Written by: Anushree Acharya - 28002, Grade VIII
Posted on: 28 November, 2023
मेरो आँगनमा फुलेको
मखमली फूलको हाँसो
शिशिरको रुखो हावाले
उडाएर लगेपछि
कक्रक्क परेको एउटा बूढो रूखझैँ
कलेटी परेका ओठ लिएर
बुबाका फाटेका ती इष्टकोट
र दश ठाउँ सिलाइएको पाइन्ट
लगाएर एउटा छोटो आयु बाँचिरहेछ
शिशिर अनि मेरो मखमली फूल ।
चैत्रमासको हुर्हुरे बतास
आँखाले हेर्दा पारिपट्टि देखिने
भीर पाखामा लागेको डढेलो
डढेलोले खाएको चराको गुण
रोएका बचराहरू
पानीको प्यास मेटाउन
तल खोलाको तिर्तिरे धारामा
बतासिएर पुग्दा
वसन्तका पालुवा पलाउँदै थिए
आँगनका मखमलीमा
आँकुरा पलाउँदै थिए
बा को फाटेको पाइन्ट फेरिएको थियो
धमिलो खोलाको पानी
कलकल र सङ्ग्लाे बनाउन
वसन्तको आगमन भएजस्तै
मान्छेको जीवनमा
डढेलोपछि पनि वसन्त आउँछ ।
शिशिरमा त्रासले काँपिरहेको फूलझैँ
हिउँदमा फुटेका आमाका हात
र आँसु सकिएका आँखा
कहाँ छ भित्री आखाको ज्योति ?
विदेश पलायन भएको छोरो
कहिले फर्केला भन्ने एक त्यान्द्रो आशामा
दाइको फोटो अङ्गालेर बसेकी बहिनीलाई
वसन्तले ढोका ढकढक्याउँदा
बिस्तारै, टकटक पाइला चाल्दै आउँदा
सूर्यमूखीको उज्यालो अनुहार
र चराको चिरबिर आवाज
स्वागतका लागि ओछ्याइएका फूलहरू
आशाको ज्योतिमा धपक्क चम्किन्थे
धमिलो खोलाको पानी
सङ्ग्लो बनाउन
र कलकल बगाउन
आएको थियो ऊ
शिशिरको शुष्क हावालाई काट्दै
र त्यसको कठोरतालाई टाढा भगाउँदै आएको
डढेलो पछिको वसन्त