Logo

Student Corner

दैनिकी खेलकुद सप्ताहको अन्तिम दिन

Written by: Subigya Raj Kharel - 29065, Grade VII

Posted on: 05 December, 2023

२०८० कार्तिक २४ गते शुक्रबार


 

आज खेलकुद सप्ताहको अन्तिम दिन म निकै उत्साहित हुँदै बिहान समयमै उठेँ किनभने आज हाम्रो एक हप्ताभरिको खेलहरूमा विजेता हुनेहरूलाई पुरस्कार दिइँदै थियो । मैले ब्याडमिन्टन खेलमा सहभागी भए पनि अन्तिम चरणसम्म पुग्न सकेको थिइनँ तर पनि मेरा केही साथीहरू भने विभिन्न खेलकुदमा प्रथम भएका थिए । म एक असल साथीको नाताले उनीहरूको लागि खुसी थिएँ । यो सोच्दासोच्दै साँढे सात बजिसकेछ । मैले छिटो नित्यकर्म सकेर तल बैठक कोठातिर ओर्लेँ । त्यहाँ सबैजना चिया पिउँदै तिहार कसरी मनाउने भन्ने विषयमा कुराकानी गरिरहनुभएको थियो। मलाई तिहार चाड एकदमै मनपर्छ।सायद होलीपछिको मेरो यो मनपर्ने दोस्रो चाड होला। मैले हाम्रो सदनमा पनि आजै झिलिमिली बत्ती राख्न आफ्नो परिवारसामु अनुरोध गरेँ। मेरा हजुरबुबाले हुन्छ भनेपछि म फुरुङ्ग भएँ । घडी हेर्दा पो थाहा पाएँ, मलाई त अबेर भइसकेछ । छिटो छिटो बिहानको नास्ता गरेर लुगा फेरी म मामुसँग विद्यालय गएँ । पुस्तकहरू लैजान नपरेको भएर मेरो झोला अरू बेलाको भन्दा निकै हलुको भएको मैले महसुस गरेँ। 


 

 विद्यालय पुगेपछि हाम्रो सर्कल टाइम भयो र त्यसपछी केटाहरू र केटीहरू पालैपालो लाइन बनाएर बसमा चढ्यौँ । बसमा हाम्रो साथी संस्कारले सबैलाई अझै उत्साहित पार्न गीत बजाइरहेको थियो । बसमा हामी सबै जना गीत सुन्दै र रमाइलो कुरा गर्दै गयौँ । हामीलाई हिजो बास्केटबलका लागि धुम्बाराहीको सूर्य फुटसलमा र फुटसलका लागि भने धन्वन्तरी  फुटसल लगिएको थियो तर आज भने दुवै खेलका बाँकी चरणहरूका लागि सूर्य फुटसलमा नै लगियो। हामी करिब साँढे नौ बजे विद्यालयबाट निस्केर दश बजेतिर धुम्बाराही पुग्यौँ । अन्तिम दिनका खेलहरू निकै नै प्रतिस्पर्धी र रोमाञ्चक थिए । खेल हेर्दाहेर्दै घडीले एघार बजाइसकेछ। मलाई कता कता भोक लागेजस्तो भयो। त्यति नै खेर हामीलाई बस भएतिर आउने सङ्केत गरियो । हामी लाइन लागेर बस चढ्यौँ । विद्यालय पुगेपछि हामी सिधैँ क्यान्टिनतिर लाग्यौँ । सबै साथीहरू मिलेर खाना खायौँ । आजको खाना अलि विशेष थियो कि ? साह्रै मिठो लाग्यो । सायद भोक धेरै लागेकोले पो हो कि ? खाना खाएपछि कक्षाकोठामा गई एकछिन कुराकानी गर्‍याैँ र फेरि अघिकै खेलहरू भएको स्थानमा गयौँ । करिब एक डेढ घण्टापछि खेलहरू सकिए । त्यसपछि हामी फेरि विद्यालय फर्क्यौँ। विद्यालय पुगेपछि विभिन्न समूहका खेलहरूमा जित्ने खेलाडीहरूलाई प्रमाणपत्र तथा पदक वितरण गरियो । मैले आफ्ना साथीहरूले पदक पाउँदा निकै खुसी भएर ताली बजाएँ । 


 

आजको कार्यक्रम लामो भएकोले थकाई त लागेको थियो तर भोलिदेखि तिहारको छुट्टी हुने  भएकोले हामी खुसी पनि थियौँ । मलाई बुबाले लिन आउनुभयो। बुबासँग सदन पुग्दा सदनमा झिलीमिली बत्ती हालिसकिएको थियो। म कहिले साँझ पर्छ र बत्ती बालुँला भनि हतारिएको थिएँ । हातमुख धोएर खाजा खाएपछि मैले आमालाई आज दिनभरिको कुराहरू सुनाएँ । त्यत्तिकैमा साँझ पनि पर्‍याे । हामीले झिलीमिली बत्ति बालेर तिहारको स्वागत गर्‍याैँ । बेलुकाको खाना खाएर दैनिकी लेख्न बसेँ। ओहो दैनिकी पनि निकै लामो भइसकेछ। अब सुत्छु।