Written by: Siddhartha Pandey - 24056, Grade XII
Posted on: 25 August, 2023
आकाश छुने तृष्णा थियो
माथि चढ्ने चाहना थियो
संसार उकास्ने आशा राख्थेँ
किरण बर्साउने दृढता देखाउँथेँ
कहाँ गए मेरा यी जोश र जागरहरू,
बागमतीभन्दा प्रदूषित हुन पुगिसकेछन् ।
यही संसारमा राखेको थिएँ
भए नभएका सबै आशा,
तर
यो ठाउँलाई त चिनेकै पो रहेनछु
ठाउँ त रहदै रहेनछ
कुचिन्तनरूपी मनुष्यकले
फाेहाेररूपी महल ठड्याउँदा
जग्गै सक्किसकेछन् ।
अब आफ्नो ठाउँ खोज्न जाऊ भने
उता हेर्दा
आशा र निराशा त
घनिष्ट मित्र भैसकेछन् ।
कस्तो सोचेको थिएँ
कस्तो हुँदो रहेछ ,
चिनीले हानी गरेझै
प्रेमले घोच्दो पो रहेछ
मित्रता त तितोपिरो रहेछ
मानव जातमा
मानवता नै अति दुर्गम रहेछ ।
पछाडि हेरूँ भने आज
आशा भन्ने चिज नै विचित्र लाग्छ
हार मानेको त होइन
उज्ज्वल भविष्य भन्ने चिज नै अनौठो लाग्छ ।
जति उज्ज्यली भए पनि
कुना त अध्यारै हुँदा रहेछन्,
त्यही कुनामा पर्दा
हात लम्क्याइदिन्छु भन्नेहरूको
हात त फर्किदो पो रहेछ ।
हरियाली संसार ठानेको
डरलाग्दो,
घना, जङ्गल पो रहेछ,
मिठाे गाउने चरचुरूङ्गीहरूले
बाघ सिँहलाई पत्तो दिने चलन पो रहेछ
यही आशाको वनमा हराएको छु म,
हराएर बसूँ कि
आफ्नै बाटो पो बनाइदिऊ कि
विचार गर्दै छु ।