Written by: Pranjal Khatiwoda - 23030, Grade XII
Posted on: 09 February, 2023
सरस्वती पूजाको दिनमा देशभरिका बालबालिकाको लागि ठुलो चाड जस्तै रमाइलो हुन्छ । वि.सं. २०७९ माघ १२ गते पनि त्यस्तै एउटा रमाइलो दिन थियो, तर एक परिवारको लागि त्यो दिन जस्तो दर्दनाक केही रहेन होला।
प्रत्येक दिन बिहानै सरस्वती पूजाको दिनमा म गणेशस्थान मन्दिरमा गई सरस्वतीलाई ढाेग्थे तर कलेज जान ढिला भएको र भिड पनि धेरै भएका कारणल त्यो दिन बिहान ढोग्न सकिएन । घर फर्किने बेला गर्छु भनी म कलेजतिर लागेँ । कलेज सिद्दिने बित्तिकै म सिधै हिँडेर गणेशस्थान पुगे ।
भिड अझै पनि थियो । कुर्दै गर्दा मैले दुई जना सानो बच्चाहरूलाई मान्छेले पूजा गरेको हेरिरहेको देखेँ। दुवै बच्चाहरूको हालत एकदमै खराब थियो, जाडो महिनामा विना चप्पल र एउटा मात्रै लुगाले कसैको पनि शरीर ढाक्न सक्दैन, अझ त्यो पनि फाटेको लुगा । तर पनि मानिसहरूले पूजा गरेको देखेर उनीहरूको आँखामा एउटा अनौठो न्यानोपन देखिन्थ्यो ।
मसँगै लाइनमा एक महिला र उनको सानो छोरा पनि थिए । कुरा सुन्दै गर्दा ती आमाले आफ्नो छोरालाई आज उसले के के गर्यो सोध्दै थिइन् । छोरा पनि खुसी भएर आफ्नी आमालाई सबै कुरा बताउँदै थियो । ती महिला शिक्षक रहिछिन् । त्यसैबेला ती दुई बच्चामध्ये एक जना कुदेर हामीतिर आयो र त्यो महिलाको हातबाट झोला खोसेर गणेशस्थानको गेट बाहिर भाग्यो। महिला "चोर , चोर" भनेर कराउँदै त्यो बच्चाको पछि लागिन् । म पनि ती महिलासँगै बाहिरै कुद्दै गेट बाहिर निक्लेँ । झोला चोरेर भागेको त्यो बच्चाले सडक क्रस गर्दा एउटा बसले ठक्कर हानेर उसको त्यही मृत्यु भयो । तर त्यो चोरेको झोला उसको वरिपरि कहीँ थिएन । महिलाले सडक नजिकै त्यो झोला पाइन् , अरू मान्छेले के हराएको भनेर सोध्दा केही हराएको छैन भनिन् । त्यो मरेको बच्चाको नजिकै सरस्वती पूजामा बाँडिने बुनिया छरिएको थियो । त्यो अर्को बच्चा जसरी गणेशस्थानमा टोलाई पूजा हेरिरहेको थियो, बाहिर निक्लेपछि मरेको बच्चाको शरीर हेरेर टोलाई नै रह्यो। अरू नजिकै भिक माग्न बसेकाहरूले त्यो छरिएको बुनिया टिपेर लैजान थाले।