Logo

Student Corner

कक्षा १० सम्म पढ्दाका ती दिनहरू

Written by: Subham Shrestha - 25019, Grade XI

Posted on: 04 August, 2023

सानो छँदा क्युट थिएँ रे तर के गर्नु अहिले बुढो भएँजस्तो लाग्छ । जीवनको यात्रा मन नलागि नलागि सुरु गर्नु परिहाल्यो । दिनहरू धेरै राम्रा चल्दै थिए तर म स्कुल भर्ना भएपछि दिन झन खराब हुँदै गए । 
स्कुलको पहिलो दिनमा मैले सोचेँ कि सबै कुरा ठीक हुने छ तर म पूर्ण रूपमा गलत थिएँ । घरमा र स्कुलमा पनि नपढेको भन्दै पिटाइ खान्थेँ ।
सानो छँदा कुटपिटको दुखाइ र माथिल्लो कक्षा पुगेपछि पढाइको चिन्ता त खासै थिएन त्यही नि चिन्ता भए जस्तो त गर्नु परिहाल्यो । भिडियो गेम खेल्न मन पराउने हुँदा भिडियो गेमबाहेक अरूमा ध्यानै गएन मेरा ती दिनहरू।
इमानदारीपूर्वक भन्नुपर्दा मैले स्कुलका किताबहरू कहिल्यै पढेको छैन र म अझै पनि सोचिरहेको छु कि मैले मेरो एसइई परीक्षा कसरी यति आत्मविश्वासका साथ दिएँ ।

 

म नर्सरी कक्षामा दोस्रो भएँ तर कसरी थाहा छैन तर दोस्रो स्थानमा पुगेको थाहा पाउँदा मलाई खुसी लाग्यो । बिस्तारै म माथिल्लो कक्षामा पुगेँ र चौथो कक्षाबाट इमानदारीपूर्वक भन्नुपर्दा मैले घरमा किताबहरू पढ्न पनि छोडेकै हुँ । 
यो कहिल्यै अचम्मको कुरा थिएन कि मैले अध्ययन नगरेको तर गर्नुपर्छ भन्ने थाहा भए पनि मैले घरमा अध्ययन गरिनँ । मलाई थाहा छ म बाल्यकालदेखि नै अनौठो थिएँ तर फरक व्यक्तिको फरक व्यक्तित्व भएको हुनाले त्यो स्वभाविक नै थियो । कक्षा चार कसरी पास गरेँ थाहा नै छैन । राम्रैसँग पास भएर राम्रो श्रेणी पनि आयो । त्यसपछि सबै कक्षाहरू त्यत्तिकै गयो । कक्षा आठमा पुग्दा कोभिडको कारण घरमै बसेर अनलाइन कक्षा लिएका पलहरू अहिले सम्झदा राम्रो लाग्छ । अनलाइन कक्षामा पनि मैले कहिल्यै पढिनँ । म कक्षामा सम्मिलित त हुने गर्थें तर भिडियो गेम खेल्ने र मेरा अनलाइन साथीहरूसँग च्याट गर्ने जस्ता अन्य कुराहरूमा व्यस्त हुन्थेँ । हामीले एकअर्कालाई नचिनेका र नभेट्दा पनि हामी एकअर्कासँग घनिष्ठ सम्बन्ध राख्थ्याैँ र एकअर्काको ख्याल राख्थ्याैँ । लकडाउनपछि हामी भर्चुअल जीवनमा भेट्यौँ । हामीले वास्तविक जीवनमा भेट्ने निर्णय पनि गर्यौं  तर मलाई थाहा छ यो सम्भव छैन तर पनि हामीले एकअर्कालाई भेट्ने सपना देख्थ्याैँ। ती राम्रा पुराना दिनहरू सम्झँदा मलाई साँच्चै खुशी लाग्छ तर मैले कहिल्यै नभेटेका वा नदेखेका मेरा नजिकका र असल साथीहरूको सम्झना गर्नुबाहेक अरू के गर्न सक्छु र! त्यसपछि कोराेना समाप्त भएकाले म मेरा भर्चुअल साथीहरूबाट अलग भएँ र अरू सबै अध्ययन गर्न र काम गर्न थालेँ । 
अहिले ती दिनहरू सम्झदा मैले पढाइलाई हेला गरेकै हुँजस्ताे लाग्छ साथै शिक्षकहरूकाे अपमान नै भएकाेजस्ताे लाग्छ ।

 

त्यसपछि मैले कक्षा ९ सुरु गरेँ र मेरा पुराना स्कुलका साथीहरूसँग एकजुट भएँ । कक्षा ९ वास्तवमा अचम्मको र अनौठो पनि थियो किनकि मैले कक्षा ८ मा विषयवस्तुहरूमा ध्यान केन्द्रित गरिनँ । कक्षा ९ मा त हामी धेरै खेल खेलेर बितायाैँ तर पनि मैले राम्रो जी.पि.ए प्राप्त गर्दै चिल मुडमा कक्षा ९ पास गरेँ । त्यसपछि कक्षा १० को सबैभन्दा यातनापूर्ण दिनहरू सुरु भए ।
कक्षा १० को पहिलो दिन यो मेरो उत्कृष्ट वर्ष हुने छ जस्तो लाग्यो तर त्यो केवल एक राम्रो ट्रेलर थियो र यातनापूर्ण चलचित्र अझै थियो । त्यतिबेलासम्म सबै राम्रै चलिरहेको थियो तर बिहान सबेरै अतिरिक्त कोचिङ क्लासमा जानुपर्ने बाध्यता रहेको बताएपछि सबै बिग्रियो । १० घण्टाभन्दा बढी सुत्ने योजना ध्वस्त भयो र अझै पनि गृहकार्य र अन्य गतिविधिहरूको लागि समय व्यवस्थापन गर्न गाह्रो थियो । कक्षा १० अपेक्षा गरेको भन्दा चाँडै समाप्त भएकोजस्तो भयो किनकि मलाई थाहा थिएन कि कुन दिन जाँदै छ र हामीले के अध्ययन गर्यौं ।

 

बिहान छ बजे विद्यालय पुगेर अँध्यारो चाैरमा बल नदेखि नदेखि खेल्ने र ६:४० तिर बसमा गएर बस्दाकोअनुभव नै छुट्टै थियो । ७ बजेतिर स्कुलबाट निस्किएर ७:२५ तिर परीक्षा दिने स्थानमा पुग्थ्याैँ। जाँच दिइसकेपछि फर्कदा हामी ४ जनाले बाटोमा गरेका जाँचको प्रश्नको छलफल र बाटोमा बैङ्कको सि.सि.टि.भी क्यामेरा अगाडि फोटो खिच्न लागेजस्तो गरेर हिँड्डाको छुट्टै अनुभूति ।
एसइई  परीक्षाले हाम्रो स्कुल र मेरा आमाबुवालाई दबाब दिइरहेको थियो तर यसले मलाई कुनै पनि दबाब दिन सकेन किनकि मलाई एसइईको समयमा के हुन्छ भनेर वास्ता पनि थिएन । एसइई परीक्षाको लागि दिएको छुट्टिमा मैले चलचित्र हेरेरै बिताएँ र एसइई परीक्षा भएको बेला परीक्षा दिएर घरमा सुतेरै दिन बिताएँ । खै किन हो किताब खोल्ने बित्तिकै निद्रा लाग्छ। एसइई परीक्षा सकिएपछि म आकाशमा उड्ने चरा जस्तै स्वतन्त्र भएँ । मैले एसइई पछि दिनभर भिडियो गेम खेल्न थालें । मलाई थाहा छैन तर सायद मेरी आमाले मलाई दिनभर भिडियो गेम खेलेको कारणले मलाई ब्रिज कोर्समा सामेल गराइदिनुभएको हुन सक्छ । ब्रिज कोर्समा पढाइबाहेक सबै हुन्थ्यो। पढाइ हुँदा सबै मोबाइलमा गेम खेल्थेँ। ६/ ७ जना एउटै गेम खेल्दा कक्षामा कोकोले कसलाई भोट हाल्ने भनेमा छलफल हुन्थ्यो । साथीहरूसँग कक्षामा गेम खेल्दा अर्कै मज्जा आउँथ्यो । 
केही समयपछि थप अध्ययनका लागि डियरवाक सिफल स्कुलमा भर्ना भएँ । डियरवाकमा आउँदा पहिलो दिन खासै त्यस्तो त लागेन तर पुरानो स्कुलभन्दा अर्कै लाग्यो । कस्तो लागेको छ भनेर अर्काे लेखमा लेख्ने छु ।