Logo

Student Corner

अनौठो घटना

Written by: Prashraya Shrestha - 26014, Grade X

Posted on: 24 May, 2023

विज्ञानमा हामीले सिकेका छौँ कि ब्रह्माण्ड सन्तुलनबाट बाहिर जान्छ र कहिल्यै स्थिर वा पूर्ण अवस्थामा हुँदैन । यसका कारण हामीले अनौठा चीजहरू अनुभव गर्छौं ।  तल मैले अनुभव गरेका अनौठो घटनाहरू हुन् ।
एक दिन म मेरो बुवा र आमासँग मेरो दाइलाई  लिन गएको थिएँ । एक दिन अघि मेरो दाइ विद्यालयबाट हाइकिङ्ग जानुभएकाे थियाे । रातिको ११ बजेको थियो । चन्द्रमाको किरण बाहेक सडकमा केही थिएन, बिस्तारै बिस्तारै हामी पुतली सडक पुग्याैँ । पुतली सडकमा एउटा ट्याक्सी थियो । ट्याक्सी चालकसँग एउटा सेतो लुगा लगाइरहेकी २० - २५ वर्षकी एउटा महिला थिइन्, दायाँ वा बायाँ जाने बाटो थिएन । सडकमा अरू कोही नभएका कारण ट्याक्सीतिर मेरो ध्यान पुग्यो । हेर्दाहेर्दै हामी अगाडि बढ्दै गयाैँ, अलि अगाडि पुगेपछि पनि म त्यो ट्याक्सीतर्फ हेरिरहेको थिएँ, आखाँ झिमिक्कै गर्दा त्यो ट्याक्सी हरायो । एउटा सिधा बाटोमा त्यो ट्याक्सीको निसान थिएन । केही पछि हामी दाइलाई लिएर घर पुगेँ। घरमा मैले यो घटना मेरो बाबालाई भनेँ । मेरो बाबाले पनि त्यहि घटना अनुभव गर्नुभएको रहेछ । अनि म डराउँदै डराउँदै  सुत्न गएँ।  


अर्को अनौठो घटना केही वर्ष अगिको हो । त्यतिबेला मेरो हजुरबालाई क्यान्सर लागेको हुनाले वीरअस्पतालमा भर्ना गरिएको थियो । त्यति बेला मेरो बुबा पनि त्यही अस्पतालबाट घर जाँदै हुनुहुन्थ्यो । पुष माघको जाडोमा चिसो हावा चलिरहेको बेला मेरो बाबाले गम्म परेको गलबन्दी लगाएर बागमती पुलमा पुग्नुभयो । सुनसान रातमा कोही थिएन । त्यति बेला मेरो बाबाले एउटा हातले आफ्नो निधारमा हानेको महसुस गर्नुभएछ । पछाडि फर्केर हेर्दा कोही पनि थिएन, यो दोस्रो चोटी हुँदा उहाँले फेरि पछाडि हेर्नुभयो र तेस्रो चोटी डरका कारण उहाँ घर भाग्नुभयाे । भाग्दा भाग्दा हानेको महसुस बढ्दै गयो ।  घरभित्र पुगेपछि हानेको रोकियो, यो अनुभव मलाई मेरो बुबाले त्यही रात भन्नुभयो । तर भोलिपल्ट कार्यालय गएपछि उहाँले त्यो हात नभई गलबन्दी ध्याप ध्याप गरेको भनेर थाहा थाहापाउनु भयो ।  

यो कथा म जन्मिनु अघिको हो ।  मेरो हजुरबुबा  भन्सारमा काम गर्नुहुन्थ्याे । केही सरकारी कामकाे लागि उहाँ चीनको बोर्डर खासा पुग्नुभयो । उहाँको स्वागतका लागि त्यहाँका मानिसहरूले एउटा स्वागत कार्यक्रमको आयोजना गरेका थिए ।  त्यस समारोहमा मेरो हजुरबुवालाई चिनियाँ भाषामा भाषण गर्नुपर्ने भयो । उहाँलाई आपत पर्यो तर, पछि उहाँले चिनियाँ भाषामा फररर भाषण दिनुभएछ ।  त्यहाँका चिनियाँले मेरो हजुरबुवाको यो भाषा सायद अर्कै प्रान्तको चीनको भाषा होला भन्ठानेछन् । पछि अरू मान्छेले मेरो हजुरबुवालाई ‘ओहो हजुर त खतरा हुनुहुँदो रहेछ । चिनियाँ भाषा कस्तो फररर बोल्नु भएको” भन्दा मेरो हजुरबुवाले जवाफ दिनुभयो “कहाँ मलाई चिनियाँ भाषा आउनु र मैले त त्यतिकै भाषण दिएको नि चिनियाँ भाषा बोल्न के गारो छ र दुईटा मुसा जुधाई दिएपछि उनीहरूको भाषाकाे छनक निस्किन्छ । उहाँकाे कुराकाे अर्थ धेरैले बुझेनन् ।

अन्त्यमा, हामीले हाम्रो जीवनकालमा विभिन्न प्रकारका चिजहरू अनुभव गर्छौं । हामीले तिनीहरूलाई कदर गर्न सिक्नुपर्छ किनकि यो अनमोल छ र अरू मानिसहरूको अनुभवभन्दा फरक छ । यसै गरी मेरो जन्म पनि एउटा अनौठो  घटना हो भनी भन्नुहुन्छ । त्यसैले हरेक मानिसकाे जीवन नै अनाैठाे हुन्छ ।