Logo

Student Corner

नेपाली प्रकृति

Written by: Riddhis Sharma - 26006, Grade X

Posted on: 16 June, 2023

नेपाल एक अत्यन्त सुन्दर र सांस्कृतिक देश हो, जसमा प्रकृतिले पनि आफ्नो सुन्दरताको छाँया पारेको छ । यहाँ मानिसले बनाएको संस्कार र संस्कृति मात्र नभई प्रकृतिका अनौठा दृश्यहरू देख्न पाइन्छ ।  सगरमाथा र अन्य हिमालका साथसाथै यहाँ तराई  र पहाडमा पनि अति सुन्दर र दर्शन योग्य ठाउँहरू छन् । 
नेपाल मुख्य गरी त सगरमाथाको देश भनेर चिनिन्छ तर यसलाई चिन्ने अरू पनि कैयौँ अरू तरिका छन् । नेपाल प्राय सगरमाथा र गौतम बुद्धको देश भनि चिनिए पनि यो महान् देशका परिचयमा एक बहुभाषी, बहुसांस्कृतिक र बहुधार्मिक देश हो भन्ने कुरा छुटाउन सकिँदैन । प्रमुख रूपमा नेपाल एक सनातन धर्म मान्ने देश भए पनि यहाँ सबै जाति र धर्मका मानिसहरू बस्छन् । 
नेपाल अरू देशभन्दा प्राकृतिक दृष्टिकोणले एक सुन्दर देश हो । यहाँ तिनै प्रकारका भूमिको अनुभव लिन सकिन्छ । हिमाल, पहाड र तराई सबै ठाउँमा नेपाल विभाजित छ । हिमाली क्षेत्रमा सगरमाथा, अन्नपूर्ण , माछापुच्छ्रे , लोत्से, मकालु र मनास्लु लगायतका विश्वकै सबैभन्दा अग्ला हिमालमध्ये आठ हिमाल नेपालमा पर्छन् ।  यहाँ  यार्सागुम्बा र कैयौँ अरू कहीँ नपाइने आयुर्वेदिक जडिबुटीहरू पाइन्छन् ।  यस्ता जडिबुटीहरू अमूल्य हुन्छन् तर नेपालले यी आम्दानीका स्रोतको राम्ररी सदुपयोग गर्न सकेको छैन । त्यस्तै नेपालका हिमाली भागमा हिमालको काखमा थुप्रै मन्दिर छन्, जसले हिमालकाे महत्त्व  बढाउँछन् । यति मात्र नभई यस्ता हिमालका तटबाट नदीका मूल पनि निस्कन्छन्, जसले खेती र दैनिक जीवनमा पानीको प्रयोगका लागि पानीको आपूर्ति गर्छ । 
त्यसैगरी नेपालको पहाडी भेगमा अत्यन्त मनोरम र रमणीय स्ठलहरू छन् । यहाँ  कैयौँ उपत्यका छन् जसबाट अत्यन्त सुन्दर र मन छुने दृश्य देखिन्छन् । काठमाडौँ उपत्यकामा पनि धेरै धार्मिक नदी र धेरै मन्दिरहरू पनि छन् जसले पर्यटक पनि बढाउँछन् । पहाडी भेगमा तालहरू पनि हुन्छन् जसले ती ठाउँलाई अत्यन्त सुन्दर बनाएका छन् ।

तराई क्षेत्र कृषिकाे उर्वर क्षेत्र हाे । यहाँकाे अन्नले धेरै मानिसलाई बचाउने काम गरेकाे छ । यहाँबाट देशमा पाइने प्राय फलफूल तथा तरकारी निर्यात गरिन्छ र यहाँका मानिस यसबाटै जीविकोपार्जन गर्छन् । यो ठाउँमा सबै भन्दा धेरै चामल, मकै , गहुँ र उख्खु जसता खाद्य पदार्थको उत्पादन गरिन्छ । यहाँको उर्वर जमिनका कारण यहाँ करिब सबै खालका तरकारी र फलफूलको उत्पादन गर्न सकिन्छ, याे नेपाली प्रकृतिकाे विशेषता हाे । नेपालमा यस्ता प्राकृतिक सम्पदाहरू छन् र यिनको संरक्षण गर्नु हामी सबैकाे कर्तव्य हो ।