Logo

Student Corner

आमाबाबु र सन्तान

Written by: Prashraya Shrestha - 26014, Grade IX

Posted on: 15 March, 2023

 

हामीलाई संसार देखाउने आमाबुबा नै हुनुहुन्छ । आमाले हामीलाई यो संसारमा देखाउनुहुन्छ भने हामीलाई त्यो जीवनमा कसरी हिँड्ने बुबाले ज्ञान दिनुहुन्छ । तर सन्तान आफूमै असल र सफल भएपछि आमाबुबाले अपेक्षा गर्ने उचित हो ? एउटा किसानले आफ्नो छोरालाई कृषिको ज्ञान दिन्छ भने एउटा राजाले राज्य सञ्चालनकाे अभिभाराको त्यसै गरी मातापिताले नै एउटा समाजमा योगदान गर्न सक्ने व्यक्ति बनाउनुहुन्छ ।  तर के उहाँहरूले बदलामा केही आशा गर्नु जायज हो ? मेरो विचारमा मातापिताको आशा जायज हो ।  उहाँहरूले नै हामीलाई यो सुन्दर संसार देखाउनुभयाे । आफू नखाई नखाई हाम्रो पेट भरे ।  त्यही माया र प्रेम हामीले उहाँहरूको बुढेसकालमा फिर्ता गर्नुपर्छ । उहाँहरूले आफ्नो मन मारेर भए पनि हाम्रो मनलाई पीडामा कहिले पनि पार्नु हुँदैन । आमाबुबा र सन्तानबीच एउटा सानो भए पनि कुनै पनि अवराेध हुनुहुँदैन ।  यदि हाम्रो आमाबुबाले जिन्दगीभर हात समाते भने हामी समाजमा योगदान गर्न असफल हुन्छौँ । हामी स्वतन्त्र हुन सक्दैनौँ अनि केही समयपछि आमाबुबालाई नै हामी एउटा बोझका रूपमा लिन थाल्छाैँ । उहाँहरूकाे सहयाेगले नै हामीलाई समाजमा जिउन सहयाेग पुग्छ ।  त्यसैले हामी हाम्रा आमाबाबुबाट टाढा रहनुपर्छ वा अस्वीकार गर्नुपर्छ भन्ने धारणाबाट मुक्त हुनुपर्छ  ।  यस्ताे विचार एक स्वस्थ र असल सन्तानले साेच्न नै सक्दैन । हामीले उनीहरूलाई समर्थन गर्नुपर्छ जसरी उहाँहरूले हामीलाई याे ठाउँसम्म पुर्‍‍याए । 

 

जब, सन्तान विवाह बन्धनमा बाँधिन्छन् उनीहरू आफ्नो नयाँ परिवार बनाउन यति व्यस्त हुन्छन्  कि, आफ्ना  आमाबुबाबाट नै  टाढा टाढा हुँदै जान्छन् ।  आफ्नै परिवारलाई समय दिने पनि एउटा असल कार्य हो तर आफ्नो आमाबुबालाई उपेक्षा गर्दै जानु भनेकाे एक कृतघ्न व्यवहार हो । तर यो बेला आमाबुबा पनि आफ्नो सन्तानको दृष्टिकोणबाट हेर्न प्रयास गर्नुपर्छ । विवाह गरेपछि एउटा परिवारले आफ्नो सन्तान अर्को परिवारलाई सुम्पिएको हुन्छ र त्याे जिम्मेवारी लिने पनि प्रत्येक सन्तानकाे कर्तव्य हुन जान्छ । त्यसैले आमाबुबाले हाम्रो कर्तव्य पुरा गर्नबाट पनि रोक्नु  हुँदैन । एउटा चरा जिन्दगीभर आफ्नो आमाबुबाको गुँडमै बस्दैन । आफ्नो पङ्ख फिँजाएर  एउटा सुन्दर चराजस्तै आफ्नै जीवन चलाउन जान्छ । त्यो आमाबुबाले स्विकार्नु नै पर्छ ।  


आजभोलि धेरै जस्ता सन्तान विदेशमै रमाएका छन् ।  मेरो धारणामा यो एउटा गलत कुरा होइन । यदि विदेशमै बसेर आफ्नो जीवन सजिलो र सुविधायुक्त हुन्छ भने विदेशमै बसेको राम्रो । तर आफूले वर्षौं लगानी गरेका घर, सम्पति र काम छोडेर आमाबुबा कसरी अर्को देशमा बसोबास गर्न सक्छन् ? एउटा न एउटा त निर्णय गर्न नै पर्छ । अहिलेको निर्णयपछिको पुस्तालाई पनि असर गर्छ । त्यही भएर यो निर्णय सोचेर लिनुपर्छ । यी सबैको लेखाजोखा गर्दा राम्राे हुन्छ । ती सन्तानले आफू अनुकूलकाे कार्य पूरा गर्नका लागि त्यसमा प्रयासरत हुनुपर्छ । तर यदि प्रयास गरेर पनि पूरा हुन सफल भएन भने आमाबाबुले त्यसमा दुःखी हुनुहुँदैन । यो संसारमा कुनै परिवार पूर्ण नहाेला तर एउटा परिवारको बन्धनले मान्छे पूर्ण हुन्छ ।  आमाबुबाका बलिदानका लागि सन्तान कृतज्ञ हुनुपर्छ । निष्कर्षमा, हामीलाई यो संसार देखाउने आमाबुबाको सेवा गर्नुपर्छ तर आमाबुबाले पनि आफ्ना सन्तानकाे दृष्टिकोणबाट सन्तानका निर्णय पनि स्विकार्नुपर्छ । त्यसैले हामीले आमाबुबालाई खुसी पार्न प्रयास गर्नुपर्छ र आदर र सम्मानले नै एउटा असल परिवार बनाउँछ ।