Logo

Student Corner

अब के गर्ने त?

Written by: Prasanna Dhungel - 28021, Grade VII

Posted on: 23 January, 2023

“नाइँ, नाइँ म दिन्न”, मैले दाइसँग रिसाउँदै भने । उसले तैपनि मलाई लडाएर मेरा सबै चक्लेट खोस्यो र मलाई “त को होस् र मलाई रोक्ने”, भन्दै कुट्यो । आमाले मलाई टिका लगाएर २० रपैया दिनुभएको थियो र  दाइलाई पनि दिनुभएको थियो  तर उसले आफ्नो पैसा पनि खायो र मेरो पनि खोस्यो । म साह्रै रिसाएँ, मैले उसबाट चकलेट खोस्ने निर्णय गरेँ  तर ऊ मभन्दा २ वर्ष ठुलो थियो । त्यसैले म कही नभनी चुपचाप बसेँ । मेरो नाम राधा हो । म एउटा सानो ४ जनाको परिवारमा बस्छु, म, मेरो दाइ  अर्जुन मेरी आमा र मेरा बुबा । हाम्रो परिवार त्यस्तो धनी पनि छैन र त्यस्ताे गरिब पनि छैन । मेरा बुबा आमा दुवै जना सरकारी जागिर खानुहुन्छ । म र दाइ एउटै विद्यालय जान्छौँ । दाइ ढिलो पनि सुरु गरेकाले ऊ मभन्दा १ कक्षा मात्र ठुलो छ ।  म कक्षा ४ मा पढ्छु र दाइ ५ मा । सुरुमा त हामीसँगै मिलेर बस्थ्यौँ, मिलेर खेल्थ्यौँ  तर बिस्तारै ऊ आफू ठुलो भएको नाताले मलाई हेप्न थाल्यो, उसलाई जे चाहिन्थ्यो, मैले नाइँ भन्दा भन्दै मबाट खोस्थ्यो । मैले एकचोटी अब त अत्ति भयो भनेर बुवालाई भनिदिए । त्यस दिन उसले साह्रै पिटाइ खाएको थियो, ऊ भोलिपल्ट विद्यालय जानै सकेको थिएन ।

मैले त्यस रात बुबालाई दाइले पिटाइ खाएको सम्झेर केही पनि भनिन  तर मैले भनिन भने ऊ फेरि मलाई त्यस्तै गरिरहन्थ्यो । हामीसँगै बसमा स्कूल जान्थ्यौ र बसमै फर्कथ्यौँ । ऊ पहिलाजस्तो मसँग बोल्न र खेल्न पनि छोडिसकेको थियो, ऊ सधैँ मोबाइल मात्र हेरिरहन्थ्यो । त्यसैले म धेरैजसो एक्लै हुन्थेँ । म दाइसँग बोल्न जाँदा पनि “यहाँ न आइज न मलाई डिस्टर्ब हुन्छ”, भन्थ्याे । मैले उसलाई मसँग खेल पनि भन्न सक्दिनथेँ । बसमा ऊ पछाडि आफ्ना साथीहरूसित बस्थ्याे र म अगाडि, एक्लै । मेरा सबै साथीहरू बसबाट आउथिएनन्, त्यसैले म बसमा एक्लै हुन्थेँ । मलाई दाइसँग साह्रै रिस उठ्यो । यसपालि मैले आमालाई भन्ने निर्णय गरेँ । भोलि शनिबारका कारण स्कुल छुट्टी थियो बुबा केही कामले घर बाहिर जानुभएको थियो । मैले मौका निकालेर आमालाई दाइले मप्रति देखाउने व्यवहारबारे भनेँ । आमाले,”ए तेस्तो पो गर्छ ? बुबालाई  आउन दे, तेस्लाई पिटाई नपुगेको” भन्नुभयो । मैले सानो स्वरमा आमालाई “नाइँ, नाइँ बुबालाई नभन्नु बुबाले दाइलाई साह्रै पिट्नुहुन्छ, हजुर एकचोटी सम्झाइदिनु हुन्छ कि भनेर हजुरलाई भन्न आएकी”, भनेँ । आमाले कुरा बुझ्नुभयो । आमाले दाइलाई कोठामा कुरा गर्न लैजानुभयो । बाहिर निस्कँदा, दाइ साह्रै रिसाए झैँ मलाई तेर्सो आखाले हेरेर गयो । बोल्न जाँदा पनि केही नभनी हिड्यो ।  मलाई झन् डरलाग्न थाल्याे “अब क गर्ने त?”