Logo

Student Corner

वातावरण दिगोपन

Written by: Grishma Upreti - 23052, Grade XII

Posted on: 07 February, 2023

जसरी हामी विकासको निकास खोज्दै सगरमाथाको शिखरमा पुग्नका लागि सुरुवात फेदबाट गर्छाैँ त्यसरी नै कुनै पनि राष्ट्रको विकासको लागि चाहिने फेद भनेकै वातावारणीय दिगोपन हो ।  ब्रह्माण्डको उत्पत्तिसँगै आजको २१ औँ शताब्दीसम्म आएका हामी मनिसले नै वातावरणको दिगोपनका लागि महत्त्वपूर्ण भूमिका खेलेका हुन्छाैँ  ।
अहिले वातावरण प्रदूषण विश्वव्यापी समस्याको रूपमा बढिरहेको छ । वातावरण विनाशको फलस्वरूप आजको २१औँ शताब्दीमा एक दशकदेखि प्रत्यक्ष रूपमै  असरहरू  देखिएका छन् । जसमा जलवायु परिवर्तन, हिमगलन, समुद्री सतहमा वृद्धि, अतिवृष्टि, हरित ग्यास उत्सर्जनमा वृद्धि, अनावृष्टि, सुख्खा खडेरी । यो  सबैको कारण अन्य केही नभएर मानवीय गतिविधि हो । यस्तो अवस्थामासमेत मौन देखिएका हामी कति निर्लज्ज रूपमा समस्यालाई निर्मूल गर्नतिर लाग्नुको साटो अझ समस्या बढाउने पक्षमा उभिएका छौँ भन्ने देख्न र महसुस गर्न सकिन्छ ।

हालैको जनगणना २०७८ ले १४ लाख ७१ हजार ८ सय ६७ जनसङ्ख्या रहेको जनाएको काठमाडौँ जिल्लामा मात्रै दैनिक  १ हजार ४५ मेट्रिक टन फोहोरको उत्पादन हुने गर्दछ । भविष्यमा हुने भनिएको सिसडोल ल्यान्डफिल साइटबाट बञ्चरेसम्म भिभिन्न  कठिनाइहरूमा आजका हामी जल्दाबल्दा युवावर्गले नै फोहर व्वस्थापनका लागि  घरैबाट सानो सहयोग र कर्तव्यको  निर्वाह गरिदिने हो भने  नयाँ नेपाल पुनःनिर्माणमा ठुलो सहयोग पुग्छ ।

अहिले हामी नीति नियमलाई सङ्ग्राहलयमा कैद गरेर वातावरण दुरूपयोगको बर्को ओडेर महान र विकसित भन्ने अभियानमा लागेका छौँ । कसैले कागले कान लग्यो भनी सुनेकै भरमा कान नछामी कागका पछाडि पछाडि दौडन्छन् । विकास गर्नु नराम्रो कुरा होइन तर प्रकृतिलाई नष्ट गर्नु नराम्रो कुरा हो । यदि वातावरणको अस्तित्व नभएको भए हामी पनि अस्तित्वमा हुने थिएनौँ । हाम्रो विकासको कारण वातावरण नै हो । यदि हामीले हाम्रो वातावरणलाई हानी पुर्यायाैँ भने अब आउने पुस्तालाई धेरै अप्ठ्याराे हुन्छ । त्यसकारण हामीले हाम्रो वातावरणलाई पुर्खाको नासो सम्झेर रक्षा गर्नुपदर्छ । आजका हामीले मैले नगरे कसले गर्ने आज नगरे कहिले गर्ने भन्ने भावना आफूमा आत्मसात गरेर घर, समाज र राष्ट्रमा वातावरणीय दिगोपनका लागि सहयोग गर्नुपर्दछ ।

वेदमा पनि  भनिएको छ, वायुमा जीवनदायी शक्ति छ । त्यसैले,  नदीनाला आदिमा फोहोर नफाल्ने, र फोहोर भए सफा गर्ने, प्लास्टिकको प्रयोग घटाउँदै यसलाई त्यागिदिने,जनचेतनामूलक कार्यक्रमहरू  गर्ने , कलकारखाना सुरक्षित तरिकाले निश्चित स्थानमा मात्र खोल्ने, रुख बिरुवा बर्सेनी रोप्ने, जस्ता काम गर्यो भने  केही हदसम्म भए पनि वातावरण प्रदूषण कम हुन्छ । फोहोरमैला व्यवस्थापनमा नागरिकको कर्तव्य रहेकोले आफनो घरघरबाट उत्पादन हुने फोहरलाई नियन्त्रण तथा व्यवस्थापन गर्न सकिन्छ । आगामी दिनमा नागरिक सचेतनामार्फत् स्वच्छ वातावरणका लागि आवश्यक  नीति निर्माण गर्न र कार्यान्वयनमा ल्याउन आवश्यक छ । 
पृथ्वीबाहिर जीवन खोज्ने होइन, यहाँ भएको जीवन बचाउन सके मात्र बल्ल सबैको भलाइ हुनेछ । प्रकृतिसँग खेल्ने होइन, प्रकृतिलाई सुसज्जित गर्दै दिगोपना खोज्नु आजको आवश्यकता हो । विश्व वातावरण दिवस मनाइरहँदा नारामा मात्र नभई व्यवहारमा सबै उतार्न सक्ने हो भने अवश्य पनि फेरि हामी सबैले पृथ्वीको नवीन सूर्योदय महसुस गर्न सक्नेछौँ । जनमानसमा यो अवस्थाको गाम्भीर्य बुझाउँदै चेतना छर्न सके पृथ्वीको सकिन लागेको आयुले पक्कै सञ्जीवनी बुटी पाउने छ । अन्त्यमा जसरी बगेर खेर गइरहेको नदीमा बाध बढेर ऊर्जा निस्कन्छ त्यसैगरी खेर गइरहेको यो वातावरणलाई नीतिनियम ल्याएर आजका हामी युवावर्गले वातावारणीय दिगोपनालाई प्रोत्साहन गर्नुपर्छ ।