Written by: Sakshyam Karna - 26013, Grade X
Posted on: 22 May, 2023
म ७ वर्ष हुँदाको कुरा हो । म त्यतिबेला २ कक्षामा पढ्थेँ । जाडोको छुट्टीमा म मेरो मामाघर बिराटनगर गएको थिएँ । मेरा छुट्टिहरू राम्ररी नै बितिरहेका थिए । म रातभरि मेरो दाइसँग कम्प्युटरमा खेलहरू खेल्थेँ । म दाइसँग साङ्गीतिक कार्यक्रमहरूमा जान्थेँ । मेरो आफ्नो घरमा मेरा अभिभावकहरू अति सुरक्षात्मक भएकाले मैले यस्तो कहिले गर्न पाएको थिइनँ । त्यही कारणले होला । म यहाँ अत्यन्तै रमाइरहेको थिएँ ।
एकदिन दादाले मलाई भूतको खेल खेल्ने भन्नुभयो । मैले हुन्छ भनेँ । रातिको १ बजिरहेको थियो । दादाले आफ्नो ल्यापटप निकाल्नुभयाे । अनि मलाई पनि एउटा ल्यापटप दिनुभयो । त्यसमा मलाई स्टिम भन्ने एप खोलेर प्यासिफाइ भन्ने खेल खोल्न लगाउनुभयो । मैले माँने । त्यो खेल एकैचोटी धेरै जनाले खेल्ने रहेछ । त्यसैले दादाले आफ्ना साथीहरूलाई पनि कल गर्नुभयो । म ती दाइदिदीहरूलाई चिन्थेँ । किनकि तिनीहरू दादाको घरमा आइराख्थे । तर त्यो खेल खेल्दाखेल्दै मलाई सारै डरलाग्यो र म ल्यापटप छोडेर गएँ । मेरो दाइले मलाई बोलाउन खोज्नुभयाे । तर, म फर्केिनँ । त्यो देखेर दाइ रिसाउनुभयाे ।
अर्को दिन मलाई मलाई दादाले मासु लिन जाआैँ भन्नुभयाे र मैले हुन्छ भनेँ । त्यतिबेला रातको आठ बजिरहेको थियो । अनि हामी मोटरसाइकलमा मासु लिन निस्कियाैँ । बिस्तारै बिस्तारै हामी हिँडेको बाटो साँघुरो र सुनसान हुँदै गयो । तर मैले केही सोचिनँ, मलाई त्यही नै बाटो होला लाग्यो । एक छिनमा दाइले एउटा मसान घाटको छेउँमा मोटरसाइकल रोकेर भने कि, माेटरसाइकलकाे टायरमा के भएकोछ र झरेर हेर्नुपर्छ । त्यसैले म मोटरसाइकलबाट झरेँ । म झर्नेबित्तिकै दादाले जाेडले मोटरसाइकल कुदाए । मैले केही सोच्न पनि पाइनँ । एकछिनको लागि मलाई के गरूँ गरूँ भयो । नजिकमा कतै पनि घर थिएनन्, कतै पनि बत्ति थिएन र त्यो मसान घाटको चारैतिर जङ्गल मात्र थियो । मैले के गर्ने भनेर सोच्न खोजेँ तर मेरो दिमागले नै काम गरेन । मैले नजिकै एउटा ठुलो लट्ठी देखेँ । त्यो हातमा बोकेँ । त्यहाँबाट म जङ्गलतिर लाग्न थालेको थिएँ । तर, कताबाट मेरो दिमागमा आयो कि जङ्गलमा जनावरले मार्न सक्छ त्यसैले म मसान घाटतिरै गएँ । त्यहाँ मलाई धेरै नै डर लागिरहेको थियो । मसान घाटमा चाहिँ एउटा बत्ती बलेजस्ताे थियो । म त्यही बत्तीतिर गएँ । त्यता जाने बेला मैले गल्तीले एउटा कुकुरको पुच्छरमा कुल्चिएँ । तर म यति डराएको थिएँ । जब त्यो कुकुर भुक्यो, मैले मेरो लट्ठीले यति जोडले कुकुरलाई मुखमा हानेँ कि कुकुर त्यहाँबाट भाग्यो ।
सुनसान ठाउँमा मलाई बिचबिचमा लाग्थ्यो कि काेही मेरो पछाडि छ र म हवामा लट्ठी घुमाउँथेँ । यसरी बिस्तारै बिस्तारै मैले त्यहाँको परिवेश बुझ्न थालेँ । मेरो भूतको डर जान लागेको थियो । तर बिचबिचमा केही हल्लेजस्ताे सुन्थेँ अनि त्यो डर फेरि फर्किन्थ्यो । यसरी डराउँदै डराउँदै म घर फर्किएँ । पछि मेरो दादा फर्किएपछि र मैले उसलाई त्यही लट्ठीले हानेँ । उनले माफी मागे । उनले भने कि अब मलाई भूतबाट डर लाग्दैन, अनि मैले महसुस गरे कि यसले मलाई एक प्रकारले मद्दत गर्यो । किनकि मैले भूतकाे सामना गरिसकेँ । मबाट भूत डराइसक्याे ।