Logo

Student Corner

बालबालिका बेचबिखन

Written by: Aryan Chaudhary - 24064, Grade XI

Posted on: 04 April, 2023

नेपाल र नेपालजस्ता विकासाेन्मुख देशमा बालबालिकाहरूकाे बेचबिखन भइरहेको छ । यस्ताे बेचबिखन भनेकाे गैरकानुनी रूपमा बेच्ने र किन्ने काम हो । नेपालमा पनि यसरी बालबालिका बेचबिखनमा  लाग्नेहरू धेरै छन् । बेचबिखन गर्नेहरूले ग्रामीण इलाकामा गएर गरिब र सरल विचार भएका मानिसहरूलाई आफ्ना केटीहरूलाई लाभदायक कामको आश्वासन दिन्छन् र गरिबहरू फन्दामा पर्छन् । 
बालबालिका बेचबिखनका कारण विशेष गरी ग्रामीण क्षेत्रका धेरै महिलाहरू अझै पनि निर्धक्क भएर घरबाट निस्कन सकेका छैनन् । कसैलाई घरायसी कामका लागि बेचेर पनि दुर्व्यवहार र यातना दिइन्छ । कतिपयलाई आफ्नो कामको कुनै पारिश्रमिक नदिई त्यहाँ काम गर्न कारखाना मालिकहरूलाई बेचिन्छ । बेचिएका बालबालिकाहरूलाई भारतलगायत तेस्राे मुलुकमा लैजान्छन् र वेश्यालयका मालिकलाई बेच्छन् । जहाँ उनीहरूलाई वेश्यावृत्तिमा लगाइन्छ । जहाँ उनीहरूले दैनिक धेरै ग्राहकहरूलाई सेवा दिनुपर्छ । 
कतिपय बालिकाहरूलाई घरायसी काममा लगाइन्छ । श्रमशाेषण गरिन्छ । कसैकाे सम्पर्कमा आउन दिइँदैन ।  यसरी बेचिएका केहीकाे शरीरका अङ्गहरू निकालिन्छ र महँगाे मूल्यमा बिक्री गरिन्छ । उनीहरूको जीवन निकै दुःखदायी हुन्छ । उनीहरू कसैकाे सहयाेगमा वा कुनै संस्थाले सहयाेग गरी घर फर्किए भने समाजले उनीहरूलाई हेर्ने दृष्टि नै फरक हुन्छ । उनीहरू घर परिवार वा समाजमा पुनः स्थापित हुन सक्दैनन् ।
बालिका बेचबिखन नेपालको प्रमुख समस्या हो । यसका कारणहरू भनेकाे गरिबी प्रमुख कारण हो । हाम्रो देशमा धेरैजसाे मानिसले रोजगारी नपाएकाले पैसा कमाउन सक्दैनन् र अरूकाे प्रलाेभनमा सजिलै फस्छन् ।  देशका कतिपय ठाउँमा खानेकुरा नहुँदा जनता भोकै बस्न बाध्य छन् । त्यसैले तस्करहरूलाई राम्रो पैसाको प्रलोभनमा बाँड्न सजिलो हुन्छ । यी समस्याहरूको अर्को कारण विशेष गरी महिलाहरू बेचबिखनबारे सचेत छैनन् । उनीहरू कसरी दलालको फन्दामा परेर बेचियो भन्ने पनि थाहा पाउँदैनन् । 
यो समस्याको अर्को कारण खुला सिमाना पनि हो । भारतसँगको नेपालकाे खुला सिमाना भएका कारण तस्करहरूले बालिकालाई सजिलै भारत र भारत हुँदै अर्काे देश लैजान्छन् । देशबाहिर रहेका तस्करलाई पक्रन पनि गाह्रो छ । त्यसैले तस्करहरूले भारतसँगको खुला सिमानाको फाइदा उठाइरहेका छन् । सरकारले तस्करलाई कारबाही गर्न कुनै कडा कदम चाल्दैन, त्यसैले तस्करहरू यस्ताे कार्यमा सक्रिय भइरहन्छन् । त्यसैले याे समस्या समाधान गर्न सरकार, नागरिक र सम्पूर्ण सराेकारवाला निकाय लाग्नुपर्छ । बालबालिका बेचबिखनमा लाग्नेलाई कडाभन्दा कडा कारवाही गर्नुपर्छ ।