Logo

Student Corner

पाेल्टाभित्र डिही कविता सङ्ग्रहभित्रकाे अन्तर्य

Written by: Anushka Basnet - 24011, Grade XII

Posted on: 30 October, 2023

पेशलकुमार लुइँटेल साहित्यको संसारमा नौला अनुहार भए तापनि उनको छन्द कविता सङ्ग्रह ‘पोल्टभित्र डिही’ का कविताहरूले मेरा भने मन खाए ।  सङ्ग्रहमा भएका विभिन्न ८३ वटा कविताहरूको छन्द अलि भिन्न भिन्नै छ ।  शार्दूलविक्रीडित, मन्दाक्रान्ता, शिखरिणी, वसन्ततिलका, तोटक, भुजङ्गप्रयात, मालिनी, स्रग्धरा, पञ्चचामर, स्रग्विणी, उपजाति, अनुष्टुप, इन्दिरा, विधाता छन्द, दिक्पाल, र विध्युन्माला गरेर १६ वटा जति विभिन्न छन्दहरूको प्रयोगले संग्रहका कविताहरू रचित छन् ।  यी सबै छन्दहरू मध्ये शार्दूलविक्रीडित छन्दको प्रयोग ३३ चोटि भएका छन् । सबैभन्दा धेरै कविताहरू पनि यही छन्दमा रचिएका छन् ।  पेशाले वकिल भए पनि साहित्यको मैदानमा कविको यो खेल निकै राम्रो थियो ।  सङ्ग्रहका हरेक कविताको आफ्नो आफ्नै छुट्टै कथा छ।  कतिले देशप्रेम, प्रकृतिप्रेम झल्काउछन् भने कतिले प्रेम मात्र ।  

जस्ताे किः

चिसा चुला छन् घरमा बसेका 

बेसार वा तेलसंगै फसेका 

जिरा जुटाए तर ग्यास रित्तो 

गिज्याउने गर्छ सदैव भित्तो’ 


 

उपजाति छन्दमा लेखिएको ‘अभाव’ नामक कविता मलाई असाध्यै मन पर्यो ।  जीवनमा केही कुराको अभाव बिना बच्ने रहर त सबैको हुन्छ तर पुरा भने केहीको मात्र हुने गर्दछ।  कतिको त एक छाक टार्न गारो पर्छ।  एउटा समान जुटाए अर्को रित्तो हुने यो गोल्चाक्रमा बच्न कसैलाई मन लाग्दैन तर बाध्यताबस यसरी नै कति मानिसको जीवन चल्ने गर्छ ।  यही कुरा कविले ‘अभाव’  कवितामा लेखेका हुन् ।  

शब्दहरूलाई तालबद्ध मात्र गरेर कविता बन्ने हैन रहेछ।  भावना युक्त लेखिएमा मात्र कविताको सुवासले अरुलाई पनि मग्न पर्दो रहेछ। 

दिक्पाल छन्दमा लेखिएको ‘तिम्रो मुहार’ भन्ने कविता माथिको कविता भन्दा निकै भिन्न छ।  यस कवितामा कविले आफ्नो प्रेमीको बारेमा लेखेका छन् ।  मुहार हेर्ने धोको पुगेन भन्दै लुइँटेलले कविता सुरु गरेका छन् । कविताको तेश्रो हरफ भने मलाई सारै मन पर्यो ।

जस्ताे किः

पानीबिना म तिर्खा खै के गरी खपौंला

छाडेर साथ तिम्रो खै के गरी बाचौंला 

छोएर भन्छु आत्मा हौ एक मूलडुंगा 

हुन्नन् कि हेर कैल्यै गंगा कतै हलुङ्ग्गा।’ 


 

सानो उमेरदेखि नै गुरुको सम्मान गर्नुपर्छ भनेर सिक्दै आएका छाैँ हामी। यही गुरु सम्मानको कथालाई नै कविताका रुपमा कविले सङ्ग्रह नै ‘गुरु’ कविता बाट सुरु गरेका छन् । महाभारत, पुराण जस्ता पवित्र हिन्दु किताबहरूमा पनि गुरुको सम्मान गर्नुपर्ने र गुरु शिष्यको अमूल्य सम्बन्ध झल्काइएको छ ।  आफूलाई शिक्षा दिने मानिसको सम्मान हरेकले गर्नुपर्छ र यही सन्देश लै कविताको स्वरुपमा लेखेर कविले सङ्ग्रहको सुरु गरेका छन् ।  आफूलाइ पढाएको गुरुको सम्मान गरेर आफ्नो पनि नैतिकता बढ्छ।  आफ़ैलै पनि भलो गर्ने अरुको पनि भलो हुने जस्तो पवित्र काम गर्नु राम्रो हो ।  अर्को हरफमा कवि ले अझै गहिरो स्तरमा गुरु प्रतिको सम्मान व्यक्त गरेका छन् । 

जस्ताे किः

आफैँ पुस्तकझैँ बनी भुवनमा द्रिस्टन्त छर्नेहरू 

  सारा ज्ञान खन्याउँदै मगजमा अज्ञान हर्नेहरू 

  पाएँ जीवनमा सयौँ  सफलता त्यै ज्ञान विज्ञानले 

  पाई कोकिलकण्ठ शीतल कला बाँचें सदा शानले।’ 


 

आफ्ना आमाबुबा नै हाम्रो पहिलो गुरु गुरुआमा हुन् ।  कविले आमालाई धरतीसँग दाजेका छन् भने पितालाई गगनसँग ।  दुबैको माया र बलिदानको कदर गर्दै आफ्नो कृतज्ञता ज्ञापन गरेका छन् ।  

जस्ताे किः

‘को हो त्यो जसदेखी विश्व रचना भो सभ्यताको सुरु 

आमा हुन् धरती पिता गगन हुन् द्रष्टा स्वयं हुन् गुरु 

बग्दै छन् कति कल्पकल्प कखरा हुन् मार्गका नर्मदा 

सर वक्पति हुन् प्रकाशपथाका ज्योत्स्नाहरू सर्वदा।’ 


 

आफ्नो भाग्यमा लेखिएको कुरा कसैले पनि टार्न सक्दैन।  भनिन्छ नि , वन गए नि कर्म सँगै, येस्तै नै हुँदोरहेछ भाग्यको खेल ।  मात्र एक हरफ भएको शार्दूलविक्रीडित छन्दमा लेखिएको ‘पुर्पुरो’ मा यही कुराको चर्चा गरिएको छ।  आफ्नो भाग्य आफै लेख्न सकिने भन्ने पनि भनाइ मात्र रहेछ जति आफूले लेख्न खोजे पनि जीवनको चक्र जहिले आफूले चाहेको जसरी घुम्दैन ।  

जस्ताे किः

आखाँको जलले कपोत जसरी हेर्दै छु चारैतिर 

  आफ्नै स्वप्निल वस्तु देख्दिनं कतै के खेल यो आखिर ?

  गल्ती होइन जाल बुन्दछ सदा झुक्याउँदै माकुरो 

  खाली कागज लेख्छु मेट्छु तर खै मेटिन्न यो पुर्पुरो।’  

यस्तै धेरै कविताहरूले भरिपूर्ण ‘पोल्टाभित्र डिही’ पुस्तक हालै आम पाठकहरू माझ त्यति लोकप्रिय भई नसके पनि मलाई भने यस पुस्तक सबै कविता निकै मन पर्यो । आफ्नै उमेर र आफूभन्दा ठुलाहरूले पढ्न रुचाउने र बुझ्ने खालका कविताहरू भएकाले अरुलाई पनि पढ्न सिफारिस गर्छु ।  साहित्यको संसारमा नौलो भएकाले होला कति कविताहरूले छन्दको नियम पालना गरे पनि कवितामा केही नपुगेको जस्तो भवना आयो।  तर पनि पढ्न रमाइलो भएको र कविताले भन्न खोजेको कुरालाई अलि गहिरोमा बिझ्न खोज्दा रमाइलो भने असाध्यै भयो ।  दिक्पाल र विधाता छन्द मैले न कहिल्यै सुनेको र न कहिल्यै पढेको छन्दहरू थिए ।  नया छन्द सिक्दै जाँदा आफैलाई पनि निकै खुसी लग्यो । अन्ततः यो पुस्तक म अरुलाई पनि सिफारिस गर्छु ।