लो दिन रातीसम्म बसेर नारीहरू मीठा मीठा खानेकुराहरू खाने गर्छन् । त्यस दिनलाई दर खाने दिन भनिन्छ।भोलिपल्ट तीजको व्रत बस्ने गर्दछन् र भव्य रूपमा नाचगान गर्दछन।
तीज पर्वलाई हरितालिका पनि भनिन्छ।तीजको पर्व शिवजीलाई प्रसन्न पारी आफ्नो इच्छा पूरा गर्ने उद्देश्यले मनाईन्छ । जसरी पार्वतीले कठोर तपस्या गरेर शिवजीको दर्शन प्राप्त गरी आफूले इच्छा पूरा गरिन् त्यसै परम्पराको रूपमा कन्याकेटीहरू र सामान्यतया सौभाग्यको चाहाना गर्ने तथा सधवा महिलाहरूले आफ्नो मनको पवित्र प्रेमभावनालाई मूर्तरूप दिन यो पर्व हार्दिकतापूर्वक मनाउँछन् । तीजको बेला विवाहित महिलाहरू माइती घरमा गएर नाचगान गरी सुखदुख साट्छन् ।
तीज पौराणिक महत्त्वको पर्व भए पनि यसकाेआफ्नै साँस्कृतिक र सामाजिक विशेषता पनि छन् । तीज हिन्दूधर्मावलम्वीको पर्व भए पनि नेपाल भरी यसलाई धुमधामसाथ मनाइन्छ।