Logo

Student Corner

यार्सागुम्बा

Written by: Suyog Karki - 24073, Grade XI

Posted on: 21 March, 2023

 

यार्सागुम्बा भनेको हिमाली भेगमा पाइने ढुसी र झुसिल्किरा एकै ठाउँमा जोडिएर रहेको वनस्पति हो । यसमा ढुसी र झुसिल्किरा परस्परमा आश्रित भएका हुन्छन् । यार्सागुम्बा ६ महिना किरा र ६ महिना वनस्पति भएर रहन्छ । त्यसरी हेर्दा वनस्पति जीवित रहे प्राणी मर्ने र प्राणी जीवित रहे वनस्पति मर्ने हुन्छ । जमिनमा रहेका पुराना यार्सागुम्बाबाट हावामा प्रशस्त बिउहरू फैलिरहन्छन् । यी बिउहरू एक प्रकारका पुतली, झुसिल्किराको शरीरमा टाँसिन्छन् र त्यहीँ उम्रन्छन् । जमिन मुनि प्राणी र जमिनमाथि वनस्पति हुने  हुनाले शेर्पा भाषामा यसलाई ‘यार्चा गुन्बु’ भनिन्छ

 

यार्सागुम्बा नेपालको उच्च हिमाली भागमा पाइने एक लोकप्रिय औषधी हो । नेपालमा सन् २००१ अघि यार्सागुम्बाको फसल काट्ने र बिक्री वितरणमा प्रतिबन्ध लगाइएको थियो । तर अहिले नेपाल सरकारले यार्सागुम्बाको व्यापारलाई अनुमति दिएको छ । यो अमूल्य जडीबुटी खासगरी हिमाली भेगमा बसाेबास गर्ने मानिसहरूसँग हुने र उनीहरूले किनबेच गर्ने गरेको पाइन्छ । नेपालको हिमाली भेगमा पाइने यार्सागुम्वा प्रकृतिको अनुपम उपहार हो । यार्सागुम्बालाई हिमालयन भियाग्रा पनि भनिन्छ, किनभने यसमा थुप्रै औषधीय गुणहरू पाइन्छन् । यो घरेलु उपचारको लागि पनि प्रयोग गरिन्छ । यार्सागुम्बाले थकान, खोकी र दम, कमजोरी, रक्तअल्पता निर्माण गर्न, घुँडा दुख्ने, ट्युमरका बिरामीको प्रतिरक्षा प्रणाली बलियो बनाउन पनि मद्दत गर्छ । वनस्पतिविज्ञहरूका अनुसार नेपालमा पाइने यार्सागुम्बाहरूमध्ये कोर्डिसेप्स सिइनेन्सिस प्रजातिको यार्सागुम्बा बहुमूल्य छ । 

 

नेपालमा यार्सागुम्बा व्यापारिक प्रयोजनका लागि १२ जिल्लाबाट सङ्कलन गरिन्छ । उच्च हिमाली क्षेत्रमा मात्रै उत्पादन हुने भएकाले दार्चुला, डोल्पा, जुम्ला, मुगु, म्याग्दी, मनाङ, गोरखा, रसुवालगायतका जिल्लामा यार्सागुम्बाको सङ्कलन गरिन्छ । नेपालबाट यार्सागुम्बा कोरिया, ताइवान, हङकङ, म्यानमार, थाइल्याण्ड, सिङ्गापुर, जापान, बेलायत, अमेरिकालगायतका देशमा निर्यात गरिन्छ । बझाङ जिल्ला यार्सागुम्बा उत्पादनका लागि उर्वर जिल्लाहरूमध्ये एक हो । यहाँका मानिसहरूले सबैभन्दा बढी आम्दानी यार्सागुम्बाबाट गर्छन् । 

 

यार्सागुम्बामा पाैष्टिक र   औषधीय दुवै गुण हुनाले यसकाे माग विश्व बजारमा अधिक छ । यसबाट प्रशस्त आम्दानीसमेत गर्न सकिन्छ ।  याे निकै बहुमूल्य जडीबुटी हाे । नेपालकाे अर्थतन्त्रमासमेत यसले सकारात्मक प्रभाव पार्नुका साथै मानिसकाे जीवनस्तर उकास्न यसले महत्त्वपूर्ण भीमिका खेल्छ ।