Logo

Student Corner

"जलवायु परिवर्तन र प्राणीको भविष्य"

Written by: Subigya Raj Kharel - 29065, Grade VII

Posted on: 19 July, 2023

जलवायु भनेको कुनै निश्चित भूभागमा भएको मौसम अवस्था हो भने परिवर्तन भनेको केही कुरामा देखिएको फरकपन हो। जलवायु परिवर्तन हामी जीवजन्तुको लागि ठूलो खतराको विषय हो। विश्वव्यापी रुपमा तापक्रम बढ्नाले अनिश्चित मौसम, पशुपंक्षीको मृत्युजस्ता समस्याहरू झेल्नुपर्छ। यसले गर्दा धेरै जीवजन्तुहरू लोप हुन लागेका छन्।


जलवायु परिवर्तनका धेरै कारणहरू छन् । ती मध्ये एक हो, उद्योग तथा कलकारखाना जहाँबाट धेरै विषालु ग्याँसहरू जस्तैः  कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड आदि निस्कन्छ । पछिल्ला केही दशकहरूमा विकास निर्माणका कार्यहरू तीव्र गतिमा बढेकोले धेरैभन्दा धेरै उद्योग र कलकारखाना खोलिएका छन् । तिनमा प्रयोग हुने इन्धनले दोहोरो रूपमा नकारात्मक प्रभाव पार्दछन् किनभने इन्धन निकाल्ने प्रक्रिया र इन्धनको प्रयोग दुवैले प्रदूषण गराउँछन् अनि बढ्दो प्रदूषणले जलवायु परिवर्तन गराउँदछ ।


अर्को कारण हो दैनिक रूपमा उपभोग गर्ने वस्तुहरू जस्तै लुगा, प्लास्टिक, सिमेन्ट, तेल, ग्याँस आदिको बढ्दो उत्पादन तथा खपत । त्यस्तै जथाभावी वन जङ्गल मास्ने,रूख काट्ने कामले पनि वातावरणमा नकारात्मक प्रभाव पार्नुका साथै जलवायु परिवर्तन गराउँछन् र कतै बाढी पहिरो जाने अनि कतै पानी नै नपर्ने समस्याहरू खडा गर्छन् । हामीले प्रयोग गर्ने यातायातका साधन जस्तै गाडी, बस, हवाइजहाज, समुद्री जहाज आदिले पनि इन्धन प्रयोग गर्छन् र कार्बन डाइअक्साइड निकालेर वायु, जल तथा माटोमा प्रदूषण गर्दछन्।


हाल अमेरिकाका राष्ट्रपति जो बाइडेन " विलो" नामको परियोजनामा  काम गरिरहनुभएको छ। यसमा अमेरिकाको सबैभन्दा ठुलो स्टेट अनि धेरै प्राणीहरूको घर भएको अलास्कामा तेल निकाल्नको लागि प्वाल ड्रिल गर्ने योजना छ। यदि यो योजना पूरा भयो भने त्यसले वर्षैपिच्छे थप ९.२ मेट्रिक टन कार्बन प्रदूषण गराउँछ। यसले छिटै नै जलवायु परिवर्तन गराई संसारभरि धेरै जीवनको नाश हुन्छ । यसको विपक्षमा बढीभन्दा बढी मतदान गरेर हामी यो कार्यलाई रोक्न सक्छौँ ।


जलवायु परिवर्तनका धेरै प्रभावहरू छन् । सर्वप्रथम त यसले गर्दा पृथ्वीको औसत तापक्रम बढ्छ, जसका कारण हिमालको हिउँ पग्लिने, नदीनाला सुक्ने, जमिन खेतीयोग्य नरहने खतरा हुन्छ। बढ्दो तापक्रमले गर्दा मानिस तथा अरू प्राणीहरू बिरामी पर्ने वा मर्ने जोखिम रहन्छ किनभने खेतीपाती भएन अनि पशुबाट प्राप्त हुने खानेकुरा जस्तै माछा, मासु ,मह, दूध र दूधबाट बन्ने दही, घिउ, पनिर, चिज आदि केही पनि नपाएपछि संसारभर भोकमरीको अवस्था आउँछ । भोकमरी, प्रदूषण, गरिबी, मानसिक तनाव आदिले रोग र मृत्यु पनि निम्त्याउन सक्छन् । अन्त्यमा प्राणीहरू लोप हुँदै जान्छन् ।


हामीले जलवायु परिवर्तनलाई पूरै रोक्न नसके पनि कम गर्ने प्रयास पक्कै गर्न सक्छौँ । दैनिक जीवनमा कम वस्तु उपभोग गर्ने, रिसाइकल गर्ने, पैदल हिँड्ने र साइकलजस्ता यातायातका साधनको प्रयोग गर्ने, साधारण जीवन जिउन प्रयास गर्ने, वृक्षारोपण गर्ने र वातावरणलाई स्वच्छ राख्ने जस्ता कामहरू गर्न सक्छौं। पृथ्वी हाम्रो घर हो, यसको र यसमा बस्ने प्राणीहरूको संरक्षण गर्नु हाम्रो कर्तव्य हो ।