Logo

Student Corner

कहिलेसम्म ?

Written by: Sauharda Bajracharya - 26010, Grade X

Posted on: 31 May, 2023

यो संसारमा जन्मेका सबैको जीवन सरल हुँदैन । जीवन अनाैठाे छ, कोही मानिस धनी परिवारमा जन्मेर हाँसीखुसी जीवन बिताउन सक्छन् भने कोही मानिस गरिब परिवारमा जन्मेर दु:खको जीवन बिताउनुपर्छ । साेचे र चाहेजस्ताे जीवन बिताउने मानिस सायद कमै हाेलान् । 

नेपालको एक दुर्गम जिल्लामा जन्मेका राकेशको जीवन पनि त्यस्तै थियो । बाल्यकालदेखि नै उसको जीवन कहिले सजिलो भएन । उनलाई घरमा दुर्व्यवहार गर्ने बुबाले, रक्सी खाएर आफ्नी सानी बहिनीलाई पिटेको देख्दा उसको आँखा कहिले पनि रसाउन छाेडेनन् । आमा आफ्नो दुई बच्चाहरूको हेरचाह गर्नुका साथसाथै अरूको घरमा गई भाडा माझ्ने र लुगा धुने काम पनि गर्थिन् । बुबा भने आमाले जम्मा गर्नु भएको पैसा चोरेर रक्सी किनेर खान्थे । यस्तो परिदृश्य देख्दा राकेशलाई आफ्नै बुबा माथि हात हाल्नु मन लाग्थ्यो । तर, उसले यस्तो गर्ने कहिले आँट राखेन ।

एक, दुई वर्ष बित्यो । राकेशको बुबाको लिभरमा खराबी देखिन थाल्यो । केही हप्तामा नै राकेशका बुबा थला परे । उनको रक्सी खाने बानीले उनको ज्यान नै लियो । बुबाको निधन भएपछि घरमा पैसा आउने भयो भन्ने सोच उसले राखेको थियो तर उसले सोचेको झैँ भएन । उसको बुबा बितेको केही महिना पछि नै उसको आमाको पनि निधन भयो । ऊ आफू र आफ्नी सानी बहिनीलाई लिएर कँहा जाने भन्ने सोचमा डुबिरह्यो । धेरै नातेदारहरू पनि नभएको, पैसाको पनि कमी, डेराको पनि पैसा तिर्नु पर्ने । उसले बहिनीलाई लिएर डेरा गरी बस्ने साेच बनायाे । डेराको मालिकले पनि केही हप्तासम्म मात्र बस्न दिने र त्यो समय भित्र पैसा तिरेन भने घरबाट निकाली दिने भनेर चेतावनी दिए । उसलाई आफ्नोभन्दा पनि आफ्नी सानी  बहिनीको धेरै चिन्ता थियो । सानो उमेरमा यस्तो अवस्था आईपर्दा उसको दिमागमा कस्तो असर पर्ने होला भन्ने उसको चिन्ता थियो । यद्यपि, उसले गाँउमा अरूको लागी काम गर्न थाल्यो । गाईवस्तु चराउने, भाडा माझ्ने, लुगा धुनेजस्ता काम गर्दै उसले आफ्नो जीवनयापन गर्न थाल्यो । यसबाट धेरै पैसा नआए पनि उसले यसरी नै जीवन बिताइ रहेको थियो । 
एक दिन, एउटा विदेशीले उसको दुःख र गरिबी देखेर उसलाई एउटा काम प्रस्ताव गर्यो । विदेशीले अङ्ग्रेजीमा ‘वुड यु लाइक टु वर्क आज ए स्पाई?’ भनेर सोध्यो । धेरै अङ्ग्रेजी नबुझ्ने राकेशले ‘ओके’ भन्यो । उसलाई थाहा थिएन, उसलाई जासुसीको काम दिइएको थियो । त्यो विदेशीले राकेश र उसको बहिनीलाई काठमाडौँ ल्याएर एउटा सानो फल्याट दियो र राकेशलाई जासुसको रूपमा काम गर भन्यो । उसले ठूला ठूला कर्पोरेट अफिसहरूमा जासुसी गरेर जानकारी सङ्कलन गर्नुपर्थ्यो । सुरुमा ऊ हिचकिचायो, तर त्यो विदेशीले उसको बहिनीलाई मार्ने धम्की दियो । यो सुनेपछि, उसको मुख रातो भयो तर पैसाको कमीको कारण ऊ त्यो काम गर्न राजी भयो । केही वर्ष काम गरेपछि, ऊ आफ्नो काममा माहिर भयो । उसले राम्रो पैसा पनि कमाई रहेको थियो । बस्नलाई फल्याट पनि थियो । सबै कुरा राम्रो थियो तर, राकेशलाई यो पैसा कमाउने उचित तरिका होइन भन्ने लाग्यो । उसले आफ्नो काम छोड्ने निर्णय गर्यो तर , विदेशीले उसले आफ्नो काम छोड्यो भने उसकी बहिनीलाई भारतमा बेचिदिने भन्यो । राकेश रिसले चुर भयो । त्यो विदेशीले उसलाई कर्पोरेट अफिसमा जासुसी गर्न लगाएको कुरा भनिदिन्छु भन्दै विदेशीलाई धम्कायो । यद्यपी, १३ वर्षको उमेरमा राकेशकी बहिनीलाई भारतमा बेचियो । राकेशले विदेशीको नराम्रो कामबारे अरूलाई सूचना दिन खोज्यो । तर एउटा गाउँलेको कुरा कसले सुन्थ्यो र ! विदेशीको कुरा साचो र राकेशको कुरा झुटो भन्दै सबैले भन्न थाले । विदेशीले राकेशले कर्पोरेट अफिसहरूमा जासुसी गरेको भन्दै कुरा निकाल्यो । राकेशले केही पनि भन्न नपाई नै राकेशलाई जेलमा हालियो । कस्तो अन्यायपूर्ण समाजमा बस्छौँ हामी, विदेशीले भनेको सबै सही र गाउँलेले भनेको गलत मान्यता राख्छौँ । हाम्रो समाज र देश कता जाँदै छ , यो प्रश्न कहिलेसम्म ?