Written by: Ujjwol Dhakal - 33023, Grade III
Posted on: 02 August, 2023
परिचय
उज्यालो आकाश कथा यशु श्रेष्ठले लेख्नुभएको हो । यसमा चित्र भर्ने काम रमेश डङ्गोल र उजेली सुनारबाट भएको हो । यो बालकथा हो । यस कथा परिचय पब्लिकेशनबाट प्रकाशन भएको हो।
कथाबस्तु
यस कथामा आशिका र आकाश दिदी भाइ हुन्छन्। आकाश भुइँचालोदेखि धेरै डराउँथ्यो । आकाश ‘आयो आयो’ भन्दै घर बाहिर दौडिन्छ । हवाइजहाज आए पनि, गाडी आए पनि, कसैले बेस्सरी कराए पनि आकाश डराउँथे । उनलाई दिदीले “हाम्रो घर भत्किदैन, अब केही हुँदैन, हामी घरमै बसौँ भनी सम्झाइन् ।” दिदीको कुरा नसुनेर आकाश फेरि घरमा नबस्ने भन्दै दौडियो । आमा र दिदी स्कुलको चाैरमा पुगे । त्यहाँ आकाश थिएन । आकाश एकैछिनमा कता हरायो । भाइ नभेटेपछि दिदीको आँखाभरि आँसु भयो । आकाश त झ्याङभित्र पो बसेको रहेछ । भाइले दिदीलाई भन्यो, “दिदी हामी यहीँ झ्याङमा बसौँ शीत र घाम त यसले पनि छेक्छ नि ।” दिदी पनि झ्याङमा बस्न राजी भइन् । दिदीभाइ खेल खेल्ने भनेर सिन्काहरू खोज्न थाले । उनीहरूले सिन्काबाट घर र स्कुल बनाए । यो चाहिँ पक्की घर थियो । फेरि उनीहरूले दुईओटा बालुवाका कच्ची घरहरू बनाए । दिदीले भाइलाई पक्की र कच्ची घरको बारेमा बताइन् । पोखरीमा ठुल्ठुला छाल आएर बालुवाको घर भत्कियो तर सिन्काको घर भत्किएन । दिदी भाइ कुराकानी गर्दागर्दै फेरि अर्को छाल आयो । त्यत्रो ठुलो छालले त नभत्काएको हाम्रो घर र स्कुल, यस्तो सानो छालले त भत्काउन सक्दैन भन्दै आकाश खुसी देखियो । दिदीले भाइलाई प्रश्न गरिन्, “तिमी यस्तो बलियो घरमा बस्छौँ कि बस्दैनौँ त ?” आकाशले भन्यो, “बसिहाल्छु नि।” दिदी र भाइ घरतिर लागे । आमा पनि आउनुभयो । घर पुग्दा आकाशले बुबालाई पनि देख्यो । बुबाले आकाशलाई बोक्नुभयो । उसको अनुहार उज्यालो भयो ।
पात्र
यस कथाका मुख्य पात्रहरू आकाश र आशिका हुन् । सहायक पात्रहरू आकाशका बुबा र आमा हुनुहुन्छ।
परिवेश
यस कथामा गाउँको परिवेश छ। गाउँघरका स्कुल, घर, पोखरी, झाडी समेटिएका छन् ।
निष्कर्ष र सुझाव
यो कथा पढ्दा मलाई रमाइलो र राम्रो पनि लाग्यो । यस कथाका चित्रहरू पनि रमाइला छन् । यस कथामा भूकम्प आएमा कसरी बच्ने भन्ने कुरा सिकाइएको छ। म सबै साथीहरूलाई पनि यो पुस्तक पढ्न अनुरोध गर्दछु।