Logo

Student Corner

प्रविधिको सदुपयोग

Written by: Aavash Malla - 26001, Grade IX

Posted on: 13 March, 2023

आजको आधुनिक संसारमा मानिसहरू प्रायः  प्रविधिको माध्यमबाट एक अर्कासँग जोडिएका छन् । हामीले देख्ने सबै कुरा विज्ञान तथा प्रविधिसँग जोडिएर आउँछ । प्रविधि छिटो  र थप सुविधाजनक र प्रयोग गर्न सजिलो छ, हुनसक्छ त्यसैले यो धेरै आवश्यक छ । हामी यसको लतमा परेका छौँ । प्रविधिका फाइदाहरू हाम्रो कल्पनाभन्दा बाहिर छन् । साना साना कुराहरूदेखि ठुला ठुला कुराहरूसम्म प्रविधिको प्रयोग गरिरहेका हुन्छौँ । प्रविधि भनेको हामी मानवले गरेको नयाँ आविष्कार हो, जुन मानव जीवनका हरेक क्रियाकलापसँग सम्बन्ध राख्दछ ।  प्रविधि भनेको हाम्रो घरमा बसेर एक व्यक्तिबाट अर्को व्यक्तिमा सञ्चार गर्ने माध्यम मात्र होइन, त्योभन्दा पनि धेरै कुरा हो । आज हामीले प्रयोग गर्ने लगभग हरेक क्षेत्रहरूमा प्रविधिको प्रयोग गरिन्छ । हामीले आजको संसारमा देख्ने लगभग हरेक कुरामा प्रविधिकाे प्रयोग गरेका छौँ । यदि प्रविधि नभएको भए हामीले अहिले प्रयोग गरिरहेका चिजहरू कहिल्यै हुने थिएन र हामीले कल्पना गरेका चिजहरू पनि कहिल्यै साकार हुने थिएनन् ।  त्यसैले प्रविधि मानवले पत्ता लगाएको सबैभन्दा ठूलो आविष्कार हाे । प्रविधिको मद्दतले हामीले अन्तरिक्षको बारेमा सिकेका छौँ । यदि हामीले आफूलाई र हाम्रो संसारलाई विगतसँग तुलना गर्ने हो भने पुरातन समयमा मानिसहरूलाई अन्तरिक्ष र अन्य ग्रहहरूको बारेमा थाहा थिएन तर प्रविधिको कारण हामीले धेरै नयाँ कुराहरू पत्ता लगाएका छौँ । प्रविधिका पनि दुइटा पक्ष छन् एउटा पक्ष भनेको प्रविधिको राम्रो पक्ष हो जुन हामी मानव जातिको लागि उपयोगी छ र अर्को प्रविधिको नराम्रो पक्ष हो जुन धेरै जस्तो अपराध र खराब चीजहरूमा प्रयोग गरिन्छ । हामीलाई  प्रविधिका दुवै पक्ष थाहा हुनु जरुरी छ । 
प्रविधिका अनेकाैँ फाइदाहरू छन् तर हामी यसलाई सही तरिका प्रयोग गर्न सक्षम छैनौँ । प्रविधिको राम्रो पक्ष हेर्ने हो भने यसमा धेरै कुराहरू पर्छन् । अहिले शिक्षा, स्वास्थ्यलगायत विभिन्न सेवासुविधाहरूमा ठुलो सुधार भएको छ किनभने प्रविधिको प्रयाेगले एक क्लिकमा डाक्टरलाई फाेन गर्न सक्नुहुन्छ वा अनलाइनकाे माध्यबाट आफ्नाे बिरामकाे बारेमा जानकारी गराई विविध  सुझाव, सल्लाह, सेवा र परामर्श लिन सक्छाैँ ।  अनलाइनकाे माध्यमबाट नै विद्यालयदेखि विश्वविद्यालयसम्मका कक्षाहरूमा सहभागी बनी शिक्षा प्राप्त गर्न सक्छाैँ । सबै कुरा प्रविधिगत भएमा र कार्यालयका कामहरू घरबाटै प्रविधिको प्रयोग गरेर गर्ने हो भने समयको व्यवस्थापन बढी हुन्छ । प्रविधिकाे  प्रयोग गर्नको लागि अध्ययन गर्नु पनि धेरै महत्त्वपूर्ण छ र प्रविधिले हामीलाई अझ छिटो अध्ययन गर्न मद्दत गर्न सक्छ र राम्रो तरिकाले आफ्नै कोठाबाट हिँड्दै नयाँ कुराहरू सिक्न सक्छौँ  ।  हामी एक क्लिकमा संसारको अर्को छेउमा बस्ने मानिसहरूसँग जोडिन सक्छौँ र एकै समयमा अन्य काम गर्न सक्छौँ । चाँडै संसार भर्चुअल हुने छ । भविष्यमा धेरै चिजहरू तपाईंको फोनमा हुने छन् । यी प्रविधिका केही फाइदाहरू मात्र थिए । 
प्रविधिको सही प्रयोगले शिक्षा, स्वास्थ्य, व्यापार, उद्योग, प्रशासन जस्ता विभिन्न क्षेत्रमा मद्दत गर्न सक्छ । अब यदि हामी प्रविधिको नराम्रो पक्ष हेर्न चाहन्छौँ भने यो प्रायः अपराध र अन्य चिजहरूको लागि प्रयोग गरिन्छ जुन कानुनसम्मत छैन र यस्ताे अपराधजन्य कार्यले मानिसहरूलाई चोट पुर्‍याउन प्रयोग गरिन्छ । प्रविधिले गर्दा हाम्रो जीवन धेरै सरल भएको छ र अझै दिनदिनै  सरल  हुँदै गएको छ । लगभग १० / १२ वर्षअगाडि प्रविधिका बारेमा यतिविधि जानकारी र प्रविधिले हामीलाई यति धेरै सहज गराउला भन्ने साेचेका पनि थिएनाैँ । आज प्रविधिविना कुनै पनि कार्य गर्न कठिन मात्र हाेइन असम्भव बनेकाे छ । तर त्यसकाे उचित प्रयाेगले मात्र मानव जीवन सफल हुन्छ भन्ने कुरा कहिले पनि बिर्सनु हुँदैन ।