Logo

Student Corner

कक्षा १०

Written by: Riddhis Sharma - 26006, Grade X

Posted on: 02 June, 2023

कक्षा दश मेरा लागि नयाँ भए पनि, म सिफल स्कुलकाे पुरानै विद्यार्थी थिएँ । म पुरानै विद्यार्थी भए पनि कक्षा दशकाे पहिलाे दिनमा उत्साह र सकारात्मकता अलि बढी नै थियो ।  झन्डै दुई हप्ता जति मात्र घरमा बसेकाे मैले विद्यालयमा जाँदा धेरै परिवर्तन देखेँ ।  हाम्रो सङ्गीत कक्षा अगाडिको सानो चौर जस्तो ठाउँमा भकुण्डो खेल्ने ठाउँ बनाइएको रहेछ । केही कुराहरूको चिन्ता भइरहेको थियो भने, मनमा कक्षा १० को बाेर्ड परीक्षाकाे दबाब नआउने  कुरै भएन । तर, यसरी विद्यालय जाँदा तेस्रो दिनसम्म मेरा सबै त्रास र चिन्ता हटे ।  
कक्षा सुरु भइसक्याे । बजारमा भने सबै पुस्तक आइसकेका थिएनन् र अब के गरी पढ्ने भन्ने कुरा पनि मनमा आएको थियो । तर, विद्यालय पुग्दा भने कसैसँग पनि पुस्तक सूचीमा भएका सबै पुस्तक नभएको कुरा सुन्दा मेरो मनलाई पनि एक प्रकारले शान्ति मिल्याे ।  कक्षा ९ को नतिजा ठिकै मात्रै आएका कारण मेरो मनमा यसपल्ट भने केही गरेर देखाउँछु भन्ने हौसला थियो । घरमा कक्षा १० मा राम्रो अङ्क आएमा गितार किनिदिने भनेको हुँदा त मेरो परीक्षामा राम्रो गर्ने प्रेरणाले भने मलाई विश्वमा कसैले मेरो गितार लान सक्दैन भने झैँ लाग्यो । पहिलो दिनमा भने खास त्यस्तो केही नभएको हुँदा मेरो मन शान्त नै रहिरह्यो । कक्षा १० मा भने कोही नँया विद्यार्थी साथी नआएको हुँदा मलाई  खास अचम्म लागेन, किनकि अब कक्षा १० मा विद्यालय बदल्न गाह्रो हुन्छ भन्ने कुरा मलाई थाह थियो । पहिलो हप्ता त हामीलाई कक्षा कोठामा के गर्ने र के नगर्ने महत्त्वपूर्ण कुराहरू स्मरण गराइयो । यस्तै अनेकौँ कुराहरूको पुनर स्मरण गराउँदा गराउँदै हाम्रो कक्षा १० को पहिलो साता बित्यो । दोस्रो हप्ताबाट भने झन्डै सबै गुरुहरूले पढाउन सुरु गर्नु भयो जब कि पहिलो हप्ताबाट पनि समय नपुग्ने भएर केही शिक्षकले पाठ्यक्रमअनुसार पढाउन काेर्स अगि बढाउनुभयाे । कक्षा ९ पनि अब माध्यमिक विद्यालय भएकाले उनीहरूसँग हाम्रो अतिरिक्त क्रियाकलाप हुने कुरा मलाई थाहा थियो । तर यो साथै कक्षा ९ मा धेरै विद्यार्थी भएका कारण यस्ता अतिरिक्त क्रियाकलापमा हल्ला धेरै हुने भयो भनेर मेरो मनमा अलिकति छटपटी भइरहेको थियो । गणित  विषय अलि गाह्रो लाग्ने भएका कारण यो वर्ष अरू विषयभन्दा गणितमा अलि राम्ररी ध्यान दिएर राम्रो अङ्क ल्याउने मेरो उद्देश्य थियो ।
कक्षा १० को पहिलो हप्ता भने राम्ररी र सहजै बिते पनि दोस्रो हप्ता देखि चाँहि अलि धेरै काम थुप्रिएको मैले पाएँ । सबै विषयको टन्न टन्न गृहकार्य भएको कारणले दोस्रो हप्ता चाँहि अलि गाह्रो भयो । कक्षा ९ को परीक्षा पछिको बिदामा नलेखेको कारणले होला कलम नै कहिल्यै नसमातेझैँ भयो । र धेरै गृहकार्य गर्न यसले अलि गाह्रो पार्यो । तर दोस्रो हप्ताको अन्त्यसम्म मलाई कलम चलाउने सहज हुँदै गयाे । अहिले निरन्तर मेराे पढाइ चलिरहेकाे छ ।