Logo

Student Corner

आज सम्मको यात्रा र भविष्यको योजना !

Written by: Sunabi Pokharel - 25018, Grade X

Posted on: 07 February, 2023

मलाई सानो उमेरको कुरा त्यति हेक्का छैन । घरका बुबाआमाले भनेअनुसार म पहिले युनिक नेपाल एकेडेमी नामको विद्यालयमा प्ले ग्रुपमा भर्ना गरिएकाे हाे रे । युनिक नेपाल एकेडमी (लोकन्थली, भक्तपुर) सँगको मेरो यात्रा त्यति लामो रहेन । मैले करिब ६ महिना त्यहाँ बिताएर बबरमहलस्थित हाउस अफ मन्टेश्वरी वल्ड्र स्कुलमा अध्ययनको लागि भर्ना गरियाे रे । त्यो समयमा म भर्खर ३ बर्षकी भएकाले उत्तिसारो धेरै सम्झना त छैन तर वार्षिक रूपमा स्कुलले आयोजना गर्ने अभिभावक दिवसको कतिपय भिडियो र फोटो अझसम्म सुरक्षित रहेको हुँदा त्यस अवधिका केही सम्झना आफूसँग रहिरहेको छ । जे जति समय र क्षणहरू सम्झन्छु त्यसलाई आफ्नो जीवनकाे रमाइला र सुन्दर क्षणको रूपमा सम्झिरहेकी छु । त्यो स्कुल साँच्चिकै राम्रो थियो । शिक्षकशिक्षिकाहरू अत्यन्त मिहिनेति र राम्रो हेरविचार गर्ने खालको हुनुहुन्थ्यो । मेरो बुबाआमाले भनेअनुसार मेरो जीवनको राम्रो आधार निर्माण हुनुमा त्यो स्कुलको ठुलो योगदान छ रे । त्यो स्कुलपश्चात मेरो यात्रा विद्या संस्कार स्कुलतर्फ अघि बढ्यो । उक्त विद्यालयमा विद्यार्थीको सङ्ख्या अत्यन्त धेरै थियो । एक कक्षामै १४० जनाभन्दा बढी विद्यार्थीहरू थियौँ । हामी ६-७ समूहमा विभाजित भएर अध्ययन गर्दथ्यौँ । कक्षा बढोत्तरी हुँदा फरक फरक समूह र फरक फरक साथीहरूसँग हेलमेल गराइन्थ्यो । पढाइको दृष्टिकोणबाट हेर्दा उक्त विद्यालयले विषयवस्तु र किताबी ज्ञानलाई बढी महत्त्व दिने गर्दथ्यो । परीक्षाको बेला पनि विषयवस्तु र कक्षाको पाठ्यसामग्रीबाटै प्रश्नहरू सोधिने गरिन्थ्यो । धेरै विद्यार्थी भएको हुँदा खेलकुद वा अन्य कतिपय विद्यालयले आयोजना गर्ने कार्यक्रममा सबैले भाग लिन पाउने अवस्था थिएन । तसर्थ म आफूले इच्छा भएका कतिपय कार्यक्रममा भाग लिन नपाएका थुप्रै क्षणहरू सम्झँदा कहिलेकाहीँ आफूमा निरासा पनि उत्पन्न हुने गर्दथ्यो । यद्यपि आफ्नो भाग्य भनौँ वा अध्ययनप्रतिको लगावले उक्त विद्यालयमा मैले १ कक्षादेखि ६ कक्षासम्म अध्ययन गर्दा कहिल्यै दोश्रो हुनु परेन । मेरो बुबा अलिक बढी ठट्टा गर्ने स्वभावको हुनुहुन्छ । त्यो बेला मैले दिएका परीक्षाको नतिजा लिन जाँदा जहिल्यै दोश्रो भएको सुन्न मन छ भन्नुहुन्थ्यो तर नतिजा पहिलो नै भएकाे आउँथ्यो । पढाइमा राम्रो नतिजा आउँदाआउँदै पनि मेरो परिवारले मलाई सोही स्कुल छाडेर किताबी ज्ञान बाहेक अन्य क्रियाकलाप पनि गर्न पाउने विद्यालयमा स्थानान्तरण गर्ने उदेश्य राखी विद्यालयको खोजी गर्दा हाम्रा केही आफन्तहरूबाट हाल म अध्ययनरत डियरवाक विद्यालय (जसलाई पछि मात्र सिफल सेकेन्डरी स्कुलबाट नामाकरण गरियो) मा अध्ययन गराउने निर्णय भयो । म कक्षा ७ देखि यही विद्यालयमा अध्ययन गरिरहेकी छु र अहिले  म कक्षा १० मा अध्ययनरत छु । 
यस विद्यालयमा प्रवेश गरेपछि मेरो जीवनको दैनिक दिनचर्या पूरै परिवर्तन भयो । कक्षा ७ मा नयाँ विषयवस्तुको रूपमा संस्कृत र चिनियाँ भाषा पढाइ हुन्थ्यो । आफू फरक विद्यालय र परिवेशबाट आएकी र त्यहाँ रहेका साथीहरू कोही पनि आफूसँग नरहेको अवस्थामा मैले सुरुका क्षणमा आफूलाई अत्यन्त एक्लो महसुस गरेँ । ठूलो विद्यालय, धेरै साथीसँगी र लामो समयसम्मको आफ्नो चिनजानबाट थोरै विद्यार्थी भएको स्कुलमा आउँदा आफूलाई गलत गरेँ कि ठिक गरेँ भन्न नै गाह्रो हुने अवस्था भयो । विद्यालयको पढाउने तौरतरिका पनि फरक थियो । विषयवस्तुभन्दा बढी बाहिरी क्रियाकलापहरूमा जोड दिइन्थ्यो । समाचार वाचन, समाचार लेखन, संस्कृत अध्ययन, कविता, कथा र विभिन्न रचनाहरू लेखनलाई विद्यालयले जोडतोडका साथ अघि बढाउँदा कतिपय अवस्थामा म आत्तिने गर्दथेँ । मैले यो विद्यालयमा आएदेखि सायदै रातको १२ बजेभन्दा अघि सुतेकी छैन । म कक्षा १० मा आइपुग्दा यही स्कुलको वातावारणमा अभ्यस्त भइसकेछु । मिल्ने साथीहरू पनि बनिसकेछन् । जे उद्देश्यले मलाई अघिल्लो पूर्वध्ययनरत विद्यालय छोडाइएको थियो त्यो उद्देश्य हालको विद्यालयबाट प्राप्त भएको आभास म र मेरो परिवारलाई हुन थाल्यो । म सार्वजनिक रूपमा बोल्न डराउँथेँ, लजालु स्वभावकी थिएँ; विभिन्न कार्यक्रममा भाग लिन सक्दिनँ थिएँ; कक्षाका पाठ्यसामग्री बाहेकको ज्ञान धेरै थिएन । यस विद्यालयमा आएको करिब १ बर्षको अवधिमा नै उल्लेखित कमजोरीमा आमूल परिवर्तन भयो । म सार्वजनिक स्थल तथा मञ्चमा उभिएर निर्धक्कका साथ आफ्ना कुरा राख्न सक्न थालेँ; विभिन्न रचनाहरु रच्न थालेँ; विभिन्न कार्यक्रममा भाग लिन थालेँ; थुप्रैपटक समाचार वाचन गर्न थालेँ । विषयवस्तुबाहेक बाहिरी ज्ञानहरूले आफूमा किताबी र व्यवहारिक दुवै ज्ञान प्राप्त भयो । यसर्थमा विश्लेषण गर्दा मेरो परिवार र म समग्र रूपमा सन्तुष्ट नै भएका छौँ । यो विद्यालयमा आएपछि म आफूलाई सधैँ केही न केही कुरामा व्यस्त पाइरहेकी छु । यसलाई म नकारात्मक भनौँ भने सायद यिनै कारण मेरो जीवनले सकारात्मक पाइला लिन्छ कि जस्तो लाग्न थालेको छ । हेनरी डेभिडले भनेजस्तै ‘जीवन व्यस्त हुनु भनेको उसकाे सफलताबाट आर्जित प्रगतिको परिणाम हो ।’ मैले मेरो यो व्यस्ततालाई यही रूपमा ग्रहण गरिरहेकी छु । जे होस् मेरो सिफल स्कुलको व्यस्तताको परिणाम पक्कै पनि पछि आउने नै छ भन्ने लाग्छ । यसर्थमा मैले आफूलाई भाग्यमानी र गौरवान्वित ठानेकी छु ।

यो विद्यालयमा अब भने मेरो थोरै मात्र दिनहरू बाँकी रहेको छ । हाम्रो एस्.ई.ई. को कार्यतालिका प्रकाशित भइसकेको छ । अबको केही महिनापछि मेरो यात्रा अर्को विद्यालयमा हुने छ । दश कक्षापछि अब कहाँ र के पढ्ने भन्नेमा मलगायत हामी धेरै साथीहरूमा अन्योल र छटपटी भइरहेको छ । कक्षा १० पछि ११ र १२ पढ्ने कि ए लेभल पढ्ने भन्नेमा अझै पनि दुविधा रहेको छ । यद्यपि मैले भने कक्षा १० पश्चात ए लेभललाई नै प्राथमिकतामा राखेकी छु । हाल आफूले अध्ययन गरेको विद्यालयको शिक्षणपद्धति र हालसम्म आफ्नो मिहिनेत र परिश्रमसँग ए लेभल नै मिल्दोजुल्दो लागेकाले पनि आफू त्यसप्रति आकर्षित भएकी हुँ । कतिपयले ए लेभल पढेपछि 
नेपालमा काम छैन, यो त विदेशको लागि मात्र ठिक हो भन्ने तर्कवितर्क पनि गरेको सुन्दै छु । यद्यपि कतिपय ए लेभल गरेरै देश तथा विदेशमा आफ्नो सुन्दर भविष्य निर्माण गरेको पनि देखिरहेकोले उल्लेखित तर्कलाई मैले कुतर्कको रूपमा लिइरहेकी छु । आशा छ मेरो सोचाइले भविष्य निर्माणमा योगदान गरोस् । यसका लागि म फेरि उही मिहिनेत गर्न तयार नै छु तर पनि डली पार्टनले भने जस्तो ‘आफ्नो भविष्य बनाउने नाममा आफ्नो जीवन नै बर्बाद हुने गरी व्यस्त हुनु पनि राम्रो होइन’ भन्ने कुरामा म सधैँ सचेत नै हुन्छु ।