Logo

Student Corner

भानुभक्त आचार्य

Written by: Pratyush Lohani - 31019, Grade V

Posted on: 21 November, 2023

वि.सं. १८७१ आषाढ २९ गतेका दिन नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्म भएको हो। उनका पिताको नाम धनञ्जय आचार्य र माता धर्मावतीदेवी हो । पिता धनञ्जय जागिरे हुँदा भानुभक्तको हेरचाह बाजे श्रीकृष्ण आचार्यबाट भएको थियो । दस बर्षको उमेरमा भानुभक्तको विवाह चन्द्रकान्तादेवीका साथ भएको थियो । विवाह भएको केही महिनापछि चन्द्रकान्ताको मृत्यु भयो । लगत्तै उनको दोश्रो विवाह एघार वर्षको उमेरमा तनहुँ जिल्लाको मानुङ्ग गाउँकी चन्द्रकलादेवीसँग भयो ।

पछि उनै भानुभक्त नेपाली साहित्यमा आदिकविका नामले परिचित छन् । उनको अथक प्रयासले संस्कृतमा लेखिएको रामायण नेपाली भाषामा अनुवाद भयो । पछि युवाकवि मोतिराम भट्टले भानुभक्तले नेपालीमा अनुवाद गरेको रामायणलाई प्रकाशन गराए । यसपछि भने नेपालीमा लेखिएको रामायणलाई हरेकजसो नेपालीले लय हाली हाली कण्ठ पार्न थाले । धेरैका घरघरमा रामायण पुग्यो । भानुभक्तले यति मात्र गरेनन्, उनको समयमा नेपाली साहित्यले थप उर्जा प्राप्त गर्यो । उनका चर्चित रचनाहरूमा प्रश्नोत्तर, बधूशिक्षा, भक्तमाला जस्ता लघुकाव्य र रामायण महाकाव्य मुख्य छन् । यसरी नेपाली साहित्यका पुराना कवि भएकाले उनलाई आदिकवि भनिएको हो । उनको जीवनीसँग धेरै रोचक प्रसङ्गहरू जोडिएका छन् । एकपटक उनले एउटा घाँसीसँग भेटेका थिए । घाँसीले दिनभरि घाँस काटेको देखेपछि भानुभक्तले सोधे, ‘ घाँसी तिमी यो घाँसले के गर्छौ ?’  जवाफमा घाँसीले आफूले काटेको घाँस बेचेर नजिकै एउटा कुवा खनाएको बतायो । घाँसी आफैं गरिब थियो,  तैपनि उसको समाजसेवा आफैंमा उदाहरणीय पनि थियो । घाँसीले घाँसदाउरा गरेर आर्जन गरेको रकमले कुवा खनाएको जानकारी भानुभक्तलाई दिए । घाँसीको कुराले भानुभक्तको मन छोयो  अनि उनले कविता लेखे । अहिले पनि तनहुँमा घाँसीकुवा रहेको छ । उनी मरेर गएपनि नेपाली साहित्यलाई अतुलनीय योगदान दिएर गएका छन् । उनको प्रेरणादायी जीवनीबाट हरेक नेपालीले धेरै कुरा सिक्न सकिने छ । यस्ता महान् व्यक्तिको वि.सं. १९२५ आश्विन शुक्ल पञ्चमीका दिन  ५४  बर्षको उमेरमा निधन  भयो ।