Logo

Student Corner

के म चोर नै थिएँ ?

Written by: Arunesh Manandhar - 23011, Grade XII

Posted on: 15 February, 2023

"कस्तो चोर काम गरेको" ? " किन चोर्ने काम गरेको  ", "चोर नै हो यो त। "। यस्ता सम्बोधनहरू मैले धेरै सुनेँ । के म साँचाेमा चोर थिएँ ? म चोर काम गर्थें ? प्रश्नहरू उचित छन् । मेरो जवाफ भने “हो, म चोर थिएँ ।” मेरा कामहरू चोर जस्तै हुन्थे । कुराहरू लुकीलुकी गर्ने, कसैलाई थाहै नदिई गर्ने । यसको कारण के थियो ?

बच्चाको साधारण स्वभाव चकचक गर्न मन लाग्ने, धेरै खान र खेल्न मन लाग्ने ।  म पनि त्यस्तै थिएँ । चकचके स्वभावको म धेरै कुराहरू गर्न मन लाग्ने । कहिले के खान मन लाग्ने भने कहिले के खेल्न मन लाग्ने । गर्न मन लागेर के भयो ? बच्चै थिएँ म, केही घटना होला कि भन्ने डर । डर मलाई त हैन, मेरा अभिवकहरूलाई थियो । हुनत त्यो कुन अभिभावकलाई नहोला र ? मेरो चिन्ता गर्नु उहाँहरूका लागि जायज नै थियो । त्यही चिन्ताको कारण, मलाई कति कुराहरूमा बन्दी लगाइन्थ्यो । यो नगर, त्यो नगर, वाक्कै लाग्ने । भनिन्छ नि, इच्छा भयो भने बाटो पनि देखिन्छ । तर प्रश्न आउँछ, कस्तो बाटो ? सिधा बाटो हिँड्नबाट त म बन्दित नै थिएँ । रोज्नुपर्थ्यो मैले उल्टो बाटो । लुकेर चोर पाइलाले बाहिर खेल्न जाने, कसैलाई नभनी चुपाचुप खानेकुरा खाइदिने आदि । यस्ता कामहरू त दिनकै हुन्थे । बिस्तारै मेरो बानी बस्दै गयो । चोर काम मबाट जहिले हुन्थ्यो । सबैले गाली गर्थे मलाई । म बिचरा भएर सुन्थेँ । कुटाइ पनि खान्थेँ । तर जति गाली पिटाइ खाए पनि म रोकिइनँ । चोर बुद्धि मेरो अझै बढ्दै गयो । उल्टो बाटो हिँड्न पनि रमाइलो लाग्थ्यो। सबैलाई छल गर्दा, कस्तो गर्व महसुस हुन्थ्यो । मानौँ, जेम्स बोन्ड नै जस्तो ।

चोर काम गर्नेमा गल्ती मेरो त थियो नै, तर आधा गल्ती भने मेरा अभिभावकको थियो । कसरी ? म भन्छु । पानीकाे बगिरहेको धारलाई हातले छोप्यो भने पानी केही हदसम्म रोकिन त रोकिन्छ, तर जब हात छोडिन्छ, पानी अझै तीव्र गतिले बग्छ । हो, मलाई नि त्यस्तै हुन्थ्यो । मेरी मम्मीले मलाई केही काम गर्नबाट रोक्दा उहाँको अगाडि त रोकिन्थेँ, तर पछि लुकेर त्यो काम गर्थेँ । सानो सानो कुरा गर्न नि मलाई अनुमति दिइँदैनथ्याे । अनि मलाई असाध्यै रिस उठ्थ्याे ।  त्यही रिसमा बेठिक काम गर्न मन लाग्थ्यो ।
एउटा घटना म कहिले बिर्सन सक्दिनँ । म पहिले साइकलमा कतै जान्छुभन्दा मम्मी मान्नु हुँदैनथ्यो । तर जब एक दिन मेरो दाइ साइकलमा मेरो घर आउनुभयो, मम्मीले भन्नुभयो कि, "हेर, तिम्रो दाइ त साइकलमा आउन सक्छ यतासम्म । तिमी …..?
कहिले त्यस्तो हुने होला । अनि मलाई झनक्कै रिस उठ्यो । यो कथा मेरो मात्र हाेइन, धेरै बच्चाहरूको हो । झन् आजकालका बच्चाहरू अत्यधिक । आजकाल अभिभावकहरू आफ्ना बच्चालाई केही गर्न दिँदैनन् । सानो चोट बचाउन उनीहरूको सिकाइ नै रोकिदिन्छन् । मेरो विचारमा अलि चाहिनेभन्दा धेरै नै वास्ता गर्छन् । कति कामहरू गर्न रोक्नु त पर्छ, तर कुनै गर्न नि दिनुपर्छ । हिँड्न सिकाएर मात्र हुँदैन । लडेपछि कसरी उठ्ने कुरा पनि सिकाउनुपर्छ ।

अहिले त म ठुलो भइसकेँ । चोरकाम गर्दिनँ । तर, अझै पनि पहिलेका कुराहरू सोच्दा दुःख लाग्छ । सोच्छु, यदि त्यो दिन मलाई खेल्न जान दिनुभएको भए म चोरजस्तै भागेर खेल्न जादिनथेँ । एउटा चक्लेट किनिदिएको भए म पर्सबाट पैसा झिक्दिनथेँ । बन्धन नलगाएको भए चोर बुद्धि मेरो बढ्दैनथ्यो होला । मेरो केही गल्ती थिएन भनेर म भन्दिनँ तर, म आफैँले गर्दा म चोर भएको पनि भन्दिनँ । म चोर भएँ, त बाध्यताले । अब तपाईं आफै भन्नुहाेस् मलाई चोर भन्न मिल्ला त ?  के म चोर थिएँ ?