Logo

Student Corner

दोलखा भीमसेन

Written by: Srishad Shiwakoti - 27026, Grade IX

Posted on: 25 May, 2023

मेरो घर प्रदेश तीनको दोलखा जिल्लामा पर्छ । म त्यहाँ चाडपर्वको बेलामा जाने गर्छु । त्यहाँ मेरी हजुरआमा, ठुलोबुवा, ठुलीआमा, भाइ र दिदीहरू बस्नुहुन्छ । कहिलेकाहीँ मात्र जाने भए तापनि मलाई आफ्नो घर असाय्ध्यै प्यारो लाग्छ । यो ठाउँमा मेरो घर भएर मात्र होइन यहाँको सुन्दरताले गर्दा पनि प्यारो लाग्छ ।  दोलखा जिल्ला गौरीशङ्कर, चोयु र रोल्वालिङ हिमालको काखमा रहेको पहाडैपहाड र खोला र झरनाले भरिएको एक सुन्दर गाउँ हो । काठमाडौँबाट बनेपा, धुलिखेल, पाँचखाल, खाडीचौर, ठुलो पाखर, मुडे, खरीढुङ्गा, बोच, चरङ्गे, चरिकोट हुँदै दोलखा पुग्न सकिन्छ ।  काठमाडौँबाट करिब १३३ किमी पूर्वमा पर्ने यो ठाउँमा कैयौ छाँगा, छहरा, पहाड, खोलानाला र मठमन्दिरहरू छन् । यहाँ च्छो-रोल्पा ताल अनि भोर्ले, चरङ्गे, कुथली, थाँगने, घट्टे, कलाघरी, हात्तीचरा र सुन्द्रावतीजस्ता झरनाहरू छन् । तामाकोसी खोला पनि दोलखाबाटै बगेको हो । यहाँका पर्यटकीय स्थलहरूमा जिरी, कालिन्चोक, गौरीशङ्कर हिमाल, च्छो-रोल्पा ताल, दोलखा भीमसेन, त्रिपुरा सुन्दरी, कालिनाग मन्दिर, कालिका मन्दिर, देउराली भ्यु टावरजस्ता रमणीय ठाउँहरू पर्दछन् ।

नेपालकै महत्त्वपूर्ण मन्दिर मानिने दोलखा भीमसेन मन्दिर पनि दोलखामै पर्छ । यो मन्दिर भीमेश्वर नगरपालिकामा अवस्थित छ । मलाई अत्यन्त गर्व लाग्छ, किनकि यो मन्दिर मेरो घरबाट ९ किमी टाढा छ र म गाडी चढेर २० मिनेटमा पुग्न सक्छु । यहाँका स्थानीय बासिन्दाकाअनुसार यो मन्दिर पाँच पाण्डवमध्येका दोस्रो भाइ भीमसेनले बर्षौँसम्म तपस्या गरेर बसेको ठाउँ हो । यो मन्दिरमा धेरै पर्यटकहरू आउँछन्, अझ दसैँको बेला त खुट्टा टेक्ने ठाउँ पनि हुँदैन । खास गरी नेवार समुदायले अत्यन्तै मान्ने  र दर्शन गर्न आउने गर्छन् । यो मन्दिरको बारेमा मैले बच्चै देखि मेरो हजुरआमा र बुवाको मुखबाट सुन्दै आएको किंम्वदन्ती छ । उहाँहरूले भनेअनुसार धेरै पहिले भरियाहरू यो ठाउँमा थकाई मार्न आएका थिए रे । त्यहाँ खाना पकाउन आगो बाल्न तिनीहरूले तीनओटा ढुङ्गा ल्याएछन् रे । तर एउटा ढुङ्गा चाहिँ जति गरे पनि सिधा अडिरहेको थिएन रे । धेरै प्रयास गरेर पनि त्यो ढुङ्गा नअडिए पछि एक भरियाले त्यस ढुङ्गालाई खुकुरीले हान्न खोजेछ रे । हान्दा खेरी त्यो ढुङ्गाबाट रगत निस्केछ रे । त्यही तीनकुने आकारको ढुङ्गालाई हामीले अहिले भीमसेनको रूपमा पूजा गर्छौँ। यो मन्दिरको अर्को विशेषता भनेको यहाँ मन्दिरलाई कुनै पनि छाना र गजुरले ढाकिएको छैन । यहाँ एउटा नगडा भन्ने बाजा पनि छ जुन केटी मान्छेले छुन हुँदैन र विशेष चाडको र जात्रामा मात्र जोगीले बजाउँछन् ।

दोलखा भीमसेन मन्दिर रहस्यमय पनि छ । बेलाबेलामा मन्दिरभित्रको  मूर्तिबाट पसिना झरिरहन्छ र त्यसरी पसिना आउनु भनेको देशको लागि नराम्रो घटना घट्ने सम्भावना हुन्छ। वि.सं १९९० मा पसिना आउँदा ठुलो भूकम्प आयो । त्यसपछि पसिना आउँदा ४ जना सहिद भए । त्यसपछि पसिना आउँदा त्रिभुवन राजाको निधन भयो । त्यसैगरी २०५८ मा पसिना आउँदा राजपरिवार हत्याकाण्ड भएको थियो । त्यसपछि २०७२ सालको भूकम्प आएको वर्ष अत्यन्तै धेरै पसिना आएको त्यहाँ देख्नेहरू बताउछन् । यो सबै भएको मैले पत्याएको थिएन ।  तर  वि.सं २०७७ मा पसिना आएको कुरा मेरो हजुरआमाले फोन गरेर भन्नु भएको थियो र पछि समाचारमा पनि यो कुरा आयो । त्यसको एक महिनापछि कोरोना महामारी भएपछि मैले साचिकै विश्वास गरे । त्यस्तो हुँदा पूजा सामाग्री गरेर क्षमापूजा गर्ने चलन छ । क्षमापूजाको दिन मानिस हरू टाढाटाढादेखि आएर रोइकराइ गरेर पूजा गर्छन् र पसिना सफा गर्न कपास लिएर आउँछन् र त्यही कपासलाई प्रसादको रूपमा घर लिएर जान्छन् । यही एक कारणले गर्दा पनि यो मन्दिर नेपालकै एक सबैभन्दा महत्वपूर्ण मन्दिरको रूपमा लिइएको पाइन्छ ।

यो मन्दिरका धेरै गुणहरू भए पनि यस मन्दिरको एक विकृति छ । यो मन्दिरमा खसी, बोका, हाँस, कुखुरा आदिको बलि दिइन्छ, त्यसैले गर्दा यहाँ भुइँभरि रगत हुन्छ । टेक्न पनि घिन लाग्ने हुन्छ । यसले गर्दा मानिसहरू घिनाउँछन र विदेशीहरू त अझ झन् घिनाउँछन्। शाकाहारी र वैष्णवहरू त्यहाँ जान त्यति मन गर्दैनन्। त्यसैले बलि दिने ठाउँ छुट्टै बनाउन आवश्यक छ । बलि दिने ठाउँ छुट्टै र पूजा गर्ने ठाउँ छुट्टै भए झन् राम्रो हुन्छ । त्यसो गर्नाले पर्यटक झन् बढ्ने सम्भावना देखिन्छ। दोलखा भीमसेनले सबैको रक्षा गरून्, दोलखा भीमसेन को जय !