Written by: Yojana Gautam - 23068, Grade XII
Posted on: 03 March, 2023
मैले भाेगे र थाह पाएअनुसार कक्षा १२ माआइपुग्दासम्म खुसी भनेको एक छनौट हो, नतिजा होइन । यदि तपाईंहरूले पनि खुसी हुने कुरा छनौट नगरेसम्म कुनै पनि कुराले खुसी बनाउँदैन । तपाईंहरूले खुसी हुने निर्णय नगरेसम्म कुनै पनि व्यक्तिले तपाईंहरूलाई खुसी बनाउन सक्दैन । खुसी आफैँबाट र आफैँभित्रबाट मात्र आउन सक्छ । यो मैले आफूले बुझेको कुरा हो । खुसीको जिम्मा आफैले नै खोज्नुपर्ने रहेछ । यति हुँदाहुँदै पनि मेरो मनमा रहेका प्रश्न आखिर मैले अरूको खुसीको लागि सोच्ने कि नसोच्ने त ? यसको उत्तर मसँगै भए पनि म अन्योलमा छु ।
यदि मैले गरेर वा मेरो कारणले कोही खुसी हुन्छ भने मैले त्यो खुसी उसलाई किन नदिने त ? फेरि अर्को मनले भन्छ । आखिर अर्काको लागि सोचेर के नै फाइदा छ र ? खुसी भन्ने चिज अरूले भने जस्तो पैसामा टिक्दैन । यदि भौतिक रूपले कोही खुसी छ भने त्यसलाई नै हामी खुसी ब्यक्ति सम्झिन्छौँ जुन चाहिँ एकदम गलत हो । खुसीको आधार भौतिक चिज हुँदैन भन्ने उदाहरण म मेरै बाबाको दिन्छु । मेरो बाबा जो पैसा कमाउन जानुहुन्छ, बेलुका थकित भएर आएको बेला एक शब्द मिठो बोलिदियो भने त्यो थकित अनुहारमा छुट्टै चमक हुन्छ । खुसी हुनका लागि केवल पैसा भएर मात्र हुँदैन वा भनौँ पैसाले मात्र मानिसलाई खुसी बनाउन सक्दैन ।
आफूलाई अरूसँग दाँज्ने मन र अत्यधिक लोभले सबैमा निराशा ल्याउँछ । कसैले भनेका छन् कि, “खुसी चाहिँ मैदानमा भएका फूलहरूलाई हेर्नु हो । तर मानिसहरू त्यो फूल टिपेर हातमा लिनु नै खुसी हो भनेर सोच्ने गर्छन् । यसैकारण उनीहरूले त्यो खुसी हातमा लिनासाथ त्यो ओइलाउन थाल्छ ।” यदि यहाँहरूले अहिले खुसी महसुस गर्नुभएको छैन भने कतै मैदानमा भएका फूलहरूलाई टिप्न पो खोज्दैछु कि भनेर आफैलाई फर्केर हेर्नुहोस् । खुसी हुनका लागि कसैसँग निर्भर हुनु हुँदैन । मलाई जहाँसम्म लाग्छ जब मानिस खुसीको लागि अरूसँग निर्भर हुन थाल्छ तब उसले आफूसँग भएको खुसी पनि गुमाउने गर्दछ ।