Logo

Student Corner

निर्दयता

Written by: Manaswi Sapkota - 26004, Grade IX

Posted on: 09 March, 2023

संसारमा विभिन्न वन्यजन्तु र घरपालुवा जनावरहरू छन् । यिनीहरूकाे आआफ्नै स्वभाव हुन्छ । घरपालुवा जनावरमध्ये मलाई मनपर्ने जनावर भने कुकुर हाे । मेराे नजिकै थुप्रै सडक कुकुरहरू छन् । मलाई सबै कुकुरहरू प्यारा लाग्छन् । म र मेरा साथीहरूले तीमध्ये एउटा साना साना छाउराछाउरी भएकाे  कुकुरको हेरचाह गर्थ्यौं । हामीले उसलाई भुटली भनेर बोलाउथ्याैँ । त्याे भुटलीका तीन बच्चाहरू थिए । हामीले उसलाई माया गर्थ्याैँ र उसले पनि हामीलाई माया गर्थ्याे । त्याे भुटलीलाई केटाकेटीहरू सधैँ  जिस्क्याउने रहेछन् । एक दिन भुटलीले टाेक्न खाेज्दा ती केटाकेटीसँगै आउने महिलाले ढुङ्गाले हिर्काउँदा भुटलीलाई चाेट पुर्‍याइछन् । यो सुनेर हामी दुबै दुखी भयौँ । कुनै पनि व्यक्तिले त्याे कार्यलाई गलत ठानेनन् बरु उनीहरूले महिलालाई ठिक भने । म र शाशा मिलेर पैसा जम्मा गरेर भुटलीको उपचार गर्याैँ । भोलिपल्ट स्कुलबाट घर फर्कने क्रममा हामीले भुटली र उसका बच्चाहरूलाई स्थानीय पुलिसले लगेको देख्यौँ । हामीले रोक्न खोज्यौँ  तर बालबालिकाको कुरा कसले सुन्ने ?
केही महिनपछि मैले एक घरबारविहीन व्यक्तिलाई देखेँ । मैले उनलाई केही पैसा दिएँ । म स्कुलबाट फर्किदै गर्दा ती घरबारविहीन महिला बसेको ठाउँ वरिपरि मानिसहरूको भीड देखेँ ।  के भएको रहेछ भनेर  हेर्न गएँ । ती महिला रोइरहेकी थिइन् र एक वृद्ध मानिसलाई केही सामान फिर्ताको लागि बिन्ती गरिरहेकी थिइन् । एक वृद्धले महिलाले  पैसा लिएकाे आराेप लगाएछन् । यसरी हाम्राे वरिपरि भीख माग्न नहुँने र यस्ताे व्यक्ति हाम्राे समाजमा बस्न नहुने भनेर उनलाई निकाल्न खाेजिरहेका रहेछन् । वरिपरि जम्मा भएका कसैले पनि एक शब्द पनि बाेलेनन् बरु आफ्नो फोनमा रेकर्ड गर्दै थिए । मलाई ती महिलाको लागि साँच्चै नराम्रो लाग्यो तर मैले केही गर्न सकिनँ । अन्ततः बुढाले पैसा फिर्ता गरे र सबै गए । ती महिला भुइँमा एक्लै बसिन्।

 

आज म २० वर्षको भएँ । मैले मेरो देश नेपाल छोडेँ । म विदेशमा बस्छु जहाँ म कसैलाई चिन्दिनँ । म एक्लो छु तर म कसैलाई भन्न सक्दिनँ किनभने मेरा आमाबाबु निराश हुनेछन्, मेरो बाहिनी पनि दुखित हुन्छे। मसँग कोही नजिक छैन । यहाँ सबै अपरिचित छन् । म बिहानै उठ्छु, ब्रुस गर्छु र कक्षामा जान्छु । मसँग खाना खाने कोही छैन । कसैसँग गफ गर्न पनि सक्दिनँ । मैले एउटा रेस्टुरेन्टमा काम पाएँ र ग्राहकहरू सामान्यतया धेरै अशिष्ट हुन्छन् । तिनीहरूले मलाई नराम्राे नजरले हेर्छन् । उनीहरूले मलाई आफूभन्दा तल्लो दर्जाको व्यक्ति जस्तै व्यवहार गर्छन् । मलाई यहाँ काम गर्न मन लाग्दैन तर पैसा सबैलाई चाहिन्छ। 
पढाइ सकेपछि म त्यो देश छोडेर नेपाल फर्किएँ । मैले घरमा महसुस गरेँ । म बाटोमा हिँड्दै थिएँ र एक अन्धो मानिसले आफ्नो शल्यक्रियाको लागि पैसा मागिरहेको देखेँ । मैले टोकरीमा पैसा राख्दै थिएँ जब एउटी महिलाले मलाई रोकिन् र भनिन्न त्यो मानिस एउटा ठग हो । यो स्पष्ट थियो कि उसलाई मद्दत चाहिन्छ तर उनले उसलाई ठग भनेर सोचिन् । मैले कहिल्यै बुझेन कि उनले किन यसो भनिन् किनभने त्यो मान्छे मेरो नजरमा मद्दत चाहिएको एक व्यक्ति थियाे । 
मानव जातिमा यस्तै दुर्व्यवहारका धेरै घटनाहरू मैले देखेको छु । मैले बुझेँ कि मानिसहरू सफा, धनी देखिनेहरूप्रति मात्र दयालु हुन्छन् । वास्तवमा मद्दत चाहिने मानिसहरूलाई दयालु व्यवहार गर्दैन बरु उनीहरूलाई घृणा र निर्दयताको नजरले हेर्छन्। उनीहरूलाई मानिस नभई जनावर जस्तै मानिन्छ । हामी मानिसको हैसियतमा अरूप्रति दयालु  हुनु आवश्यक छ ।  हामी एक अर्कामा बाँचिरहेका छौंँ  र हामीले एक अर्कालाई सहयोग गरे मात्र समाजमा अगाडि बढ्न सक्छौँ । हामी कुनै तानाशाह होइन जसले आफ्नो बाहेक कसैको वास्ता गर्दैन । हामी मानिसको हैसियतले अरूकाे लागि पनि  राम्रो बन्न सक्षम छाैँ र हुनुपर्छ । हामीले राम्रो हुन सम्पत्ति नै  तिर्नु पर्दैन, केवल हृदय राम्रो हुन आवश्यक छ । यसरी अरूप्रति गर्ने यस्ता निर्दयी विचार र व्यवहारहरूलाई राेक्दै सभ्य र सुसंस्कृत बन्न अति नै आवश्यक छ ।